गोपी र राजपुरालाई उपाधि

Read Time = 4 mins

काठमाडौं । एपिएफका गोपीचन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले वीर गणेशमान सिंह १० किलोमिटर रोड रेस प्रतियोगिताको उपाधि जित्नुभएको छ । वीर गणेशमान सिंह फाउन्डेसनको स्पोर्ट्स कमिटीले आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ ३१ मिनेट ११.४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै पार्कीले नयाँ कोर्स रेकर्डसहित उपाधि जित्नुभयो ।

गोपीले आफ्नै नाममा रहेको ३१ मिनेट ४४.४९ सेकेन्डको कोर्स रेकर्ड सुधार गर्नुभएको हो । त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी ३१ मिनेट १५.२ सेकेन्ड र आर्मीकै राजन रोकाया ३१ मिनेट २०.४ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो हुनुभयो ।

महिलातर्फ राजपुराले निर्धारित दूरी ३७ मिनेट १०.५ सेकेन्डमा पूरा गर्दै नयाँ कोर्स रेकर्डसहित उपाधि जित्नुभयो । उहाँले सन्तोषी श्रेष्ठको नाममा रहेको ३७ मिनेट ५३.४५ सेकेन्डको कीर्तिमान तोड्नुभएको हो । एपिएफकी पुष्पा भण्डारी ३८ मिनेट ०४.३ सेकेन्डमा दोस्रो तथा एपिएफकै विन्द्रा धन्के श्रेष्ठ ४० मिनेट २८.९५ सेकेन्डमा तेस्रो स्थानमा रहनुभयो ।

विजेताले ६० हजार, उपविजेताले ३० हजार, तेस्रोले १५ हजार रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गरे । । नयाँ कीर्तिमान बनाएका गोपी र राजपुरालाई थप १०–१० हजार रुपैयाँ प्रदान गरिएको थियो । पाँच किलोमिटरतर्फ पुरुषमा आर्मीका मुकेशबहादुर पाल र महिलामा एपिएफकी फुलमती रानाले पहिलो स्थान हासिल गर्नुभयो । मुकेशले १४ मिनेट ३३.८८ सेकेन्डमा निर्धारित दूरी तय गर्नुभयो । दोस्रो भएका एपिएफका सन्तोष विक्रम विष्टले १४ मिनेट ५९.८६ सेकेन्ड तथा तेस्रो स्थानका आर्मीका सुवास कार्कीले १५ मिनेट १४.०२ सेकेन्डमा दौड सिध्याउनुभयो ।

फुलमतीले १७ मिनेट ४२.३१ सेकेन्ड खर्चिनुभयो । आर्मीकी निर्मला केसी १८ मिनेट १५.३४ सेकेन्डमा दोस्रो तथा आर्मीकै पूर्णलक्ष्मी न्यौपाने १८ मिनेट २३.९४ सेकेन्डमा तेस्रो बन्नुभयो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ७ हजार रुपैयाँ प्राप्त गरे ।

पाँच किलोमिटरतर्फको रेस पहिलोपटक आयोजना गरिएको हो भने १० किलोमिटरतर्फ यो तेस्रो संस्करण हो । विजेतालाई पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, काठमाडौं महानगरपालिकाको नेपाली कांग्रेसकी मेयरकी उम्मेदवार सिर्जना सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?