रग्बीमा नेपाल समूह ‘ए’ मा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदको पुरुष रग्बी सेभेन्समा नेपाल समूह ‘ए’मा रहेको छ । नेपालसँगै यो समूहमा हङकङ चाइना र फिलिपिन्स छन् । हाङझाव एसियाडमा नेपालले पुरुष रग्बीमा सहभागिता जनाउँदै छ । पुरुष रग्बीमा जम्मा १२ राष्ट्रले प्रतिस्पर्धा गरेका छन् ।

सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । समूह ‘बी’मा दक्षिण कोरिया, मलेसिया र चाइनिज ताइपेइ, समूह ‘सी’मा जापान, सिंगापुर र थाइल्याण्ड तथा समूह ‘डी’ मा युएई, चीन र अफगानिस्तान छन् ।

रग्बीका खेलहरू सेप्टेम्बर २४ तारिखदेखि सुरु हुनेछन् । विराट श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीले त्यसै दिन आफ्नो समूह चरणका दुवै खेल खेल्नेछ । नेपालले पहिलो खेल फिलिपिन्स तथा दोस्रो खेल हङकङ चाइनाविरुद्ध खेल्नेछ । हाङझाव एसियाड सेप्टेम्बर २३ तारिखदेखि सुरु हुँदैछ ।

एसियाली खेलकुदमा नेपालले पहिलोपटक रग्बीमा सहभागिता जनाउन लागेको हो । नेपालको सहभागिता पुरुषमा मात्र रहेको छ । १२ सदस्यीय खेलाडी टोलीलाई श्रीलंकाका सन विजेसिंघेले प्रशिक्षण दिइरहनुभएको छ ।

नेपाली टोलीमा विराट श्रेष्ठ (कप्तान), विवेश बासु, विक्रम पुरी, विक्रम भारती, झुकेन्द्र राई, नवीन महर्जन, निरोज कार्की, पुजन फेवाली, सविन महत, श्रीराम श्रेष्ठ, सुजन कुमाल र यदु अधिकारी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?