आलुले मूल्य नपाउँदा किसान मार्कामा

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 4 mins

बैतडी । बैतडीको सिगास गाउँपालिका– १ का रोशन साउँद व्यवसायिक तरकारी खेतीमा आवद्ध छन् । परम्परागत रैथाने खेती गर्दै आएका उहाँले आलु, बन्दा, काउली, टमाटर र खुर्सानी लगायतका तरकारी उत्पादन गर्दै आउनुभएको छ ।आलुका लागि पकेट क्षेत्र भएकाले त्यहाँका अधिकांश कृषकहरुले आलु उत्पादन गर्दै आएका छन् ।

यो समय आलु खन्ने र बजारमा बिक्री गर्ने समय हो । उत्पादन राम्रो भएपनि बजार मूल्य र ढुवानीमा भने समस्या भोग्दै आउनुभएको छ । ‘६० देखी ७० रुपैँया प्रति किलो बिउ किनेर लगाएका थियौँ । उत्पादन पनि राम्रो भयो । तर बजार भाउ भने त्यसको आधा मात्रै छ’, रोशन भन्नुभयो ।
वडा नम्बर १ मा ५० देखी ६० रोपनीमा करिब तीन सय क्वीन्टल आलु उत्पादन भएको छ । ‘उत्पादन राम्रो भयो । किसानहरु खुसी छन् । अहिले आलु उत्पादक किसानहरुलाई व्यापारीहरुबाट प्रतिकेजी ३० देखी ३५ रुपैँया सम्म मात्रै पाउने छन् ।’ उहाँले भन्नुभयो, ‘भण्डारणका लागि कोल्ड स्टोर छैन् । बारी कुहिन दिनु भन्दा त्यतिमै भएपनि बजारमा पढाइरहेका छौ ।’

सुर्नया गाउँपालिका–७ का दानबहादुर मडैले ५० क्वीन्टल बढी आलु घरको गोठमा थन्काएर राखेका छन् । अझै बारी दश क्वीन्टल बढी आलु खन्न बाँकी छ । उपयुक्त बजार मूल्य नपाउँदा बिक्री नगरेको मडै बताउनुहुन्छ । उपयुक्त मुल्यको पर्खाईमा रहेकाले अहिले गोठमै थन्काएर राखेको मडैले जानकारी दिनुभयो ।

‘बिउ नै महँगो प-यो । रसायनिक मलको प्रयोग गर्नैप-यो । मेहेनतअनुसार भाउ पाइरहेका छैनौँ’ आलु उत्पादक किसान मडैले भन्नुभयो, ‘भदौ असोज सम्म ४०/५० रुपैँया सम्म पाइएलाकी ?’

जिल्लामा ८ सय ५० हेक्टरक्षेत्रफलमा आलु खेती गरिन्छ । यहाँका आलु उत्पादक किसानले बजारीकरणका लागि स्थानीय तहहरुको साथ खोजेका छन् । बर्षात् को समयमा ग्रामिण सडकहरु अवरुद्ध हुँदा ढुवानीमा समस्या हुने गरेको छ । बजारको व्यवस्थापन संगै ढुवानीका लागि स्थानीय तहहरुले सहयोग गरे किसानहरुलाई राहात हुने सुर्नया ७ का जयबहादुर मडैले बताउनुभयो । बारीबाट बजार सम्म पु¥याएकै एक बोरा आलुको ५० रुपैँया भाडा लाग्छ । बजार र ढुवानीमा निकै समस्या भैरहेको छ ।

बैतडीको पाटन नगरपालिकाका वडा नम्बर ८, ९ र १० सिगास गाउँपालिकाका वडा नम्बर १, २ र ९ सुर्नया गाउँपालिका वडा नम्बर ६ का किसानहरुले आलु उत्पादन गर्दै आएका छन् ।

स्थानीय तहहरुसंग तरकारीको बजारीकरणका लागि ठोस योजना नभएको बताएका छन् । पाटन नगरपालिकाका नगरप्रमुख गौरीसिंह रावलले बजेट अभाव रहेकाले तत्काल आलु उत्पादक किसानहरुका लागि कुनै कार्यक्रम नभएको बताउनुभयो । बजारीकरणका लागि कैलालीका गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिका संग समन्वय मात्रै गर्न सकिने अवस्था मात्रै रहेका रावलले जानकारी दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?