विद्युत् आपूर्ति समस्या तत्काल समाधान गर्न आग्रह

Read Time = 8 mins

काठमाडौंं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्रमा चर्को लोडसेडिङले पछिल्ला दिनमा उद्योगहरू गम्भीर संकटमा पर्न थालेको भन्दै विद्युत् आपूर्ति समस्या तत्काल समाधान गर्न आग्रह गरेको छ । मुलुकका प्रमुख औद्योगिक करिडोरका सयौं उद्योगहरू दैनिक बिना कुनै पूर्वसूचना १२ देखि १६ घण्टासम्मको चर्को लोडसेडिङले थला पर्ने अवस्थामा पुुगेकाले उद्योगमा ठूलो आर्थिक नोक्सानी, उत्पादकत्वमा प्रतिकूल असर पर्नुका साथै मुलुुकको अर्थतन्त्रमै गम्भीर संकट आउन सक्ने भन्दै चिन्ता प्रकट गरेको छ ।

महासंघले चर्को लोडसेडिङले अब उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएकोतर्फ ध्यानाकर्षण गराउंदै अबिलम्ब समस्या समाधानमा सहयोग गर्न आग्रहसहित सयौं उद्योगबाट महासंघमा अनुरोधपत्र आएको जनाएको छ । लामो समय विद्युत् कटौती, ट्रिप्लिङ, लो भोल्टेजलगायत समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, अपर्झट विद्युत् आपूर्ति बन्द हुँदा करोडौँका मेसिनमा क्षति पुुग्ने, उद्योग सञ्चालन नहु“दा कामदार कर्मचारीको तलब ज्याला, उत्पादन कटौती हुँदा सामान डेलिभरी, उत्पादनका क्रममा रहेको कच्चापदार्थ खेर जाने, बैंकको चर्को व्याज र साँवा भुक्तानीलगायतमा गम्भीर समस्या पर्न गएको भन्दै महासंघले सरकार र नेपाल विद्युत् प्राधिकरणको गम्भीर ध्यानाकर्षण गराएको छ ।

प्राधिकरणले जुनसुकै मूल्यमा पनि विद्युत् खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने भनी विगतमा पटक–पटक गरेको प्रतिबद्धताको प्रसंग उल्लेख गर्दै विद्यमान अवस्थाले मुुलुुकको औद्योगीकरणको यात्रामै गम्भीर धक्का दिने भन्दै महासंघले चिन्ता प्रकट गरेको छ । एकातर्फ प्राधिकरणले नै विद्युत् खपत बढाउन आग्रह गर्ने र अर्कोतर्फ बिनासूचना घण्टौं विद्युत् आपूर्ति अवरुद्ध पार्नुले थप चिन्तित बनाएको महासंघद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उत्पादन लागत निरन्तर बढिरहेको अहिलेको अवस्थामा पुनः चर्को लोडसेडिङ समस्याले मुलुकको निर्यातमा गम्भीर धक्का लाग्ने र समग्रमा मुलुकको शोधनान्तर घाटालाई थप फराकिलो बनाउने महासंघले जनाएको छ । विद्युत्को नियमित आपूर्ति हुन नसक्ने हो भने आर्थिक वृद्धिको प्रक्षेपणमा धक्का लाग्ने, उद्योगहरूको प्रतिस्पर्धी क्षमता गुुम्न गई समग्रमा निर्यात नै प्रभावित हुने बताइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘विद्युत् ऊर्जाको विकल्पमा जेनेरेटर प्लान्टबाट उद्योग सञ्चालन गर्दा उच्च लागत पर्ने र अहिले इन्धनको बढ्दो लागतका कारण त्यो असम्भवप्रायः छ र त्यसरी उत्पादन गरेका वस्तुु आपूर्ति गर्दा बजारमा सिर्जना हुने मूल्यवृद्धिले आमजनजीवन थप कष्टकर हुने हाम्रो विश्लेषण छ ।’

त्यसैले विद्यमान समस्याको तत्काल समाधानका लागि कूटनीतिक माध्यमबाट भारतसँग छलफल गरी नेपाललाई दिँदै आएको विद्युत् नियमित आपूर्ति गर्नेतर्फ अबिलम्ब पहल गर्न, उद्योगहरूमा विद्युत् कटौती हुने तालिका सार्वजनिक गर्न र विद्युत् दिन्छु भनेको समयमा निर्वाध विद्युत् आपूर्तिको सुनिश्चितता दिलाउन पनि महासंघले माग गरेको छ ।

त्यसैगरी निजी क्षेत्रका ऊर्जा उत्पादकसँग थप ऊर्जा उत्पादन गर्न सक्ने क्षमता भएकाले प्राधिकरणले तत्काल छलफल गरी समाधानको उपाय निकाल्नुुपर्ने, विद्युत् खरिद सम्झौता (पिपिए) तत्काल खोल्न र आयातित विद्युत्को गुणस्तरमा ध्यान दिनुुपर्ने भन्दै महासंघले ऊर्जा समस्या समाधान नभएमा जुनसुकै समय उद्योग बन्द गर्नुपर्ने बाध्यता आउनेतर्फ सचेतसमेत गराएको छ ।

रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुधारमा जोड
महासंघका अध्यक्ष शेखर गोल्छा र महासंघको रोजगारदाता परिषद्का सभापति रामचन्द्र संघाईले १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मे दिवसका अवसरमा शुभ-कामना व्यक्त गर्नुभएको छ । अध्यक्ष गोल्छाले कोरोना महामारीको संक्रमणपछि उद्योग व्यवसाय सञ्चालन, काम गर्ने वातावरण, श्रम सम्बन्ध र श्रम बजारमा पनि ठूलो प्रभाव परेको उल्लेख गर्दै कामको पुनः संरचना, सीप विकास, आधुनिक प्रविधिको बढ्दो प्रयोगसँगै श्रम सम्बन्धको व्यवस्थापन गर्नुपर्ने चुनौती थपिएको बताउनुभएको छ ।

कोरोना खोप सुरु भएपछि कोरोना संक्रमणदरमा निकै कमी आएको सन्दर्भमा अर्थतन्त्रले गति लिन लागेको अवस्थामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका घटनाक्रमले मुलुकको अर्थतन्त्र कठिन मोडमा पुगेको र आर्थिक गतिविधि र रोजगारीमा पर्न सक्ने प्रभाव र समस्यातर्फ चिन्ता बढेको बताउनुभएको छ ।

रोजगारदाता र ट्रेड युनियनबीचको संवाद र सहकार्यका माध्यमबाट श्रम सम्बन्ध सुधार र श्रमसम्बन्धी समस्याको समाधानमा जोड दिँदै उहाँले असल औद्योगिक सम्बन्धको विकास गर्दै विद्यमान र आउने परिस्थितिको सामना गर्न थप समझदारी र सहयोगका साथ काम गर्न मे दिवसले सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । त्यसैगरी रोजगारदाता परिषद्का सभापति रामचन्द्र संघाईले पनि रोजगारदाता र श्रमिकबीचको सुमधुर सम्बन्धमा जोड दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?