संविधान संशोधन, जनमत संग्रह वा निर्वाचन जुनसुकै विधिबाट भएपनि सरकारको नेतृत्व गर्न तयार छु : विप्लव

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले ५ वर्ष सरकारको नेतृत्व गर्न दिन दलहरुसंग आग्रह गर्नु भएको छ । आफूले सरकारको नेतृत्व गर्न पाए देशमा धेरै परिवर्तन गर्नसक्ने उहाँको दावी छ ।

शनिबार पार्टीले राजनीतिक दल र संघसंस्थासँग गरेको अन्तरक्रियामा उहाँले संविधान संशोधन, जनमत संग्रह वा निर्वाचन जुनसुकै विधिबाट आफू सरकारको नेतृत्व गर्न तयार रहेको बताउनु हाे।

जनमत संग्रह, निर्वाचन वा संविधान संशोधन जेबाट भएपनि जनताबाट चुनिएर सरकारको नेतृत्वमा जाने कुरामा आफ्नो विमति नरहेको तर त्यसो गर्दा देशमा स्थिरता हुनुपर्ने अनि किसान र मजदुर वर्गको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने  उहाँले बताउनु भयो ।

‘एकपटक सरकारको नेतृत्वमा पुगेर गोरु झैं जोतिएर ५ वर्ष काम गरी देशलाई परिवर्तन गर्ने असाध्यै हुटहुटी छ’ उहाँले भन्नुभयाे ।  उहाँले अन्य दलहरुसंग एकपटक आफूलाई सरकारको नेतृत्व दिन आग्रह समेत गर्नुभयो ।

२० औं शताब्दीको वैज्ञानिक समाजवाद पूर्णरुपले सफल हुन नसकेकाले नेपाली विशेषताको समाजवादी व्यवस्थामा जानुपर्ने आफ्नो पार्टीको स्पष्ट लाइन रहेको चन्दले खुलाउनु भयो ।

दलाल पुँजीवाद र साम्राज्यवादको हस्तक्षेपले मुलुको राष्ट्रिय स्वाधीनता र अर्थतन्त्र परनिर्भर भएकाले देशलाई स्वाधीनता र आत्मनिर्भर बनाउन नेपाली विशेषताको समाजवादमा सबै दलको सहमति हुनुपर्ने उहाँले आग्रह गर्नु भयोे । सबैजसो दलहरुले कुनै न कुनै समाजवाद भनिरहेका तर देशलाई निकास दिने नेपाली विशेषताको समाजवाद नै भएको उहाँको जिकिर थियाे ।

दलाल पूँजीवाद र साम्राज्यवाद देशको मुख्य दुश्मन भएको भन्दै उहले नेपालको प्राकृतिक स्रोत,राष्ट्रिय पुंजी र सम्पदामाथि हमला भइरहेको बताउनु भयो । चर्को बैंक ब्याजदर, लघु वित्त र सहकारी ठगीका श्रृंखलावद्ध घटनाहरु दलाल पुँजीवादकै कारण भएको उहाँले तर्क गर्नु भयो ।

अहिलेको व्यवस्थामा अदालत, अख्तियार र सुरक्षा निकाय समेत भ्रष्टाचारमा डुबेको थुप्रै उदाहरण देखिएको र यसको कारण दलाल पुँजीवाद नै भएको उहाँको तर्क छ ।

स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रबारे दलहरुको सुस्पष्ट नीति नहुँदा युवा जनशक्तिको विदेश पलायन शहरदेखि गाउँसम्म डरलाग्दो गरी फैलिएको उहाँले औंल्याउनु भयो ।

युवा शक्तिले मुलुकमा सुशासन र विधिको शासन खोज्छन्, देश परिवर्तनमा साथ दिन्छन् भनेर योजनाबद्ध ढंगले उनीहरुलाई विदेश पलायन हुने अवस्था सिर्जना गरिएको चन्दको दावी छ ।

माओवादी सहित सबैजसो दलका नेताहरुमा श्रम संस्कारबाट च्युत भएको भन्दै विदेशमा पुगेर गर्ने जस्तो मेहनत र श्रम देशमै गरे मात्रै मुलुक बन्ने बताउनु भयो । उहाँले मन्त्रीहरुको सम्पत्ति राष्ट्रियकरण गर्नसके त्यसले समाजवादको आधार खडा गर्ने र नागरिकमा धेरै धन थुपार्ने लोभ कम हुने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?