आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटको तयारी अन्तिम चरणमा : प्रधानमन्त्री दाहाल

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको कामलाई अन्तिम चरणमा पुर्‍याएको बताउनु भएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औं स्थापना दिवसको अवसरमा अवसरमा आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले आगामी आर्थिक वर्षको नीति र कार्यक्रम निर्माणको अन्तिम तयारीमा जुटेको र बजेट वक्तव्यको तयारी पनि अन्तिम चरणमा पुर्‍याएको बताउनुभएको हो ।

प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका मागहरु सम्बोधन गर्ने आश्वासन दिनुभयो । उहाँले आम नागरिकलाई गुणस्तरीय सेवा पुर्‍याउने राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न पनि सो प्रतिष्ठान सफल हुने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालले वीर अस्पताललाई आम नागरिकको आशा र भरोसा केन्द्र बनाउन आवश्यक चिकित्सकीय जनशक्ति, उपकरण तथा बजेटको व्यवस्थामा सरकारले प्राथमिकता दिने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको संविधानले स्वास्थ्यको हकलाई जनताको मौलिक हकको रुपमा प्रत्याभुत गरेको अवस्थामा आम नागरिकलाई गुणस्तरीय सेवा पुर्‍याउन राज्यको प्रमुख भुमिका हुनेतर्फ प्रतिष्ठानको भुमिका महत्वपूर्ण रहनेछ । प्रतिष्ठानले आफ्नो कार्यलाई अझ बढी निरन्तरता दिने, क्षमता बढाउने र उच्चस्तरीय अध्ययन र अनुसन्धानलाई विशेष ध्यान दिई राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने छ भन्ने मैले विश्वास लिएको छु । यतिबेला सरकार अर्को वर्षको नीति, कार्यक्रम र बजेटको अन्तिम तयारीमा जुटिरहेको छ । त्यसैगरी बजेट वक्तव्यको तयारी पनि अन्तिम चरणमा गएको छ । यस्तो बेलामा यो चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औं स्थापना दिवस सम्पन्न हुँदैछ । म के विश्वास दिलाउन चाहन्छु भने तपाईहरुले यो पटक यहाँ उठाउनुभएको कयौं कुराहरु नीति, कार्यक्रम र बजेटमा सम्बोधन गरिनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’

प्रधानमन्त्री दाहालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अध्ययन र अनुसन्धानलाई विशेष ध्यान दिई स्वास्थ्य क्षेत्रको आवश्यकता सम्बोधन गर्न पनि उल्लेखनीय योगदान पुर्‍याउने सरकारको अपेक्षा रहेको बताउनु भयो । वीर अस्पताललाई आम नागरिकको आशा र भरोसाको केन्द्र बनाउन आवश्यक चिकित्सकीय जनशक्ति, उपकरण तथा बजेटको व्यवस्थामा सरकारले प्राथमिकता दिने बताउनु भयो । देशलाई आवश्यक MBBS लगायतका दक्ष जनशक्ति उत्पादन गर्न चिकित्सा विज्ञान राष्‍ट्रिय प्रतिष्‍ठानबाट आगामी आर्थिक वर्षमा भरतपुर अस्पताल र वीर अस्पतालमा उक्त कार्यक्रम शुरू गरिने जानकारी दिनुभयो ।

साथै वीर अस्पतालको बिस्तारका लागि बनाइएको दुवाकोटको १५ सय बेडसहितको अस्पताल बनाउने गुरूयोजनामा पहिलो चरणको ५ सय बेडको अस्पताल र मेडिकल कलेजको निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने बताउनु भयो । चिकित्सा विज्ञान राष्‍ट्रिय प्रतिष्‍ठानलाई स्वदेशी तथा विदेशी शैक्षिक निकायसँग समन्वय र सहकार्य गरी समयानुकुल बनाउँदै स्तरोन्नति गरी अन्तर्राष्‍ट्रियस्तरको बनाइने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?