कान्छो गाउँपालिका अध्यक्षका उम्मेदवार नइन्द्र राई

Read Time = 3 mins

चिसाङ शेर्पा/हिटा
खोटाङ । खोटाङमा सबैभन्दा कान्छो उमेरका नइन्द्र राईले गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । ३१ वर्षीय राईले कांग्रेसबाट दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा अध्यक्षको उम्मेदवारी दर्ता गराउनुभएका राई विसं २०४८ मंसिर १३ गते साबिकको याम्खाको कोटगाउँमा जन्मिनुभएको हो ।

महेन्द्रोदय मावि याम्खाबाट औपचारिक शिक्षा सुरु गरेर त्यहीँबाट प्रवेशिका परीक्षा एसएलसी उत्तीर्ण गर्नुभएका उहाँले दिक्तेल बहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाण पत्र तह उत्तीर्ण गरी महेन्द्र मोरङ क्याम्पसबाट ब्याचलर सक्नुभएको हो । दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययन गर्दैगर्दा कांग्रेस निकट नेविसंघको राजनीतिमा आबद्ध हुनुभएका उहाँले महेन्द्र मोरङ क्याम्पसबाट नेविसंघको औपचारिक निर्णायक राजनीतिको सुरुवात गर्नुभयो । ‘मेरो पारिवारिक पृष्ठभूमि नै कांग्रेस हो । म पनि नेविसंघ हुंँदै कांग्रेसको राजनीतिमा छिरेको हुँ,’ उहाँले भन्नुभयो ।

नेविसंघको औपचारिक राजनीति सुरुवात गरेपछि उहाँ खोटाङ-मोरङ सम्पर्क विद्यार्थी समाजको अध्यक्ष, नेविसंघको केन्द्रीय प्रतिनिधि र महेन्द्र मोरङ क्याम्पसमा स्ववियु सभापतिका लागि अगाडि बढाइएको व्यक्ति हुनुहुन्छ । तर, स्ववियु निर्वाचन भएन । विद्यार्थीको हकहितमा गरिएको विद्यार्थी आन्दोलनमा विराटनगरमा धेरैपटक उहाँ प्रहरी हिरासतमा समेत बस्नुभएको थियो । अन्याय र अत्याचारका विरुद्धमा जोसुकैविरुद्ध, जुनसुकै बेलामा आवाज उठाउँदै यहाँसम्म आइपुगेको उहाँको भनाइ छ ।

सामाजिक क्षेत्रमा क्रियाशील उहाँ युवा समाज याम्खाको उपाध्यक्ष भई समाज परिवर्तनका लागि महत्वपूर्ण काम गरिरहनुभएको छ । ‘मिडियामा आउनुभन्दा काममा फोकस गर्ने स्वभावको मान्छे हुँ,’ राईले भन्नुभयो, ‘अग्रजका आशा, युवाको भरोसा भनेर गाउँघरमा मेरो अत्यन्तै लोकप्रियता छ ।’ पार्टीले मूल्यांकन गरेर गाउँपालिका अध्यक्षको टिकट दिएको छ । राईले भन्नुभयो, ‘अब चुनाव जितेर देखाउनुछ । अहिले चुनावी माहोलमा होमिएको छु ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?