म्याग्दीमा प्रमुख पदकी एक्ली दलित महिला उम्मेदवार मीना, दुधे बच्चा बोकेर चुनावी मैदानमा

Read Time = 7 mins

ध्रुबसागर शर्मा/हिटा
म्याग्दी । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन केवल ९ दिन मात्र बाँकी रहँदा म्याग्दीमा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरूका विगत र वर्तमानका क्रियाकलाप, उनीहरूको कार्यशैली र राम्रा नराम्रा पक्षहरूको पनि व्यापकरुपमा चर्चा सुरु भएको छ ।
यसैबीच स्थानीय तह चुनावका लागि म्याग्दीमा प्रमुख पदमा एक मात्र दलित महिला उम्मेदवार बन्नुभएकी मीना विश्वकर्मा पनि अहिले सामाजिक सञ्जालमा भाइरल हुनुभएको छ । नेकपा (माओवादी केन्द्र)ले मीना विश्वकर्मालाई रघुगंगा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाएको हो । रघुगंगा–६ की २८ वर्षीय मिना दुधे बच्चा बोकेर चुनावी मैदानमा होमिनुभएको छ । उहाँलाई मतदाताहरूले खुट्टै ढोकेर आर्शिवाद दिएको तस्बिरले अहिले सामाजिक सञ्जाल भरिएको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिका-६ पाखापानीको फुलडाँडाकी गाउँपालिका अध्यक्षका उम्मेदवार विश्वकर्मालाई स्थानीयबासीले खुट्टा ढोगेर बिजयीको शुभकामना दिएका हुन् । अहिले मतदाताले उम्मेदवारलाई हर्षित भएर खुट्टानै ढोगेर बधाई दिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

नेकपा माओवादी केन्द्रको तर्फबाट वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिनुभएकी विश्वकर्मालाई स्थानीय मतदाता र नाताले मामा पर्ने गौबहादुर विश्वकर्माले आफ्नो समुदायबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनेकोमा खुशी भएर खुट्टा ढोगेर बधाई तथा शुभकामना दिनुभएको हो । जन्मथलोबाट चुनाबी अभियान सुरु गर्नुभएकी मीनालाई गाउँलेहरूले हर्षित हुँदै दुर्गम गाउँको दलित महिला पनि गाउँपालिका अध्यक्षको दावि गर्दै नेतृत्वमा पुग्न प्रतिस्पर्धामा उत्रिएको भन्दै खुशीले हर्षविभोर भएर आँसु नै खसालेर खुट्टा समाएर बधाई दिएका थिए ।

विश्वकर्मा रघुगंगामा गाउँपालिका अध्यक्षमा दावि गर्ने एक्ली महिलासमेत हुनुहुन्छ । मतदातालाई प्रभाबमा पार्न उम्मेदवारहरूले अनौठा सपना देखाउने र क्षणिक मानमर्दन गर्ने संस्कार बढीरहेको समयमा मतदाताले उम्मेदवारलाई बधाई दिँदै खुट्टा ढोगेपछि मीनाको आँखाबाट समेत आँसु खसेका थिए ।

नेकपा (माओवादी केन्द्र)को रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारीले स्थानीय तहको प्रमुख पदमा उम्मेदवार बन्ने विक धौलागिरी क्षेत्रकै एकमात्र दलित महिला भएको जानकारी दिनुभयो । ‘म दलित महिला के गाउँपालिकाको अध्यक्ष बन्न सक्दिन र ?,’ मीनाले भन्नुभयो, ‘यो हामी दलित समुदायको लागि अवसरसँगै चुनौति पनि हो । हामी दलित कति दिन अरुको भोट बैंक बन्ने । नेतृत्व गर्ने अवसर पाए गरेर पनि देखाउँछु ।’

गाउँमा आफ्नो पौरख गरेर खानेहरू पनि सत्ता सञ्चालनको हकदार हुने उहाँले बताउनुभयो । चुनाव जितेमा दलित समुदायको उत्थानको साथै अन्य समुदायका गरिब विपन्नको समस्याप्रति ध्यान दिने मीनाको भनाइ छ । मीनाको आत्मविश्वास र साहसबाट प्रभावित भएको माओवादीका गण्डकी प्रदेश सदस्यसमेत रहनुभएका प्रदेश सांसद बिनोद केसीले बताउनुभयो । मीनाले दलित समुदायले भोग्दै आएको विभेद र उत्पीडनको समस्याको बारेमा भावुक शैलीमा अभिव्यक्ति दिँदा भाषण सुन्न आएकाहरूका आँखा रसाउने गर्छन् ।

उत्पीडनको आवाज बोकेर चुनावी मैदानमा उत्रिनुभएकी मीनासँगको प्रतिस्प्रर्धीमा एमालेका प्रेमबहादुर कार्की, नेपाली कांग्रेसका भवबहादुर भण्डारी र स्वतन्त्र उम्मेदवार सागर भण्डारी हुनुहुन्छ । गाउँपालिका उपाध्यक्षमा एमालेले यामकुमारी गर्बुजा, कांग्रेसले प्रेमकुमारी पुन र माओवादीले रिमबहादुर कटुवाललाई उम्मेदवार बनाएका छन् ।

रघुगंगामा निर्वाचित हुने ४२ पदका लागि १३५ जना चुनावी मैदानमा रहेका सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले बताउनुभयो । बेनी नगरपालिका–१० पात्लेखेत माइती हुनुभएकी मीनाको कक्षा १० पढ्दै गर्दा १७ वर्षको उमेरमा मागी विवाह भएको थियो । अनेरास्ववीयु क्रान्तिकारी र वाइसीएलमा आवद्ध मीना विवाहपछि राजनीतिमा निष्क्रिय हुनुहुन्छ ।

गाउँमै खेतीकिसानी गरेर जीविकोपार्जन गर्दै आउनुभएकी मीनाका जेठा छोरा दश वर्षका छन् । तीन वर्षका छोरालाई बोकेर भोट माग्न पहाडी बस्तीको कुना कन्दराका बस्ती चाहरिरहनुभएको छ उहाँले । मीनाका श्रीमान् पनि सँगै चुनाव प्रचार प्रसारमा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
बजार घट्दा पनि नाफा हुने ‘सर्ट सेलिङ’ प्रणाली छिट्टै लागू गर्दैछौँः अध्यक्ष… आउटसोर्सिङको विरोधमा १८ मन्त्रालयका करार कर्मचारी सिंहदरबार अगाडि धर्नामा ‘प्रि-आईपीओ’का नाममा हुने अवैध कारोबारमाथि कारबाही हुन्छ : सेबोन अध्यक्ष डा. भट्ट एआईदेखि साइबर सुरक्षासम्म: टेकपाइलाको लाइभ डेमोले विद्यार्थीमा बढायो आकर्षण अर्जेन्टिना, फुटबलको गौरव र इतिहासको छायाँ रौतहटमा युवकद्वारा आत्मदाह प्रयास पर्याप्त वर्षापछि किसान खेतमा, गगटेमा रोपाइँले समात्यो गति (तस्बिरहरू) प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो