दिक्तेलमा गठबन्धन भर्सेस एमाले, यस्तो छ अंक गणित

Read Time = 5 mins

चिसाङ शेर्पा/हिटा
खोटाङ । ३४ हजार ७८ मतदाता रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा चार दलीय गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एस) र एमालेले चुनावी प्रतिस्पर्धा गर्दैछन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धन र एमालेका मेयर/उपमेयरका उम्मेदवारहरू यतिबेला घरदैलो कार्यक्रममा भोट माग्दै छन् ।

दिक्तेलको मेयरका निम्ति गठबन्धनबाट कांग्रेसका जिल्ला उपसभापति तीर्थराज भट्टराई र उपमेयरका लागि माओवादी केन्द्र दिक्तेल नगर कमिटी अध्यक्ष बिसन राई तथा एमालेबाट मेयरमा पार्टी सचिव कुमार आचार्य र उपमेयरमा पार्टीका सचिवालय सदस्य तथा दिक्तेलको निवर्तमान उपमेयर विणादेवी राई चुनावी मैदानमा हुनुहुन्छ ।

नगरपालिकाभित्र गठबन्धनको क्रियाशील/संगठित सदस्य संख्या पाँच हजार ५८३ जना छ । यस नगरभित्र नेपाली कांग्रेसको क्रियाशील सदस्य संख्या एक हजार ८००, नेकपा माओवादी केन्द्रको संगठित सदस्य संख्या एक हजार ६००, नेकपा एकीकृत समाजवादीको संगठित सदस्य संख्या एक हजार ७८३ र जनता समाजवादी पार्टीको सदस्य संख्या ४०० हुँदा एमालेको नगरभित्र संगठित सदस्य संख्या तीन हजार ५०० मात्रै छ ।

नगरभित्र एमालेभन्दा गठबन्धनसँग क्रियाशील/संगठित सदस्य संख्या दुई हजार ८३ जना बढी छ । गठबन्धन र एमालेको क्रियाशील/संगठित सदस्यलाई हेर्दा मात्रै पनि नगरपालिकामा गठबन्धनको जित निश्चित रहेको गठबन्धनका नेता दाबी गर्छन् ।

दिक्तेलमा गठबन्धनको जित निश्चित रहेको गठबन्धन घटक दलका नेता तथा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष टंक थापाले बताउनुभयो । गठबन्धनमा आबद्ध सबैले इमान्दारपूर्वक भोट हालेमा १५/१६ हजार हाराहारीमा मेयर उपमेयरलाई भोट आउँछ । कांग्रेस, माओवादी र जसपाको भोट गठबन्धनलाई छ । थापाले भन्नुभयो, ‘नेकपा एसको भोट गठबन्धनमा थपिनु भनेको एमालेको भोट घट्नु हो ।’
जनता एमालेको पक्षमा भएकाले गठबन्धनलाई हिजोभन्दा भारी मतले र हिजो नजितेका वडा जितेर एमालेले भारी मतका साथमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा जित निकाल्ने एमाले अध्यक्ष रामप्रसाद दंगालले दाबी गर्नुभयो । गठबन्धन नेताहरूको मात्रै भएको जनताको गठबन्धन नभएको दंगालको तर्क छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा दिक्तेलमा कांग्रेसले मेयरमा चार हजार ७१८ र उपमेयरमा चार हजार १६८, माओवादी केन्द्रले मेयरमा चार हजार ४३४, उपमेयरमा चार हजार ६२७ र जसपाले मेयरमा ८००, उपमेयरमा एक हजार मत ल्याएको थियो । एमालेले मेयरमा पाँच हजार ३४३ र उपमेयरमा पाँच हजार ३६७ मत ल्याउँदै नगरपालिकामा जित निकालेको थियो ।

तर, अहिले गठबन्धनमा आबद्ध तीन दल कांग्रेस, माओवादी र जसपाको मात्रै २०७४ को स्थानीय तह निर्वाचनमा जति मत आए एमालेभन्दा गठबन्धनका मेयर चार हजार ६०९ र उपमेयर चार हजार ४२८ भोटले अघि हुनेछ । नगरभित्र नेकपा एसको भोट दुई हजार ७४१ रहेको नेकपा एसका अध्यक्ष जलसेर राईले बताउनुभयो । एसको भोट पनि गठबन्धनका मेयर/उपमेयरलाई नै जानेछ ।

योपटक कांग्रेस, माओवादी, जसपामा भोट वृद्धि भएको पार्टीहरूको धारणा छ । नेकपा एसले एमालेको आधा भोट कटाउँदा गठबन्धनले नजित्ने त कल्पना नै गर्न नसकिने नेकपा एसका अध्यक्ष राईको जिकिर छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?