आठ वर्षदेखि निर्माणाधीन अवस्थामा विद्यालय भवन

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । आठ वर्ष अघि निर्माण कार्य सुरु गरिएको गुल्मीको मदाने गाउँपालिका-६ पुर्कोटदहको धाराचौर आधारभुत विद्यालयको भवन अहिलेसम्म पनि निर्माणाधीन अवस्थामा छ । साबिक जिल्ला विकास समितिलाई यस विद्यालयका लागि भारतीय दूतावासमार्फत् २०७२ सालमा १६ कोठे भवन निर्माणका लागि योजना परेको हो ।

टेण्डर आव्हानमार्फत प्रवेश शुभनारायण जेभी काठमाडौंले ९९ लाखमा भवन निर्माणको जिम्मा पाएको थियो । निर्माण व्यवसायी दिनेश लामा काठमाडौं बस्ने भएको हुँदा विद्यालय भवन निर्माणप्रति त्यति चासो नदिएको स्थानीयहरूको आरोप छ ।

समय–समयमा आफ्नो प्रतिनिधि पठाएर काम गरेतापनि १५ महिनामा भवन निर्माणको कार्य सक्नुपर्ने सम्झौता थियो । आठ वर्षसम्म पनि निर्माण कार्य सकिएको छैन । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले गतवर्ष निर्माण व्यवसायी लामालाई सम्पर्कमा ल्याएर वैशाखसम्म भवन निर्माणको काम सकेर बुझाउन ताकेता गर्नुभएको थियो ।

अनुगमनका लागि त्यस विद्यालयमा पुग्नुभएका समन्वय प्रमुख खत्रीले अहिलेसम्म पनि भवन निर्माणको काम पुरा नभएको हुँदा बुझाउन नसकेको भन्दै निर्माण कम्पनीका प्रतिनिधिलाई छिटोभन्दा छिटो सबै काम सक्न निर्देशन दिनुभयो ।

अनुगमनमा जिल्ला समन्वय अधिकारी सृजना मिश्र, मदाने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवर, उपाध्यक्ष सरिता खड्का, प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीलगायतको सहभागिता रहेको थियो । उक्त विद्यालयसहित अन्य थुप्रै योजनाहरु वर्षौंदेखि अलपत्र परेको गाउँपालिका अध्यक्ष कुँवरले गुनासो गर्नुभयो ।

निर्माणाधीन विद्यालय भवनलाई सम्पन्न गर्नका लागि समन्वय प्रमुखको भुमिका अत्यन्तै महत्वपूर्ण रहेको बताइएको छ । विद्यालय स्थापनाको ६० वर्षपछि कच्ची भवनबाट पक्की भवन निर्माण भएको छ । सो भवन निर्माणका लागि २०७२ साउन ११ गते सम्झौता भएको विद्यालयका प्रधानाध्यापक विष्णु घिमिरेले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?