सामाजिक सञ्जालमा मिथ्या सूचना प्रकाशन गरे कडा कारबाही : आयोग

Read Time = 4 mins

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सामाजिक सञ्जालमा मिथ्या सूचना तथा आचारसंहिता विपरीतका सामग्री प्रकाशन गरे कडा कारबाही गर्ने चेतावनी दिएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सामाजिक सञ्जालमा मिथ्या सामग्री पोष्ट गरेमा कडा कारबाही गर्ने बताउनुभएको हो । उहाँले निर्वाचन आचारसंहिता विपरीतका सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३, निर्वाचन कसुर तथा सजाय ऐन २०७३ तथा प्रचलित कानुनअनुसार कारबाही गरिने प्रष्ट पार्नुभयो ।

आयोगले निर्वाचनलाई प्रभावित पार्ने खालका सामग्री प्रचारप्रसार नगर्न सीमावर्ती देशलाई पत्राचार गर्न पनि परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ । पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा उम्मेदवारको मनोनयन गराउनुभएका उम्मेदवार तथा राजनीतिक दलप्रति लक्षित गरी मिथ्या सूचना, दुस्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोष्ट भइरहेको र यस्ता गलत, भ्रामक, चरित्रहत्या हुने व्यक्तिगत लाञ्छना लगाउने, मानहानि हुने वा निर्वाचनलाई प्रत्यक्ष असर पर्ने कुसामग्री सामाजिक सञ्जालमा नगर्न नगराउन सबैमा आयोगले चेतावनी दिन्छ ।’

निर्वाचन आचारसंहिता २०७८ को परिच्छेद-२ अन्तर्गत सबैले पालना गर्नुपर्ने आचरणमा सामाजिक सञ्जालको प्रयोग र दफा २२ को (ज) मा भएको प्रावधानविपरीत गरिएका यस्ता गलत कार्य बन्द गर्न सम्बन्धित पक्षलाई आयोगले ध्यानाकर्षण गराएको छ ।

‘आचारसंहिताविपरीत सामाजिक सञ्जालको प्रयोग गरेको पाइएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसुर तथा सजाय ऐन २०७३ तथा प्रचलित कानुनबमोजिम कारबाही गरिने जानकारी गराइन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै, स्थानीय तह निर्वाचनमा महानगरपालिकाको मतपत्रमा राजनीतिक दलले एउटा पदमा उम्मेदवारी दिए पनि सात वटैमा चुनाव चिन्ह रहने भएको छ । निर्वाचन आयोगले ६ वटा महानगरपालिका र भक्तपुरका चार नगरपालिकामा मतपत्र छपाइ सुरु गरेको छ । सुरुमा उम्मेदवारी दिएको पत्रमा मात्र दलको चुनाव चिन्ह रहने भनिएको थियो । यसो गर्दा गठबन्धन गरेका दलहरूले लाभ लिन सक्ने थिए । तर, आयोगले कुनै दलले स्थानीय तहका प्रमुखदेखि वडा सदस्यसम्मका सात पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिए पनि मतपत्रमा दलको लहरमा सातवटै चुनाव चिन्ह रहने बताएको छ ।

मतपत्रमा पालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडासदस्य र खुला दुई वडा सदस्यको गरी हरेक दलको सातवटा चुनाव चिन्ह एउटै लहरमा राखिएको हुन्छ । यीमध्ये कुनै एउटा पदमा उम्मेदवारी दिए पनि उक्त दलको सातवटै चुनाव चिन्ह रहने आयोगले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?