लोकतन्त्र : अन्तर्घात, दलनिष्ठा अनि चुनाव

Read Time = 13 mins
A A- A+

✍️ स्वयम्भुनाथ कार्की
काठमाडौं क्षेत्र नं. १ मा उपचुनाव हुँदै थियो । प्रमुख टक्कर थियो भर्खर आफ्नो पति गुमाएकी विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका सन्तनेता कृष्णप्रसाद भट्टराईबीच । विद्यादेवी भण्डारीका पति नेकपा एमालेका महासचिव मदन भण्डारीले अधिल्लो निर्वाचनमा भट्टराईलाई परास्त गरिसकेका थिए । २०५० को यो उपचुनावमा सहानुभूति पक्षले पनि काम गरेमा सन्तनेताले जित्ने सम्भावना कम थियो ।

त्यसै पनि हारले विचलित हुने नेता थिएनन् भट्टराई । नेपाली कांग्रेसले एकमतले उपचुनावमा उनलाई उम्मेदवार बनाइएको थियो । नेपाली कांग्रेसभित्रको एक घटकका साथै नेपाली समाजको एक वर्गले उपचुनावपछि भट्टराईलाई भावी प्रधानमन्त्रीको रूपमा देख्दै थियो ।

सम्भवतः प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि आफ्नो कुर्सीमा किसुनजीलाई देखे होलान् । त्यसैले निर्वाचनमा जे भयो त्यो खुला रूपमा पहिले कहिल्यै देखिएको थिएन । एमालेलाई निर्वाचनका सहायता गर्न विराटनगरबाट प्रसस्त युवाहरू काठमाडौं क्षेत्र नं.१ मा ओइरिए तर ती एमाले भने थिएनन् । गिरिजा खेमाका ती युवा किसुनजी हराउ अभियानमा लागे तर तिनीहरूलाई रोक्ने प्रयत्न गिरिजाबाट भएन ।

अनि नेपाली राजनीतिमा एक नौलो संस्कृतिको आरम्भ भयो जसलाई नाम दिइयो ‘अन्तर्घात’ । त्यसबेला यसको परिभाषा लागेको थियो कि आफैँले अगाडि बढाएर पछाडिबाट प्रहार गर्नुलाई अन्तर्घात भनिन्छ । प्रकटमा नै किसुनजीको उम्मेदवारी विरोध भएको भए उनी उम्मेदवार हुने थिएनन् ।

यही अन्तर्घातले नेकामा रहेको दुई खेमाको विभाजन रेखा चौडा भयो, अनि १ सय १० संख्या ३६ से र ७४ रे मा विभाजन भयो । यसले नै पाँच वर्षको निमित्त बलियो बहुमत दिएर जनताले सत्ता सुम्पेको कांग्रेस आफ्नो खेमा बलियो बनाउन संसद भंग गरेर मध्यावधि निर्वाचनमा होमियो । यसको परिणाम भयो कि एमालेले मनमोहन अधिकारीको नेतृत्वमा ९ महिना चलेको सरकार बनाउने मौका पायो । यो मौका एमालेको पहिलो पुँजी बन्यो, बहुलवादमा पनि वामपन्थीहरूले प्रजातान्त्रिक सरकार चलाउन सक्ने रहेछन् भन्ने देखायो । भारतका केही प्रान्तमा वामपन्थीले सरकार चलाएको भए पनि त्यो केन्द्रीय सरकार थिएन अनि तिनीहरूमा कुनै न कुनै रूपको केन्द्रीय नियन्त्रण थियो ।

त्यो बाँसमा चढाएर अर्थात् आफैँले अगाडि बढएर तलबाट फेद काट्ने अन्तर्घातको नेपाली राजनीतिमा मात्र होइन सार्क राष्ट्रहरूमा नै असर परेको छ । नेपाली राजनीतिबाट सिद्धान्तलाई व्यक्तिले प्रतिस्थापन गरेको अवस्था त्यसैको परिणाम हो । यो कुराको बेग्लै अनि धेरैवटा चर्चा चलाउन सकिन्छ । अहिलेको अभिष्ट त्यो होइन, हरेक मौकामा विशेष गरेर कुनै पनि निर्वाचनको बेलामा अत्याधिक प्रयोग हुने गरेको अन्तर्घात शब्दको विवेचन भने हो । विस्तारै यो अन्तर्घात शब्दको साहरा लिएर अभद्रताको परकाष्टा पुग्ने कामहरू आम हुन थालेका छन् । लोकतन्त्रको मान्यता, दलनिष्ठाको सिमाना अनि चुनावको गरिमालाई नै लज्जित बनाउने गरी अन्तर्घातको नयाँ परिभाषा आएको छ । यो परिभाषा सम्य समाजमा पाच्य छैन ।

आजको परिभाषामा आफ्नो वा आफूले आस्था राखेको दलले खडा गरेको उम्मेदवारको पक्षमा नलाग्नुलाई अन्तर्घात भन्न थालिएको छ । यो कुरा चुनावमा मात्र नभएर दलको कार्यक्रमका समर्थन वा विरोधमा पनि लागू गरिन्छ । कुनै नेताको व्यक्तिगत दोषको विरोध गर्नुलाई अन्तर्घातको रूपमा लिएर भौतिक कारबाही गर्ने कुसंस्कार बस्दैछ । अर्कोतिर नेतृत्वको लोभले विद्रोही भएर आधिकारिक उम्मेदवारलाई पछार्नेहरूलाई सफल भएमा दलले अंगिकार गरेका अनेकौं उदाहरण छन् अर्थात् जित्ने हमेसा ठीक भन्ने सोच । तर, त्यो अवस्थामा आधिकारिक उम्मेदेवारी निर्णय गर्ने नेतृत्वले आफूले गलत व्यक्तिलाई उम्मेदवार बनाएकोमा स्वदण्ड पाउनुपर्ने होइन र ? यो अवस्था नेतृत्वले आफैँले अवहेलना गर्न उत्प्रेरित गरेको हो ।

लोकतन्त्रमा स्वतन्त्रताको गुण गाइन्छ, जनताले आफ्नो अधिकार प्रयोग गर्ने बाटो निर्वाचन हो भनिन्छ । यदि त्यसमा दलनिष्ठा व्यक्त गर्नुपर्ने हो भने कहाँ गयो अधिकार, कता हरायो स्वतन्त्रता भनेर सोच्नुपर्ने हुन्छ । निर्वाचनको यही मानक राख्ने हो भने यत्रो तामझामको कुनै अर्थ नै छैन । सबै दलहरूले आ-आफ्नो प्रमाणित सदस्य सूची निर्वाचन आयोगलाई बुझाई दिने अनि ती मत ती दलमा स्वतः जाने बाँकी मतदाताहरू मात्र सामेल गरेर मतदान गराउने गरे भइगयो नि । सबैलाई यो तर्क सुन्दै अपच हुन्छ भने मतदान दलनिष्ठा हो भन्ने कुरा सही होइन । जनताको मत र दलनिष्ठा फरक कुरा हुन् ।

त्यसै कोही कुनै दलको सदस्य बन्दैमा सबै कुरा दललाई जिम्मा लगाएको हुँदैन । दलले उसको आकांक्षा पूरा गरेको हुनुपर्दछ । त्यसैले त दल छोड्नु अपराघ होइन, कुनै मुलुकमा, कुनै दलमा यो अपराध होइन । दल बदल्ने कारणले कसैले ठीक या अवसरवादी भन्न सक्ला, हुनसक्ने त्यत्ति हो । कोही म कुनै दलमा आबद्ध हुन्न भन्छ भने त्यो उसको अधिकार हो । दलप्रति निष्ठा नराखेकोमा दलले निष्काशन गर्नसक्छ आफ्नो विधानको प्रावधानअनुसार । यसो गर्न पनि त्यो कुरा सावित हुनुपर्दछ । भोलि देश नै हाँक्न तयार हुने राजनीतिकर्मीको जमातले कसैलाई आरोप लगाएर भौतिक कारबाही गर्नु भनेको अपराध नै हो ।

निर्वाचनका सन्दर्भमा आधिकारिक उम्मेदवार तय गर्ने तरिकाले पनि नेतृत्वलाई कसी लगाइरहेको हुन्छ । पारदर्शी शब्द वारपार देखिने भन्ने अर्थमा मात्र प्रयोग भएको होइन । कुन कुरा कसरी भयो र किन भयो भन्ने कुरा थाहा पाउनु संगठनका प्रत्येक सदस्यको अधिकारमात्र होइन कर्तव्य हो । कर्तव्य यस कारणले हो कि संगठनको हरेक काम तथा निर्णयको उसले जनतालाई जवाफ दिनुपर्ने हुन्छ । यसका निमित्त ऊ आपूm विश्वस्त हुन जरुरी छ । आफूले प्रचार पर्ने उम्मेदवार आफ्नो नजरमा योग्य छ कि छैन भन्ने कुराले महत्व राख्छ । अझ आफू पनि दावेदार रहेकोमा किन अर्को भन्ने बुझाउने दायित्वबाट नेतृत्व चुक्न हुँदैन ।

केवल दलनिष्ठाले मात्र जनताको चित्त बुुझाउन सक्ने अवस्था दिन प्रतिदिन समाप्त हुँदै जाँदैछ । आज समर्थक भएर मत मागिदिएको विजित प्रतिनिधिको राम्रो कामको जस बरू नपाइएला तर नराम्रो कामको गाली भने सुन्नु नै पर्नेहुन्छ । त्यसै स्थानीय तहमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय हुन्छन् व्यक्तिगत प्रकृतिका । सांसदसँग सामाजिक विषय हुन्छन्, व्यक्तिगत फाइदाको कुरा राखिँदैन तर स्थानीय तहका प्रतिनिधिसँग कैयांै व्यक्तिगत प्रकृतिका कुरा हुन्छन्, कुलो पैनीका कुरा हुन्छन्, सधियारसँगको झगडाको कुरा हुन्छन् ।

यस्तोमा नेतृत्वले चुनेको व्यक्ति अयोग्य देखिएमा कि त त्यो व्यक्ति यसरी योग्य छ भन्ने बुझाइनु पर्‍यो कि त्यसको निमित्त मत नमाग्ने स्वतन्त्रता पाउनु पर्‍यो । उसै कुनै दलको उम्मेदवारले जितेर राम्रो काम गर्छ भने त्यसको राम्रो फलको हिस्सेदार दल, निर्णय गर्ने नेतृत्व हुने गर्दछ । यसै गरेर त्यसले जितेर गरेको नराम्रो कामको जवाफदेही दल, निर्णय गर्ने नेतृत्व हुनै पर्दछ ।

अन्तर्घात एक किसिमको विश्वासघात नै हो । त्यसैले विश्वासघात गर्न पहिले विश्वास गरिएको देखाइएको हुनुपर्दछ । निश्चित प्रक्रियामा सबैको चित्त बुझाउने प्रयाप्त कोसिस गरेर तय गरिएको प्रतिनिधिलाई साथ नदिएको हो भने कुरा बेग्लै हो । फलानाले यति बुझाएर टिकट पायो, फलानाले ढिस्कानाको सोर्स लगाएर टिकट हात पार्‍यो अझ चिलानाको चाकरीबाज भएर टिकट कुम्ल्याएको हो भनेजस्ता अभद्र हल्लाको उपस्थितिमा सघाउन कसैको मन मान्दैन । यस्तो बेलामा हाम्रा हजुरले भनेपछि गोलै सदर शैलीमा लादिएको उम्मेदवारलाई नसघाउनु किमार्थ दल निष्ठाको उलंघन होइन, बरू एक गलत प्रवृत्तिको विरुद्धको संघर्ष हो । अन्तर्घात होइन अन्तरसंघर्ष हो, यस्तै अन्तरसंघर्षले विश्वमा नामी नेताहरू पैदा गरेको छ ।

अपारदर्शी तरिकाले हचुवाको भरमा वितरण गरिएको टिकट भनेको त्यही दलको समर्पित अनि योग्य कार्यकर्ताको अपमान हो । कुनै कुनै अवस्थामा त त्यस्ता कार्यकर्ताको जीवनभरको निष्ठा र योगदानको अवमूल्यन हो । यस्ता कार्यकर्ता दलको निष्ठाले आफूलाई परेको यस्तो अन्याय देख्दैनन्, त्यसैले अरू कार्यकर्ताले यो कथित अन्तर्घातको माध्यमले संघर्षको बिगुल फुक्नै पर्ने हो । यो ती कार्यकर्तालाई न्याय दिलाउनेमात्र नभएर भविष्यमा आफूमाथि पनि हुनसक्ने अन्यायको रोकथाम गर्ने टीकाकरण अर्थात् भ्याक्सिन हो । आफूले अनुमोदन नगरेको निर्णय नमान्दा अन्तर्घात हुन्न अन्तरसंघर्ष हुन्छ । अन्तरसंघर्ष कुनै दलको उन्नतिको बाटो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?