प्रेस स्वतन्त्रता हननका घटनाहरूको संख्यामा वृद्धि

Read Time = 4 mins

काठमाडौं । प्रेस स्वतन्त्रता हननका घटनाहरूको संख्यामा वृद्धि भएको छ । नेपाल पत्रकार महासंघले मंगलबार सार्वजनिक गरेको ‘प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन’मा प्रेस स्वतन्त्रता हननका घटनाहरूको संख्यामा वृद्धि भएको देखिएको हो । ‘गत वर्षको तुलनामा यस वर्ष प्रेस स्वतन्त्रता हननका घटनाहरूको संख्यामा वृद्धि भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघ प्रेस स्वतन्त्रता अनुगमन इकाइमा यस वर्ष विभिन्न प्रकृतिका ७५ वटा घटना दर्ता भएका छन् जसमध्ये सबैभन्दा बढी पेसागत असुरक्षासम्बन्धी घटनाहरू रहेका छन् ।’

गतवर्ष यसै अवधिमा जम्मा ४५ वटा घटना रेकर्ड भएका थिए । यस वर्ष दर्ता भएका ७५ वटा घटनामा २८१ पत्रकार तथा सञ्चारगृहहरू प्रभावित भएको महासंघले जनाएको छ । सबैभन्दा बढी घटना बागमती प्रदेशमा देखिएको छ ।

‘लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रले भोग्दै आएको मुख्य समस्या श्रमजीवी पत्रकारहरूको पेसागत अधिकारसम्बन्धी समस्या हो । २८ वर्षपश्चात् पनि धेरैजसो सञ्चारगृहहरूले श्रमजीवी पत्रकार ऐन, २०५१ को पूर्ण कार्यान्वयन गरेका छैनन् जसकारण पत्रकारहरूले न्यून पारिश्रमिक पाउने, समयमा पारिश्रमिक नपाउने, अनायासै निष्कासनमा पर्ने, नियुक्तिपत्र नै नपाउने जस्ता समस्याहरू अझै पनि यथावत छन्,’ प्रतिवेदनमा भनिएको छ ।

पछिल्लो एक वर्षमा नेपालमा पत्रकार हत्या तथा बेपत्ताका घटना नभएका प्रतिवेदनमा उल्लेख गरिएको छ । तर, पत्रकार गिरफ्तारका तीनवटा घटना भएको जनाइएको छ । त्यस्तै, स्वतन्त्र पत्रकारितामा अवरोध तथा कब्जाका नौवटा घटना भएका छन् । पत्रकारमाथि आक्रमणको एक, दुव्र्यवहार तथा धम्कीका २८ वटा घटना भएका छन् भने पेसागत असुरक्षाका ३१ घटना दर्ता भएका छन् । ‘यस वर्ष प्रेस स्वतन्त्रता उल्लंघनका सबैभन्दा धेरै घटनाहरू बागमती प्रदेशमा भए भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा,’ प्रतिवेदनमा उल्लेख छ ।
महासंघ प्रेस स्वतन्त्रता अनुगमन इकाइको रेकर्डका अनुसार बागमती प्रदेशमा ५४ वटा यस्ता घटना भएका थिए भने सुदूरपश्चिम प्रदेशमा कुनै पनि घटना रेकर्ड गरिएन । त्यसैगरी, प्रदेश नं १ मा ६, मधेश प्रदेशमा ६, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा दुई र कर्णाली प्रदेशमा पाँचवटा घटना भएका थिए । यस अवधिमा २३९ पुरुष पत्रकार, ३३ महिला पत्रकार र नौवटा सञ्चार संस्थाहरू प्रेस स्वतन्त्रता उल्लंघनका घटनाबाट प्रताडित भएको प्रतिवेदनमा जनाइएको छ ।

घटनाको प्रकृतिका आधारमा हेर्दा यस वर्ष सबैभन्दा बढी पत्रकारहरूको पेसागत सुरक्षाका घटनाहरू बढी देखिएका छन् । पेसागत असुरक्षाका घटनाहरूमा मुख्य रूपमा कोरोना महामारीको बहानामा पत्रकारहरूलाई रोजगारीबाट हटाइएका वा तलब सुविधा उपलब्ध नगराइएका घटनाहरू मुख्य छन् । ‘पेसागत असुरक्षाका ३१ वटा घटनामा १८६ पत्रकारहरू पीडित भएका थिए । त्यसैगरी, पत्रकारहरूमाथि दुव्र्यवहार वा धम्कीका २८ घटनाहरू रेकर्ड भएका छन् भने कब्जा वा अवरोधका नौवटा घटना रेकर्ड भएका छन्,’ महासंघले प्रतिवेदनमा भनेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?