काठमाडौं महानगरका उम्मेदवार : प्रतिस्पर्धीमाथि आपत्तिजनक टिप्पणी गर्नेदेखि भ्रमपूर्ण प्रचार गर्नेसम्म

Read Time = 11 mins

डिबी शर्मा/हिटा
काठमाडौं । स्थानीय तहको निर्वाचन आउन अब नौ दिन मात्रै बाँकी छ । वैशाख ३० गते हुने निर्वाचनमा निर्वाचित हुन उम्मेदवारहरूको दौडधुप निकै बढेको छ । उनीहरू मतदातालाई मनाउन घर-घर पुगिरहेका छन् । मतदाता आफ्नो पक्षमा तान्न अनेक एजेण्डा र आश्वासनका पोका बोकेर थरिथरिका उम्मेदवारहरू घरदैलोमा पुगिरहेका छन् । दलका र स्वतन्त्र गरी दुईथरि उम्मेदवार चुनावी मैदानमा छन् । सबैका आ-आफ्ने दाबी छन् । सबै आफ्ना एजेण्डा आफू सक्षम र योग्य उम्मेदवार भन्दै मतदाता फकाइरहेका छन् । स्वतन्त्र बाहेकका दलका उम्मेदवार अधिकांश ठाउँमा गठबन्धन गरेर निर्वाचनमा होमिएका छन् । सत्ता गठबन्धनमा आबद्ध पाँच दलको एउटा गठबन्धन छ । उनीहरूले अधिकांश ठाउँमा गठबन्धन गरेर साझा उम्मेदवार उठाएका छन् । अर्कोतिर नेकपा एमाले गठबन्धनविरुद्ध मैदानमा छ । अधिकांश ठाउँमा एक्लै मैदान उत्रिएको एमालेले पनि कतिपय ठाउँमा भने कमल थापाको राप्रपा नेपाललगायत दलसँग गठबन्धन गरेको छ ।

काठमाडौंमा गठबन्धन भर्सेस एमाले, श्रेष्ठ, शाह र बाँस्कोटा दुवैमाथि भारी
काठमाडौं महानगरपालिकामा नेतृत्व हात पार्न दलका र स्वतन्त्र उम्मेदवारहरू दौडधुपमा छन् । मुलुकको राजधानीमा कसले बाजी मार्ला भन्ने चासो स्वाभाविक पनि हो । काठमाडौं महानगरमा सत्ता गठबन्धन पाँच दलले साझा उम्मेदवार बनाएका छन् । पाँच दलका तर्फबाट मेयरमा कांग्रेसका सिर्जना सिंह चुनावी मैदानमा हुनुहुन्छ । उपमेयर नेकपा (एकीकृत समाजवादी)ले पाएको छ । समाजवादीबाट राजेन्द्र श्रेष्ठ मैदानमा हुनुहुन्छ । विभिन्न वडामा उनीहरूले भागबण्डा गरेका छन् । गठबन्धनका उम्मेदवारलाई टक्कर दिन एमालेले केशव स्थापितलाई उम्मेदवार बनाएको छ । एकलरूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएको एमालेबाट सुनिता डंगोल उपमेयर उम्मेदवार हुनुहुन्छ ।

गठबन्धन र एमालेका गरी महानगरमा मेयरमा मात्रै ३० बढीले उम्मेदवारी दिएका छन् । अधिकांश उम्मेदवार चर्चामा नरहे पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार मदनदास श्रेष्ठ, विवेकशील साझा पार्टीका उम्मेदवार समीक्षा बाँस्कोटा र स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) चर्चामै छन् । सत्ता गठबन्धन र एमालेबीचको प्रतिस्पर्धामा श्रेष्ठ, बाँस्कोटा र बालेन तगारो बनेका छन् । विवेकशीलका उम्मेदवारको गत निर्वाचनमा पनि निकै चर्चा भएको थियो । तर, नतिजा विजयी उम्मेदवारभन्दा निकै तल आएको थियो । यसपटक विवेकशील झन् विभाजित छ । स्वतन्त्र उम्मेदवार बालेन सामाजिक सञ्जालमा निकै छाउनुभएको छ भने राप्रपाका श्रेष्ठको पनि आफ्नै अभियान छ । चुनावी परिणाम जेजस्तो आए पनि अहिलेलाई श्रेष्ठ, बालेन र समीक्षालाई हल्का रूपमा लिने अवस्था छैन ।

एमाले उम्मेदवारका ‘अराजक अभिव्यक्ति’
चुनाव एजेण्डा र प्रतिबद्धताले जितिन्छ । मुद्दा मन परेका उम्मेदवारलाई मतदाताले मत दिन्छन् । तर, नेपालको सन्दर्भमा चुनावमा देखिने दृश्य भने भिन्न छन् । विगतदेखि नै उम्मेदवारले गर्न गर्न बाँकी प्रतिबद्धता केही बाँकी राखेका छैनन् । मोनो रेलदेखि मेट्रोसम्मका सपना विगतमै बाँडिए । सक्ने/नसक्ने मुद्दालाई उम्मेदवारले चुनावी एजेण्डा बनाउँदै आएका छन् । जब एजेण्डा सकिन्छन्, तब उम्मेदवारहरू व्यक्तिगत आरोप–प्रत्यारोपमा उत्रिन्छन् । यसमा एमालेका उम्मेदवार अग्र पंक्तिमा देखिएका छन् । उम्मेदवार बन्दैदेखि पुरानो एउटा आरोपले विवादमा पर्नुभएका एमाले महानगरका एमाले मेयरका उम्मेदवार केशव स्थापित आफ्नै अभिव्यक्तिका कारण पटक-पटक विवादमा पर्नुभएको छ । एकपटक होइन पटक-पटक विवादित अभिव्यक्ति दिएर उहाँ विवादमा परिरहनुहुन्छ । केही दिनअघि काठमाडौंमा भएको एक कार्यक्रममा एक महिलामाथि गरेको टिप्पणीले उहाँ निकै आलोचित हुनुभयो । ‘मी टु’ आरोप बारेको प्रश्नमा स्थापितले ‘अराजक अभिव्यक्ति’ दिनुभएको थियो । ‘म जत्तिको मान्छेलाई आरोप लगाइयो । आरोप लगाउनेसँग प्रमाण हुनुपर्छ,’ स्थापितले प्रश्न गर्ने युवा विद्यार्थीमाथि खनिँदै भन्नुभएको थियो, ‘यू आर नाइस लेडी तर तपाईंको थुतुनो ठिक छैन ।’ स्थापितको उक्त अभिव्यक्तिको निकै आलोचना मात्रै भएन । निर्वाचन आयोगलेसमेत स्पष्टीकरण सोध्नुप¥यो । उहाँले त्यसपछि पनि विवादित अभिव्यक्ति दिन छोड्नुभएन ।

स्वतन्त्र उम्मेदवार बालेनमाथि पनि अराजनीतिक टिप्पणी गर्नुभयो । बालेनलाई ठगको संज्ञा दिनुभयो । क्षेत्रीयताका आधारमा समेत व्यक्तिगत टिप्पणी गर्नुभयो । जुन निर्वाचन आचारसंहिता विपरीतसमेत हो । विवादित अभिव्यक्ति दिनेमा एमालेकै उपमेयरका उम्मेदवार सुुनिता डंगोल पनि अरू उम्मेदवारभन्दा एककदम अगाडि देखिनुहुन्छ । उहाँका अभिव्यक्ति स्थापितको दाँजोमा हल्का भए पनि व्यक्तिगत आरोप-प्रत्यारोपमा उत्रिएको देखिन्छ । एक कार्यक्रममा उहाँले स्वतन्त्र उम्मेदवार बालेनमाथि र्‍यापर भन्दै हल्का टिप्पणी गर्नुभयो ।

स्वतन्त्र उम्मेदवार बालेन लक्षित उहाँको टिप्पणी थियो, ‘हामीले चुनाव जितेपछि कलाकारहरूलाई, अहिले त कस्तो-कस्तो गीत गाउन ¥यापरहरूलाई नाच्न र गाउन लगाउने हो । उहाँहरूको कला प्रस्फुटन गर्ने मञ्च बनाइदिन्छौँ ।’ सुनिताको उक्त अभिव्यक्तिको निकै आलोचना भयो । उसो त चुनावमा अनेक हत्कण्डा प्रयोग हुन्छन् । जसको सिकार स्वयं डंगोलसमेत हुनुभयो । काठमाडौं महानगरमा नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्दै विज्ञको जागिर खाएको आरोपमा अख्तियारमा उजुरी परेको आरोप डंगोलमाथि लाग्यो । जुन हालसम्म आधिकारिक रूपमा पुष्टि हुन सकेको छैन ।

गठबन्धनको उम्मेदवार मौन, बालेन र समीक्षा सञ्जालमै सक्रिय
एमाले उम्मेदवारले जथाभावी अभिव्यक्ति दिइरहँदा गठबन्धनका उम्मदेवार भने मौनजस्तै छन् । कांग्रेसबाट मेयरका उम्मदेवार सिर्जना सिंह सार्वजनिक कार्यक्रममा पनि कम देखिनुहुन्छ । देखिएका कार्यक्रममा पनि उहाँले नापतौल गरेर बोल्नुहुन्छ । प्रायः पुरानै कुरा दोहोरिन्छन् । यसले उहाँ वाककलामा कमजोर रहेको देखाउँछ । गठबन्धनकै साझा उममेयरका उम्मेदवार राजेन्द्र श्रेष्ठ त गुमनाम जस्तै हुनुहुन्छ । उहाँ सार्वजनिक मञ्चमासमेत खासै देखिनुभएको छैन । गठबन्धनका उम्मेदवार मौनजस्तै बसिरहँदा स्वतन्त्र उम्मेदवार बालेन र विवेकशीलका मेयर उम्मेदवार समीक्षा भने सामाजिक सञ्जालमा छाउनुभएको छ । उहाँहरूले प्रचारदेखि प्रतिबद्धतासम्म सञ्जालमै पोष्ट्याउने गर्नुहुन्छ । बालेनको चुनाव चिन्ह लौरो हो । उहाँ लौरो बोकेर प्रचारमा हुनुहुन्छ । लौरो देखाएर उहाँ सञ्जालमै रमाउनुभएको छ । विभिन्न क्षेत्रमा घरदैलोसमेत गरिरहेका दुवैले सञ्जालमा निकै चर्चा कमाएका छन् । सञ्जालमै रमाएका छन् ।

यता, राप्रपाका मदनदास श्रेष्ठ पनि आफ्नै गतिमा घरदैलो अभियानमा हुनुहुन्छ । उहाँले काठमाडौंलाई कान्तिपुर नगर बनाउँछु भन्दै मत माग्दै घरदैलो अभियानमा लाग्नुभएको छ । आफ्ना विभिन्न प्रतिबद्धतासहित उहाँ घरघरमा पुग्नुभएको छ ।

सधैँका निर्वाचनमा पृथक् मत प्रवाह दर्शाउने काठमाडौं महानगरपालिका यसपटक कस्तो मत दिन्छ ? त्यो सबैले चासोका साथ हेरेका छन् ।
काठमाडौं महानगरपालिकामा १६२ पदको लागि ८५९ जनाको उम्मेदवारी परेको छ । प्रमुखमा ५६, उपप्रमुखमा ३३ र वडा अध्यक्ष पदका लागि २२१ जनाले उम्मेदवारी दिएका छन् । महानगरपालिकाको नेतृत्व लिन ५६ जना मैदानमा भए पनि प्रतिस्पर्धा मुख्य प्रतिस्पर्धा एमालेको तर्फबाट उम्मेदवारी दिनुभएका स्थापित र सत्ता गठबन्धनकी सिर्जना सिंहबीच हुनेछ भने राप्रपाका श्रेष्ठ, स्वतन्त्र उम्मेदवार शाह र विवेकशील साझाकी बाँस्कोटालाई पनि कम आँक्न भने मिल्दैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?