विद्यालयको व्यवस्थापन समिति अध्यक्ष बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

हिमालय टाइम्स
Read Time = 3 mins

बाबुराम श्रेष्ठ/हिटा
धादिङ । उच्च अदालत पाटनले धादिङबेंसीस्थित बालमन्दिर माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । भदौ २६ गते उच्च अदालत पाटनका न्यायाधीश विमल सुवेदीको एकल इजलासले उक्त निर्णय अवैध र अदालतमा उजुरी परेकाले तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

नेपाली कांग्रेस धादिङको क्षेत्रीय सभापतिको प्रत्यासी एवं स्थानीय तहको निर्वाचनमा नीलकण्ठ नगरपालिकाको मेयर पदका आकांक्षी दिपक कोइराला गत साउन २९ गतेको भेलाबाट धादिङबेंसीस्थित बालमन्दिर माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष बन्नुभएको थियो । कोइरालालाई अध्यक्ष बनाउन बसेको भेलाको सभापतिले नै माइन्युटमा हस्ताक्षर नगरेको र वडाध्यक्षसमेत भेला सम्बन्धमा बेखबर भएपछि उक्त भेला अवैध रहेको भन्दै अदालतमा परेको रिटबारे उच्च अदालत पाटनले के–कसो भएको हो १५ दिनभित्र उपस्थित हुनसमेत विपक्षका नाममा आदेश जारी गरेको छ ।

अवैध भनिएको भेलाबाट अध्यक्ष बन्नुभएका कोइरालाले भदौ ६ गते स्कुलको बैठक विद्यालयमा नराखेर नगरपालिकामा राखेर विद्यालयको वार्षिक उत्सव, विद्यालय गान र शिक्षक कर्मचारीको तलब तथा सेवा सुविधाका विषयमा निर्णय गराएको पाइएको छ ।

अदालतले अन्तरिम आदेश जारी गरेसँगै कोइरालाको अध्यक्षतमा बसेको उक्त बैठकका निर्णयहरूसमेत प्रभावित हुने भएको छ । कोइरालालाई अध्यक्ष बनाउने उक्त भेलामा ज्येष्ठ उमेरका अभिभावकहरूमध्येबाट लिलाबहादुर श्रेष्ठलाई भेलाको अध्यक्ष बनाएको थियो । तर, उहाँ भेलामा अनुपस्थित हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?