पोखरा महानगरमा एमालेको घोषणापत्र : भ्रष्टाचार नियन्त्रण, मोनोरेल र मेट्रोरेल

Read Time = 5 mins

पोखरा । नेकपा एमालेले पोखरा महानगरस्तरीय चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणा पत्रमा भ्रष्टाचार नियन्त्रणदेखि मोनोरेल, मेट्रोरेल सञ्चालनसम्मका योजना समेटेको छ । घोषणा पत्रमा फेवातालसहित पोखराका नौवटै तालको संरक्षण, सेती नदी किनारमा पदमार्ग निर्माण लगायतका योजना राखेको छ । चुनावी घोषणा पत्रमा एमालेले विभिन्न ६ वटा संकल्प गरेको छ । जसमा एमालेका जनप्रतिनिधि शासक नभई सेवक हुने उल्लेख छ ।

एमालेका जनप्रतिनिधि सामाजिक जागरण र विकासका अभिन्याता हुने र सुशासनमा नमुना बन्ने उल्लेख गरेका छन् । घोषणा पत्रमा एमालेले आफ्ना जनप्रतिनिधि सदाचारका दृष्टान्त स्थापित गर्ने र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने उल्लेख छ । भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउनेसमेत एमालेले घोषणा पत्रमा उल्लेख गरेको छ ।

घोषणा सार्वजनिक गर्दै एमाले पोखराका मेयर उम्मेदवार कृष्ण थापाले यसपछि आफू चुनाव नलड्ने घोषणा गर्नुभयो । पार्टीको निर्देशनअनुसार चलेको भन्दै उहाँले घोषणा पत्रमा उल्लेखित विषय अक्षरंशः लागू गर्ने प्रतिबद्धता जनाउनुभयो ।

बुटवललाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता
रुपन्देहीको बुटवललाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने प्रमुख योजनासहित एमाले बुटवल उपमहानगरपालिकाले स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । प्रदेश सरकारले समेत संकल्प गरेको आर्थिक राजधानी निर्माण गर्न उद्योग, व्यापारलाई अनुकूल वातावरण बनाउने, शिक्षा, स्वास्थ्य र पर्यटनका अपार सम्भावनालाई उजागर गर्ने लक्ष्यअनुरूपका पूर्वाधार बनाउने योजना एमालेले अघि सारेको हो ।

स्थानीय विस्थापित नहुने गरी मोतीपुर औद्योगिक करिडोर निर्माण गर्ने, तिनाउ दानव करिडोर निर्माणका क्रममा क्षति हुनेलाई सुरक्षित स्थानमा सार्ने योजना छ । यस्तै, स्थानीय उत्पादनलाई लेवलिङ तथा प्याकेजिङ गरी पहिचानमा जोड दिई ब्राण्डिङ गर्ने, साना तथा घरेलु उद्योगको स्थायित्व, विकास र प्रवद्र्धनका लागि सहयोग र समन्वय गर्ने नीति बनाउने बताएको छ ।

बुटवल ऐतिहासिक र पुरातात्विक महत्वलाई उजागर र संरक्षण गर्दै पुरानो बटौलीलाई परम्परागत बजारको रूपमा स्थापित गर्ने दोस्रो प्रतिबद्धता छ । अंग्रेजलाई परास्त गरेको जितगढी किल्ला र मणिमुकुन्दसेनको शितकालीन दरबारसम्मको विकास, संरक्षण र सम्बद्र्धनका योजना त्यसमा छन् । तीव्र भइरहेको बसाइँसराइसँगै हुने जनघनत्वलाई आवश्यक आधारभूत पक्षको विकासमा योजनाबद्ध काम गर्ने नीति बनाउने प्रतिबद्धता पनि एमाले बुटवल उपमहानगरको तेस्रो योजना छ ।

बुटवललाई विकासको मानक बनाउने एमालेको चौथो प्रतिबद्धता छ । पूर्वाधार विकास तथा मर्मत सम्भारका लागि पूर्वाधार विकास तथा व्यवस्थापन बोर्ड गठन गरिने, बुटवलका मुख्य सडक र राजमार्गहरूलाई हरियाली, सफा र उज्यालो बनाउने, बुटवलदेखि एयरपोर्ट हुँदै लुम्बिनीसम्मको पर्यटकीय पर्यावरणमैत्री यातायात सेवा सञ्चालन गर्ने योजना छ ।

प्रतिबद्धता पत्रमा सुकुम्बासी, अव्यवस्थित बसोबास व्यवस्था गर्नेका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वयमा काम गरिने उल्लेख छ । एमालेका तर्फबाट बुटवलमा प्रमुखमा बाबुराम भट्टराई र उपप्रमुखमा सावित्रीदेवी अर्याल उम्मेदवार बन्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?