बर्दघाटमा गएराति खुकुरी प्रहार गरि फरार अभियुक्त पक्राउ

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा खुकुरी प्रहार गरि फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

बर्दघाट–४ को एक खाजा पसलमा गएराति दुई जनामाथि खुकुरी प्रहार गर्ने अभियुक्तलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो ।

खुकुरी प्रहार गरेकामध्ये एक जनाको मृत्यु भएको छ भने एकको गम्भिर अवस्थामा उपचार भईरहेको छ । हत्या अभियोगमा बर्दघाट २ का ५० वर्षीय ज्ञानेन्द्रबहादुर राना पक्राउ परेको र उनले हत्या गरेको स्वीकार गरेको प्रहरी उपरिक्षक ऋषिराम कंण्डेलले जानकारी दिनुभयो ।

अभियुक्त रानाले पसलधनी ४२ वर्षिय विष्णु कुमारी काउछा र कोठामा बसेका ४६ वर्षीय दीलिपकुमार पुनमाथि टाउकोमा खुकुरी प्रहार गरेर फरार भएका थिए ।

खुकुरी प्रहारबाट गंभिर भएका पुनको उपचारका क्रममा गएरातिनै मृत्यु भएको थियो । मृतक बडीघाट गाउँपालिका–४, बाग्लुङका हुन्। चिन्ताजनक अवस्थामा भैरहवा मेडिकल कलेजमा उपचार भइरहेकी विष्णु पनि बडीघाटबाट बर्दघाट आएकी हुन् । विष्णुका श्रीमान भने बाग्लुङमै छन् । दुई छोराहरु कोरिया र रोमानियामा कामको शिलशिलामा छन् । विगत ४/५ वर्षदेखि विष्णुले एक्लै बर्दघाटमा खाजा पसल सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।

मृतक पुन र विष्णुबीच नाता दाजुबहिनी रहेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?