अन्तरआत्माको आवाज सुनौं

Read Time = 16 mins

✍️ मणि शर्मा
तीन-चार दिनअगाडि म व्यक्तिगत कामले गाउँतिर गएको थिएँ । गल्ला खरिद गर्ने फड तथा पसलको बेन्चमा रूखमुनि म बसिरहेको थिएँ । त्यहाँ केही स्थानीय युवाहरू पनि थिए । गफ चुनावकै चलिरहेको थियो । केहीछिनपछि एकजना दाँत सबै फुक्लेका बुढाबाको त्यहाँ पदार्पण हुन्छ । उहाँ पनि राजनीतिमा चासो राख्ने हुनुहुँदो रहेछ । मैले बालाई सोधेँ ‘बा चुनाव कत्तिको लाएको छ नि ?’ बाले भन्नुभयो, जो जिते पनि बाबु तिनै जित्ने हुन् । मैले यो व्यवस्था, नेताहरू, देशको अवस्थाबारेमा उहाँलाई कोट्याउँदै गएँ । बा अनवरत बोल्न सुरु गर्नुभयो, ‘बाबु, यो व्यवस्थाभन्दा त पहिलेकै व्यवस्था ठीक थियो । धर्म बचेकै थियो, देशमा शान्ति थियो । महँगी थिएन, यस्तो भ्रष्टाचार पनि थिएन, मुलुकमा कानुन थियो तर अहिले त भताभुंग छ । मैले फेरि सोधेँ, ‘बा हजुरले बिहान उठेर सूर्यनारायणलाई अघ्र्य दिनु हुन्छ, जप गर्नु हुन्छ । पूजापाठ गर्नु हुन्छ शंख घण्ट बजाउनु हुन्छ ?’ उहाँले उल्टै मलाई सोध्नुभयो, ‘बाबुको के जात पर्‍यो नि ? मैले भने बाहुन, उहाँले फेरि सोध्नुभयो कुन बाहुन ः मैले भने उपाध्याय बाहुन । अनि उहाँले भन्नुभयो, बाहुनको छोरो भएर सूर्यलाई अघ्र्य दिनु, गायत्री जप गर्नु, पूजापाठ गर्नु त नित्य कर्म हो, म बाहुन भएकाले सधैं यसो गर्ने गरेको छु ।’

मैले बल्ल उहाँलाई राजनीतिक प्रश्न गरेँ, ‘बा, हजुरले भन्नुभयो नेताहरूले हाम्रो धर्म नाश गरे, व्यवस्था खराब छ, हाम्रो देखिने शासक यिनीहरू भए पनि सक्कली शासक अरू नै छन् । त्यसो भए हजुरले जुन दलले सनातन धर्मको रक्षा गर्दै नेपाललाई हिन्दू राष्ट्र बनाउने भन्छ उसैलाई भोट दिनुहुन्छ होला ?’ मेरो कुरा सुनेर बा जंगिनु भयो किन दिँदा हुम् तिनलाई भोट ? म त सानैदेखि कांग्रेसी हुम्, रूखको छायाँमा बसेको छु, भोट त रूखैलाई दिन्छु ।

त्यसपछि मैले फडमा गल्ला जोख्ने पल्लेदार भाइलाई सोधेँ ‘भाइ, तिमीलाई यो व्यवस्था कस्तो लागेको छ ?’ उनले भने ‘राम्रो छैन दाइ । सबै दलका नेताहरू भ्रष्ट छन् ।’ यसभन्दा त पहिलेकै शासन राम्रो थियो भनेर सबैले भन्छन् । मैले सोधेँ, त्यसो भए तिम्रो भोट त पक्का राजावादी पार्टीलाई ? उनले हाँस्दै भने, कहाँ हुनु ?, म त माओवादीको पार्टी सदस्य, भोट त माओवादीलाई नै दिन्छु ।

त्यसपछि मेरो छेउमा बसेका हाम्रो खेत कमाउने किसानको जेठो छोरालाई सोधेँ ‘बड्का (ठूले) यो गाउँमा राप्रपाको संगठन छैन ? उनले भने जम्मा एकजना कार्यकर्ता छन् अरू छैनन् । बड्काको परिवार पूरै कांग्रेस थियो । उनका बा पुराना कांग्रेस हुन् तर उनले बिहान भनेका थिए, ‘म भर्खर चुनाव प्रचारबाट आउँदै छु । मैले सोधेको थिएँ, कस्तो छ यो नगरपालिकामा कांग्रेसको अवस्था ? मलाई विश्वास थियो यिनीहरू पुराना कांंग्रेस हुन् । तर उनले भने म भर्खर सूर्यको प्रचारमा गएर आउँदै छु । अहिले म रूखमुनि बसेर उनलाई सोधेँ, तिमीहरू पुराना कांग्रेसी । बा त कांगेसको गाउँको पुरानो स्थानीय नेता, कसरी सिंगै परिवार अहिले एमाले बन्यो ?’

उनी भन्न थाले ‘अहिले हाम्रो वडाबाट उठेको वार्ड अध्यक्षको उम्मेदवार जो हाम्रै नात पर्छ उसको कारणले हामी एमाले हुनु परेको हो । उसले हामी थारूहरूबीच उनी आफैं एउटा थारू भएर यताको कुरा उता लगाउने, उताको कुरा यता लगाउने, झुटो बोलेर हामीबीच फुट पैदा गरेर आफूले फाइदा लिने काम गरेकाले हामी एमाले भएका हौं । पहिला त यो पूरै थारू गाउँ हो, हजुरलाई थाहै छ तर अहिले पहाडी पनि आएर बसेका छन् । यसरी थारू थारूबीच, थारू र पहाडीबीच झगडा गराएर, साम्प्रदायिक नारा दिएर फुट ल्याउने कांग्रेसमा किन बस्ने ? त्यसैले हामी एमाले भएका हौं ।

यो भन त बड्का, तिमीलाई यो व्यवस्था ठीक लागेको छ ? छैन तर के गर्ने कतै त लाग्नै पर्‍यो त्यसैले एमालेमा लागेको हो । अन्त्यमा मैले फड्को साहुजीलाई सोधेँ, साहुजी तपाईंलाई यो व्यवस्था कस्तो लागेको छ ? साहुजीले भने, योभन्दा त पहिलेकै शासन राम्रो थियो । अनि भोट कसलाई दिनुहुन्छ नि ? उनले भने खराबमध्येको राम्रोलाई । आखिर गाउँमा बस्नु छ कसैलाई त भोट दिनैपर्छ ।

गाउँबाट घर फर्किंदा अटो रिक्सामा बसेँ । करिब बाह्र किलोमिटरको बाटो । वनप्रान्तलाई छिचोल्दै आधाभन्दा बढी बाटो आइसकेपछि हामीसँग भएका साना यात्रुहरूलाई पु¥याउन रिक्साचालकले आफ्नो घरको बाटो मुनाल बस्तीमा रिक्सा लगे । मुनाल बस्तीबाट फर्किंदा रिक्साचालकसँग कुरा भयो । उनले वर्तमान राजनीतिप्रतिको असन्तुष्टि व्यक्त गरे । त्यसो भए तिमी यी नेताहरूलाई भोट हाल्दैनौ भनेर मैले सोधेँ । हिउँदमा नहरको पानी आउँदैन । कांग्रेसी नेताहरूले हाम्रो गाउँका खेतमा बोरिङ गाडिदिएर अहिले यो हरियो देख्न पाइएको छ, त्यसैले जे भए पनि हाम्रा गाउँकाले त यसपालि कांग्रेसलाई नै भोट हाल्ने भन्दैछन् । त्यसैले भोट त कांग्रेसलाई नै दिने हो ।

मन्दिरहरूका पूजारी हुन् वा भागवत वाचन गर्ने पण्डितहरू सबैले हिन्दू राष्ट्र हुनुपर्छ, गणतन्त्रवादी नेताले हाम्रो धर्म भ्रष्ट पारे, यिनीहरू म्लेच्छ हुन् भन्ने गर्छन् तर कुनै न कुनै यिनै दलमा आबद्ध छन् र भोट पनि यिनैमध्ये एउटालाई दिने भन्ने गर्छन् । कोही कोही त यिनीहरूकै प्रचारमा लागेका छन् । प्रायःजसो कांग्रेस नै छन् ।

सारांशमा, समाजमा बस्नका लागि कतै न कतै भोट हाल्नुपर्ने बाध्यता, आपसी कलह, मनोमालिन्य आदि कारणले गाउँका मानिस विभिन्न दलहरूमा लाग्ने गर्छन् । गाउँघरमा बुझ्दा आफूलाई अप्ठ्यारो परेको बेला ठाना कचहरी जुन नेताले धाएर समस्याको समाधान गरिदिन्छ, यसका लागि उसले आर्थिक फाइदा नै किन नलिएको होेस्, भोट त्यस्तालाई नै दिने सोच बनाएको देखिन्छ ।

कुनै अन्तरआत्माले चाहेर गणतन्त्रको पक्षमा भोट दिएका होइनन् । अर्को कारण बुझ्दा मुलुकमा पुरानो व्यवस्थाका समर्थकको संगठन गाउँघरमा नभएको, भएको ठाउँमा पनि कमजोर भएको, भएका नेताहरू पनि अल्छी, निष्क्रिय भएकाले पहिलेको प्रणाली मन पराए पनि तिनलाई जनताले भोट हाल्न चाहँदैनन् । गाउँघरमै बस्नुपर्ने बाध्यताले गाउँघरमै संगठन भएको कुनै दललाई मात्र भोट दिने सोच बनाएका छन् ।

हाल मुलुकभरि राप्रपाका जनसभाहरूमा जुन लहर देखिएको छ त्यसैको भरमा राप्रपा सम्मानजनक सिट ल्याएर जित्छ भन्नु फगत एउटा दिवास्वप्न मात्र हुनेछ । यो जनलहरलाई संगठनको धागोमा माला बनाई एकत्रित गरी राख्दै संगठनका मालाहरू बनाउँदै गएको भए राप्रपाले अहिले नभए पनि आगामी संसदीय चुनावमा बहुमत ल्याएर जित्न सक्ने थियो । तर, जिल्लाहरूमा राप्रपाको नेतृत्व कमजोर छ, लोभीपापी, अल्छी, बाबुसाहबी पाराको नेतृत्व छन् । यस्तो नेतृत्वले राप्रपालाई बलियो शक्ति बनाउन सक्दैन । राप्रपा यदि बलियो हुने हो भने कमजोर नेतृत्व भएका जिल्लाहरूको नेतृत्वको पुनर्संरचना गर्नुपर्छ ।

जनसभाको भीड हेरेर वा चुनावको बेला पार्टी प्रवेशको लर्को हेरेर हर्ष मनाउनु हुँदैन । पार्टी प्रवेश भनेको आयाराम गयारामहरू आउने जाने बाटो हो । पार्टी सदस्यहरूलाई दत्तचित्त भई पार्टीमा लाग्न उचित प्रशिक्षण बेला-बेलामा दिइराख्ने, सही व्यवस्थापन गर्ने, त्यागी कार्यकर्ताहरूको उचित मूल्यांकन गर्न सक्ने नेतृत्व पनि चाहिन्छ । अधिकांश नेपालीहरूले हिन्दू राष्ट्र चाहेका छन्, संघीयताको खारेजी चाहेका छन्, विदेशी शक्तिकेन्द्रहरूको समर्थनको शासनको अन्त्य चाहेका छन्, भ्रष्टाचारको अन्त्य चाहेका छन् ।

बहुसंख्यक जनताको अन्तरमनले, हिन्दू राष्ट्र फर्कियोस्, संघीयता खारेज होस् भन्ने चाहेका छन् तर हामी आफ्नो आत्माको आवाज सुन्दैनौं । सुन्छौं त केवल मनको आवाज । जो हाम्रो मनभित्र रहेको लोभ, लालच, कसैलाई मन पराउनु, नपराउनु, क्रोध, प्रेम, नाफा, नोक्सानले निर्धारण गर्छ । मनको आवाज बलियो भएपछि अन्तरआत्माको आवाज मर्छ । आत्माको आवाज मर्नु भनेको ईश्वरको आवाज मर्नु हो । हामी सनातन धर्म अवलम्बीहरू ईश्वरलाई र उनको सत्तालाई मान्छौं, आत्मैदेखि मान्छौं । तर बाहृय कारणले त्यसको हत्या गरेर बाहृय स्वरूप मनको आवाजलाई मान्न बाध्य हुन्छौं ।

मनको आवाज मान्छेको अहम्सँग जोडिएको हुन्छ जबकि आत्माको आवाज अति नै सूक्ष्म हुन्छ । यो तब सुनिन्छ जब हामी विचारबाट मुक्त हुन्छौं मनको आवाजको ढोका बन्द भएर मन, बुद्धि चारैतिर शान्ति छाएको होस्, मन एकाग्र होस्, अनिमात्र आत्माको आवाज सुनिन्छ । साई बाबाका एकजना आत्मज्ञानी अनुयायी थिए मेहर बाबा । यिनी आत्माको आवाज सुन्न आफ्नो जीवनको अन्तिम तीस वर्षसम्म मौन रहे ।

एकचोटि यिनका शिष्यहरूले यिनका लागि एउटा सुन्दर आश्रम बनाए । गृह प्रवेश गर्न जाँदा मेहरबाबा ढोकामै उँभिए र पछि त्यहाँबाट फर्के । शिष्यहरू अचम्भित भए । त्यही राति आगो लागेर आश्रम खरानी भयो । एकपटक उनी युरोपको भ्रमणमा निस्केका थिए । बाटामा तेल भर्न जहाज रोकियो । बाबा आफ्ना शिष्यसहित बाहिर निस्केका थिए । विमान उड्ने बेला भयो, बाबा भित्र जानै मानेनन् । शिष्यहरू अवाक भए तर बाबाको अन्तरमनले जहाज नचढ्न भनिरहेको थियो, उनी चढेनन् र शिष्यहरू पनि चढेनन् । त्यो प्लेन बाटामै दुर्घटनाग्रस्त भएर विमानमा भएका सबैजना मरे ।

अन्तरआत्माको आवाज त्यसबेला सुनिन्छ जुन बेला हाम्रो आत्मबल र आत्मविश्वास दृढ र त्यसमाथि विश्वास हुन्छ । हामीले रोजेको बाटो ठीक छ वा गलत त्यो एकान्तमा बसेर ध्यान गरेर आफ्नो अन्तरआत्मालाई सोधे सही बाटो पहिल्याइन्छ । यदि हामीले समातेको बाटो गलत छ भनेर जान्दाजान्दै हामी गलत बाटोमा जान्छौं भने हामी एकदिन दुर्घटनामा पर्नेछौं ।

हामीले हाम्रो व्यक्तिगत सम्बन्धमा होस् वा देश र जनताको पक्षमा वा हाम्रो समाजको हितको पक्षमा आफ्नो आत्माले भनेको बाटोलाई परित्याग गरी क्षणिक लोभ लालच, क्रोध, इष्र्या, भय आदि कारणले गलत बाटो रोज्यौं वा गलत निर्णय गर्‍यौं भने व्यक्तिगतरूपमा आफूलाई, आफ्नो परिवार मात्र नभएर सिंगो समाज र देशलाई अपूरणीय क्षति हुनेछ । मेहरबाबाले आफ्नो अन्तरआत्माको आवाज नसुनेको भए उनको इहलीला उहिल्यै समाप्त हुनेथियो । उनी आफ्नो पूर्ण आयुसम्म बाँच्न पाउने थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?