क्विन्टल सुन तस्करी प्रकरणको छानबिनमा भइरहेको आलटालले सरकारको संलग्नता पुष्टि हुँदैछ : एमाले

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा एमालेले क्विन्टल सुन तस्करी प्रकरणको छानबिनमा भइरहेको आलटालले सरकारको संलग्नता पुष्टि हुँदै गएको बताएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उच्चस्तरीय समिति बनाउन आलटाल गर्नुले त्यही संकेत गरेको निष्कर्ष सुनाएको हो।

बैठक पछि एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले छानबिनमा भइरहेको विलम्बले प्रमाण नष्ट हुँदै गएको र अनुसन्धानसमेत फितलो बन्दै गएको बताउनु भयो । उहाँले भन्नुभयो ‘साउन २ गते बरामद भएको एक क्विन्टल प्रकरण र यससँग जोडिएको अनेकौं तथ्यहरू यसले मुलुकको राजनीति र अर्थतन्त्रलाई अप्ठ्यारो ठाउँतिर धकेल्दै छ, यो विषय छानबिनका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ समिति बन्नु अनिवार्य छ। जतिजति ढिला हुँदैछ। त्यतित्यति प्रमाणहरू नष्ट हुने खतरा छ। हामीले सुनिरहेका छौं, सिआइबीले गोदामहरू खानतलासी गर्छ, सुन पगाल्ने कारखाना भेटिन्छ, मानिसहरू फरार भएका छन्। विदेश पुगेका छन्। प्रमाणहरू नष्ट हुँदैछन्। यसकारण उच्चस्तरीय समिति बनाएर जरैसम्म पुगेर यो विषयलाई निर्मूल गरिनुपर्छ । ’

साथै उहाँले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्ने सांसदलाई प्रतिशोध साँधेर पक्राउ गरिएको बताउनु भयो ।

सरकारले प्रतिपक्षको आवाजलाई दबाउन खोजिरहेको बताउँदै उहाँले उच्चस्तरीय छानबिन हुनुपर्छ, र यसमा संलग्न मन्त्रीहरूले राजीनामा दिनुपर्छ भनेर आवाज उठाउने सांसदलाई समेत थुनामा राख्ने, तर्साउने क्रियाकलाप गरिरहेको बताउनु भयो ।

उहाँले जति समय बित्दैछ त्यति सरकारको संलग्नता प्रष्टिँदै गएको बताउनु भयो । ‘सीआईबीले अनुसन्धानमा देखिएका नामलाई सरकारी वकिलले हटाएर छानबिनको दायरामा नल्याउने काम भएको छ यसले गम्भीर आशंका पैदा भएको छ । ' ज्ञवालीले भन्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?