प्रतिपक्षमा हुँदा विज्ञ, सरकार सञ्चालनमा अनभिज्ञ

प्रा. देवीभक्त ढकाल
Read Time = 15 mins

मानिस उनै हुन्, भूमिकामा मात्रै परिवर्तन हुँदा विज्ञ बुद्धु हुन्छ र बुद्धु विज्ञ हुन्छ । पढ्दा अनौठो लाग्ला तर यो हाम्रो राजनीतिको अनौठो चरित्र र विशेषता हो । उही व्यक्ति सत्तामा हुँदा बुद्धु हुने र प्रतिपक्षमा एकाएक विज्ञ हुन्छ । यो अहिलेसम्मको हाम्रो अनुभवजन्य यथार्थ हो । सबै पार्टीका सबै नेता प्रतिपक्षमा हुँदा विज्ञ र सत्तारुढ हुने बित्तिकै बुद्धु भएको कुरा उनीहरू आफैंले आफ्नै कामबाट प्रमाणित गर्दै आएका छन् । यो उनीहरूको क्रियाकलाप र व्यवहारले सिद्ध गरेको हाम्रो अनुभवजन्य यथार्थमा आधारित निष्कर्ष हो । यो उनीहरूका क्रियाकलापले सिद्ध गरेको तीतो सत्य हो । कस्तो आश्चर्य ! प्रतिपक्षमा हुँदा सबै विज्ञ सरकारमा हुँदा किन बुद्धु ?

जस्तो देख्छन् त्यस्तै भन्छन् भन्ने हिम्मत र इमानदारी नेपाली राजनीतिकर्मीमा छैन । सत्य र असत्यको विभेद गर्ने क्षमता प्रतिपक्षबाट सत्तासीन हुने बित्तिकै कसरी र किन एक्कासि ह्रास हुन्छ ? उनीहरूका निर्णयबाट सिधैं राष्ट्रघात भएको विषयले उनीहरू व्यक्तिगत रूपमा लाभान्वित भएको प्रमाण नै लथालिंग हुँदा पनि त्यसलाई राष्ट्रहित भएको लँगडो तर्क गर्न किन अलिकति पनि लज्जाबोध गर्दैनन् ?

सत्तामा हुने बित्तिकै लाजलाई परित्याग गर्ने क्षमता कसरी र किन वृद्धि हुन्छ ? यो विशिष्ट क्षमता कहाँबाट र कसरी आउँछ यही अनौठो घटनाक्रमभित्र नेपाली राजनीति सधैं अल्झेको छ । नेपालीहरूको भाग्य र भविष्यलाई सधैं नकारात्मक प्रभाव पार्ने यी चिरस्थाई घटना हुन् ।
नेपालका सत्तारूढ दलका र विपक्षी दलका सबै नेताहरूलाई अर्काले के के गर्न हुन्छ ? के के गर्न हुँदैन ? त्यसबारे विशिष्ट ज्ञान छ । त्यसैले उनीहरूले भाषणमा सबै थाहा भएको अभिव्यक्ति दिन्छन् । सत्ताको जिम्मेवारी निर्वाहको सन्दर्भमा विवेक प्रयोग नगर्दा व्यवहारमा फुट्टी बुद्धि नभएको प्रमाणित गर्नेहरू नै प्रतिपक्षको बेन्चमा पुग्ने बित्तिकै उनीहरू त्रिकालदर्शी हुन्छन् । प्रतिपक्षमा हुँदा भाषणमा जनहित र समृद्धिमा विलक्षण प्रतिभा भएको जस्तो अभिव्यक्ति दिनेहरू सत्तामा जाने बित्तिकै जनहितमा गर्नुपर्ने, गर्नसकिने कुनै पनि काम जनता र देशलाई लाभ दिने शैलीमा कसैले सम्पन्न गर्न सकेनन् ।

अहिले खाद्यान्न अभाव, राष्ट्रबैंकसँग तरलता अभाव, निर्यात संकुचन र आयात र अक्कासिएको मूल्यवृद्धिले राज्य सञ्चालकहरू सबै असफल भएको पुष्टि भएको छ । अचम्म ! राजनीतिक अस्थिरताले पनि फाइदा हुँदो रहेछ । त्यो के भने सबै दलहरूको शासनको अनुभव जनताले छोटो अवधिमा गर्न पाए । प्रतिपक्षी बेन्चमा हुँदा जनताको हितमा आकाश नै खसाल्ने भाषण गर्नेहरू एकाएक सत्तामा आएपछि उनीहरूको विवेक, बुद्धि कति चाँडै नष्ट हुन्छ भन्ने कुरा पनि नेपाली जनताले बारम्बार अनुभव गरेका विषय हुन् ।

अब सरकार र प्रधानमन्त्री परिवर्तनले जनताको हितमा केही लछारपाटो लाग्दैन भन्ने विषयमा जनता विश्वस्त छन् । सरकार परिवर्तन, प्रधानमन्त्री परिवर्तन, मन्त्री परिवर्तन अहिलेसम्म फगत उनीहरूको निजी आर्थिक सामाजिक परिवर्तनमा सीमित हुनेगरेका घटनाले अब त्यस्ता परिवर्तनबाट जनता आशावादी हुने अवस्थामा छैनन् । नेताहरू सबैले पदलाई नितान्त व्यक्तिगत फाइदामा प्रयोग गर्दै आएका कारण उनीहरूबाट जनहित र समृद्धिको काम हुन्छ भन्ने विश्वास नै जनतामा छैन । त्यसैले अहिले राजनीति र राजनीतिज्ञप्रतिको विश्वासको संकट मुख्य समस्या हो ।

प्रतिपक्षमा रहँदा जनहितका विषयको वकालत गर्ने यिनीहरूको क्षमताको भने प्रशंसा गर्नुपर्छ । तर, आश्चर्य के छ भने तिनै व्यक्ति सत्तारूढ हुने बित्तिकै त्यो क्षमता एकाएक गायब हुन्छ । जनहितको विवेक, मस्तिष्क र कार्यक्षमतामा एकाएक ह्रास आउँछ । त्यसपछि सुरुवात हुन्छ व्यक्तिगत सम्पत्ति प्रवद्र्धन र पारिवारिक समृद्धिको अभियान । हिजो प्रतिपक्षमा हुँदा जनताको समृद्धि र जनहितको विशिष्ट क्षमता अब आफ्नै हितमा युटर्न हुन्छ । यो घटनाको सिकार देश युगौंदेखि हुँदै आएको छ । यसको क्रम भंगताको सम्भावना नदेखिने स्थितिले भने सबैलाई निराश बनाएको छ ।

उनीहरू अर्काले गरेको काम कसरी गर्नुपर्छ भन्ने आलोचना भाष्यका मात्रै विज्ञ छैनन्, अर्काले गरेको कामको दोष देखाउन पनि विज्ञ छन् । तर, त्यही कामको जिम्मेवारी पाउँदा भने त्यसलाई हिजो दोष देखाउनेहरू दोषमुक्त भएर काम सम्पन्न गर्न भने सबै बुद्धु छन् । अर्काले गर्दा यो भएन, त्यो भएन भनेर नानाथरि दोष देखाउनेमध्ये कुनैलाई पनि सत्तामा हुँदा आफूले के के गर्नु हुन्छ ? के के गर्नु हुँदैन भन्ने कुरा कत्ति थाहा हुँदैन । आफूले के के गर्नु हुन्छ ? के के गर्नु हुँदैन भन्ने थाहै नहुनेहरू सरकारमा र प्रतिपक्षमा भएको यथार्थ चित्रलाई यिनीहरूले सरकार सञ्चालन र सदन सञ्चालनबाट जनतालाई राम्रोसँग अवगत गराएका छन् ।

यीमध्ये कुनैसँग पनि आफूले गर्नुपर्ने कामको ज्ञान, सीप, ढंग कत्ति पनि नभएको यिनीहरूले प्राप्त जिम्मेवारी निर्वाहको क्रममा बारम्बार प्रमाणित गरेका छन् । यिनीहरू अर्काले गर्ने कामको खोट देखाउन भने विज्ञ छन् । आफूले गर्ने कामलाई कुशलतापूर्वक सम्पन्न गर्ने विषयमा भने बुद्धु छन् । यिनीहरूसँग राज्य सञ्चालन, संसद सञ्चालन र सुशासनको विषयमा फुट्टी ज्ञान, कुशलता, सीप छैन भन्ने विषय जान्दाजान्दै फेरि तिनै अकुशलकै जमातहरू नै पालैपालो निर्वाचित हुन्छन् । आश्चर्य के छ भने सरकार, सदन सञ्चालन र सुशासनको विषयमा असफल नै सधैं निर्वाचन जित्न सफल हुन्छन् ।

यिनीहरूको एउटा दक्षता भनौं, अकर्मण्यता भनौं वा राष्ट्रधाती विशेषता के छ भने जे जस्तो जिम्मेवारी पाउँछन् त्यसबाट देश र जनतालाई घाटा पार्न र व्यक्तिगत फाइदा गर्न भने खप्पिस छन् । तसर्थ यिनीहरू निर्वाचन जित्न साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्ने क्षमता र योग्यताको विकास नै यिनीहरूको पदको करामत हो ।

पदबाट हुने सबै नाजायज फाइदा लिन यिनीहरू कोही चुक्दैनन् । माटो, पानी, बालुवा, ढुंगा, जंगलजस्ता राज्यका सम्पत्ति बिक्रीवितरणबाट व्यक्तिगत फाइदा लिएका उदाहरण थुप्रै छन् । त्यो व्यक्तिगत, नातागत र पार्टीगत लाभ लिन खप्पिसहरूकै सेरोफेरोमा नेपालको राज्य सत्ता र पार्टी सत्ता सधैं कब्जा हुँदै आएको छ । यिनीहरू लेख्न भने पार्टीको सिद्धान्त, नीतिहरू फरकफरक छ भन्ने लेख्छन् तर सबैसँग एउटै साझा नीति छ त्यो हो जे जसरी हुन्छ सत्तामा पुग्ने र सत्तामा पुगेपछि राज्यलाई, जनतालाई जतिसुकै घाटा हुने काम आफूलाई, गुटलाई, पार्टीलाई र आफ्नालाई फाइदा हुन्छ भने त्यो काम गर्न यिनीहरूलाई पार्टीको सिद्धान्तले नीतिले, नैतिकताले छेक्दैन ।

आफ्नो फाइदाका लागि हुने/नहुने सबै काम गर्ने यिनीहरूको साझा आदर्श र सिद्धान्त हो । सोझै राष्ट्रघात हुने कामलाई देशहितको काम हो भन्ने नक्कली दलिल दिन यिनीहरूमा किञ्चित लाज छैन र हुँदैन । लज्जाहीनता यिनीहरू सबैसँग भएको विशिष्ट गुण हो । त्यही लज्जाहीनताका कारण व्यक्तिगत हितमा मात्रै केन्द्रीकृत हुन्छन् । जनता र राष्ट्रको अहितमा काम गर्ने नकारात्मक शक्ति यिनीहरूको विशेष योग्यताको रूपमा रहेको लज्जाहीनता हो । यस्तो महत्वपूर्ण जिम्मेवारी हुनेबाट यस्तो काम कसरी हुन्छ भन्ने अविश्वासको घेरालाई यिनीहरूले ऐन मौकामा तोडेर त्यसको बचाउमा तर्क दिने यिनीहरूको योग्यता संसारकै राजनीतिज्ञसँग नभएको विशेष योग्यता हो ।

सरकार र सदन सञ्चालन साथै जनताको जनजीविकालाई सहज बनाउने विषयमा सरकारको र सदनको नेतृत्व गर्दा फुट्टी पनि काम गर्न नसक्नेहरू आफूलाई निर्लज्जताका साथ गतिशील नेतृत्व, राज्यको पुनर्संरचना र गरिबहरूको भाग्य निर्माता हौं भन्न पटक्कै लज्जाबोध गर्दैनन् ।

भन्दा निमुखालाई न्याय र गरिबलाई आय भन्ने गर्छन् । गर्दा निमुखालाई अन्याय गर्छन् । गरिबलाई आय भन्न नथाक्नेहरू एकाएक आफैं धनी बन्ने नेपाली राजनेताहरूको अनौठो विशेषता हो । हामी जनता पनि त्यस्तै नेताहरूको लंगडो तर्कमा रमाउने चरित्र पनि परिस्थितिलाई नकारात्मक बनाउन कम जिम्मेवार छैन । आफ्नो पार्टीको नेताले जस्तो अपराध गर्दा समर्थनको तर्क गर्ने र अर्को पार्टीको नेताले कहिलेकाहीँ झुक्किएर पनि जनहितको काम गरिहाल्यो भने त्यसलाई कुतर्क गर्ने रोगले जनहितका कामहरू सधैं संकटग्रस्त हुन्छन् ।

सरकार र सदन सञ्चालको जिम्मेवारी निर्वाह गर्ने क्रममा यिनीहरूको स्वार्थमा धक्का लाग्दा एकआपसमा तिक्तता बारम्बार पोख्ने र आफ्नो हजार दोषहरूलाई नदेख्ने, अर्काको सानुभन्दा सानु दोषलाई तिलको पहाड बनाउने यिनीहरूको योग्यताको भने जति प्रशंसा गरेपनि कम नै हुन्छ । जनता पनि आफूले गर्नुपर्ने कामहरू कत्ति नजान्ने अर्काले गर्ने कामहरूबारे मात्र जानकारलाई किन मतदान गर्छन् ? यो फेरि अर्को बुझी नस्क्ने विषय हो ।

सत्तामा रहँदा होस् वा प्रतिपक्षमा रहँदा यिनीहरू जिम्मेवारीप्रति इमानदार छैनन् । आफ्नो काममा ध्यान र विवेक प्रयोग नगरी अर्काको आलोचनामा रमाउने स्वभावका कारण सरकार र सदन सञ्चालनको कार्यशैलीप्रति जनता सन्तुष्ट छैनन् । जनप्रतिनिधिले जनतालाई नै सन्तुष्ट बनाउन सकेनन् भने ती असफल हुन् । सरकार र सदन दुवै सञ्चालन असफलहरूबाट हुँदैगर्दा दुवै निकायको सञ्चालन विधिसम्मत नहुँदा प्रजातन्त्र अहिले यस हालतमा पुगेको छ ।

यो देशले आफूले गर्ने र गर्नुपर्ने कामको जानकार नेतृत्वको पर्खाइमा कति बस्नुपर्ने हो ? प्रतिपक्षमा विज्ञ हुने त्यो विज्ञता सत्तामा हुने बित्तिकै नष्ट हुने दीर्घ रोगको उपचार कसले, कहिले र कसरी गर्ने ? यसबारे बहस, अन्तक्र्रिया, मूल्यांकन, समीक्षा समयको माग र जनताको चाहना हो । प्रतिपक्षमा हुँदा भएको विज्ञतालाई सत्तामा हँुदा नष्ट नहुने उपायहरूको खोजीबाटै हाम्रो समृद्धिको पूर्वाधार सुरुवात हुन्छ । अब यसको उपचार खोज्न ढिला नगरौं ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?