विरोधीले उकासेको भरमा नेता कार्यकर्ताले अधैर्यता राख्ने काम गर्नु हुँदैन : केपी ओली

Read Time = 11 mins

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा टिकट पाईन भनेर असन्तुष्ट नहुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।

सिंगो पार्टी एकतावद्ध भएर लाग्ने हो भने आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले हार्ने स्थिति नरहेको जिकीर गर्दै अध्यक्ष ओलीले त्यसका लागि एकजुट भएर निर्वाचनको काममा केन्द्रित हुन सिंगो पार्टी पंक्तिलाई सचेत गराउनु भयो ।
पार्टी पंक्ति एकजुट भएर निर्वाचनमा नजाने हो भने त्यसले आगामी निर्वाचनमा पार्टीलाई ठूलो घाटा बनाउने उहाँको भनाई थियो । नेकपा (एमाले) पर्सा जिल्ला कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले उम्मेदवार हुनेले जित्नका लागि काम गर्ने र उम्मेदवार नपाउनेले जिताउनका लागि लागेमात्रै पार्टीको हित हुने पनि पटकपटक दोहो-याउनु भयो । उम्मेदवार नपाउनेहरु असन्तुष्ट भए त्यसले पार्टीलाई ठूलो घाटामा पु-याउने उल्लेख गर्दै उहाँले उम्मेदवार नपाएहरुलाई पार्टीले सरकार बनाए, बहुमत ल्याए काम गर्नका लागि थुप्र्रै ठाउँहरु हुने पनि स्पष्ट पार्नु भयो ।

ओलीले पार्टीका कुनै पनि नेता, कार्यकर्ताले विरोधीले उकासेको भरमा अधैर्यता राख्ने काम गर्न नहुने बताउनु भयो । उहाँले आगामी निर्वाचनमा मतदाताको संख्या बढाउने र मतको रक्षा गर्ने काममा एमाले केन्द्रित हुनुपर्ने पनि बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नु भयो, ‘अहिले हाम्रो विरुद्ध सम्पूर्ण विरोधीहरु एकजुट भएर लागिराख्या छन । यस्तो अवस्थामा उनीहरुले हाम्रो विरुद्धमा भ्रम फिजाउन खोजिरहेका छन । हाम्रा विरुद्ध फाटो ल्याउन खोज्छन । हाम्रा विरुद्ध मानिसहरुलाई उचाल्न खोज्छन । कोही पनि साथीहरु पार्टीको विरुद्ध उचालिनु, अधैर्यता राख्नु हुँदैन । एउटा निर्वाचन क्षेत्रमा एक जना उम्मेदवार हुन्छ । प्रदेश क्षेत्र पनि १÷१ जना उम्मेदवार हुन्छ । त्यत्तिनै हो उम्मेदवार हुने । जो उम्मेदवार हुन्छ, उम्मेदवार हुने साथी जित्नका लागि काम गर्नुस् । जो उम्मेदवार हुनुहुन्न, उम्मेदवार नभएका साथी जिताउनका लागि काम गर्नुस् । उम्मेदवार पाईन भनेर असन्तुष्ट हुने हो भने एक जनाले उम्मेदवारी पाउँछ, बाँकि अरु त असन्तुष्ट हुने भए । त्यसकारण उम्मेदवार नपाएर असन्तुष्ट हुने काम, त्यसले हामीलाई ठूलो घाटा पु¥याउँछ । हामीले जित्यौ भने, सरकार बनायौं भने थुप्र्रै ठाउँहरु निस्कन्छन । हामी एकजुट भयौं भने हामी जहाँ पनि जित्न सक्छौं । एकजुट भएन जित्न सक्ने हो । जति एकजुट छौं, त्यत्ति बलियो छांै । जति विभाजित हुन्छौं, त्यति कमजोर हुन्छौं । त्यसकारण एकजुट हुनुपर्छ । एकजुट भयौं भने तराई मधेशका कुनै पनि क्षेत्रमा एमालेले नजित्ने खालको क्षेत्र छैन । तर त्यहाँ हाम्रो भित्र पनि समस्या छ । अव निर्वाचन आउँदैछ । यसमा अनेक प्रकारणका हत्कण्डा उनीहरुले प्रयोग गर्न सक्छन । हामीले ती सबै हत्कण्डालाई पराजित गर्नेगरी मतदाता संख्या बढाउने र मत रक्षा गर्ने । यो दुईटा कुरामा ध्यान दिनुस् । महिला दिदीबहिनीहरुमा अघि सघन ढंगले काम लगाउनुस् । आजको प्रवेश हेर्दा पुरुषमा अघि बढि काम भएको देखिन्छ, महिलामा अलि कम काम भएको हो कि भन्ने देखिन्छ । महिलाहरुमा काम लिएर जानुहोस् । राजनीति महिलाहरुमा लिएर जानुहोस् । अनि बल्ल समाज जाग्छ । त्यसकारण म साथीहरुलाई आग्रह गर्न चाहन्छु–युवाहरुमा काम लिएर जानुस् । आज पनि थोरै मात्रै युवाहरु प्रवेश गर्नु भएको छ । ती युवाहरुलाई प्रवेश गराउनेतिर जानुस् । र, टोलटोलमा संगठन, घरघरमा सदस्य अखिल नेपाल महिला संघले यो गर्नुपर्छ । युवा संघले त्यो गर्नु पर्दछ । किसान संघले त्यो गर्नु पर्दछ । र, अरु विभिन्न संगठनले पनि जहाँजहाँ हुन सक्दछ, टोलटोलमा संगठन, घरघरमा सदस्य त्यो अभियान हामीले जान सक्यौ भने मात्रै काम हुन सक्छ । माथिमाथि हामीले कुरा ग¥यौं तर तल जनताको बीचमा, आम जनताको बीचमा गएनौं भने, हामी अनावश्यक कुरामा कन्सस भयौं भने, केही पनि फुत्किदैन काम ग¥यौं भने । मजाले काम गर्नुपर्छ । यदि हामीले दम्भ देखायौं भने, घमण्ड ग¥यौं भने त्यसले राम्रो गर्दैन । त्यसकारण म साथीहरुलाई आग्रह गर्न चाहन्छु–एमाले अव अत्यन्त सक्रिय हुनुपर्छ । जो नेता साथीहरु हुनुहुन्छ, उहाँहरुको पदको नेता होइन, लिड गरेर कामका नेता । म अहिले पनि १८ घण्टा काम गर्छु । १८ घण्टा काम गर्छु म । अनि, प्रायः साथीहरु त म भन्दा कमै उमेरका हुनुहुन्छ । १८ घण्टा म काम गर्छु भने १८ घण्टा नगर्नुस तर कमसेकम १४ घण्टा त गर्नुस् । १२ घण्टा गर्नुस् । १० घण्टा गर्नुस् त्यो सक्नु हुन्न भने कमसेकम ८ घण्टा गर्नुस् । ८ घण्टा मात्रै एक जना मानिसले काम ग¥यो भने धेरै काम हुन सक्छ । त्यसकारण सक्रिय बनौं । संयमित बनौं, शालिन बनौं । विनम्र बनौं । र, जनताका बीचमा जाऔं । म नेताजीहरुलाई पनि आग्रह गर्न चाहन्छु । म फेरी एक पल्ट ’

अध्यक्ष ओलीले तराई, मधेशमा देखिएका नागरिकताको समस्या समाधान गर्ने काम एमालेले मात्रै गर्न सक्ने दावी गर्नु भयो । अरुले मधेशमा त्यहाँका जनताको समस्या समाधान होइन, राजनीति मात्रै गरिरहेको उहाँको आरोप थियो । ओलीले २०५१ सालमा आफूले गृहमन्त्री भएको बेला नागरिकता समस्या समाधानका लागि धनपति आयोग बनाएको र पछि प्रधानमन्त्री हुँदा ती समस्या समाधानका लागि ल्याइएको विधेयक तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल आफैंले अघि बढन नदिएको गुनासो समेत गर्नु भयो ।

उहाँले विवाहित अंगीकृत नागरिकता पाउनका लागि केही समय कुर्नुपर्ने भन्दै त्यसलाई हतारोको विषय बनाउन नहुने बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुृ भयो, ‘नागरिकता सम्बन्धि ५१ सालमा म गृहमन्त्री हुँदा धनपति उपाध्यायको नेतृत्वमा आयोग बनाएर समस्या समाधान कसरी गर्ने भनेर गरेका थियौं । मैले प्रधानमन्त्री हुनेवित्तिकै यसपल्ट नागरिकता विधेयक पेश गरेको थिए । एकै पार्टी भएपनि प्रचण्डले त्यसलाई रोकेको रोक्यै गरेर अहिले बडा बेढंगी तालले, गलत ढंगले छलफल गर्न नदिईकन उनीहरुले अगाडि बढाएका छन । त्यो देशको हितको पक्षमा हुनुपर्छ, जनताको हितको पक्षमा हुनुपर्छ । नेपाली नागरिकले नागरिकताको प्रमाण पत्र पाउनुपर्छ । नागरिकका सन्तानले नागरिकताको प्रमाणपत्र पाउनुपर्छ । नागरिकताको समस्या त्यही त हो नि । वैवाहिक अंगीकृतले आवश्यक समय पूरा गरेपछि नागरिकता प्राप्छ गर्छ । त्यो त जग्गेमै त दिने होइन त । अलिकति समय हेर्नुप¥यो । त्यो विवाह साँच्चै हो कि होइन । टिक्छ कि टिक्दैन । नेपालमा विवाह गरिसकेपछि अंशमा अधिकार हुन्छ । अश पाउन मात्रै विवाह गरि टोपलेको छ कि । यस्ता कुराहरु अलिकति हेर्नुपर्छ । कहिलेकहिले नागरिकहरुलाई कसैले झुक्याउन खोज्यो भने पनि राज्यले हेर्नुपर्छ कहीँ ठग्न पो खोजेको छ कि ? त्यस्ता कुराहरुबाट हामी सजग हुनुपर्छ । र, नागरिकताको समस्या सही ढंगले समाधान गर्ने नेकपा एमालेबाहेक अरु कोही छैन । अरुले त राजनीति मात्रै गर्ने हो । अरुले मधेशमा राजनीति मात्रै गर्छ । मधेशको विकास, मधेशी जनताको विकास, मधेशी जनताको शिक्षा, मधेशी जनताको स्वास्थ्य यी सबै कुरामा । हामीले विद्यालय भर्ना अभियान संचालन ग-यौं । अभिभावकत्वको कुरा ग-यौ ।’

अध्यक्ष ओलीले मधेशका जनताको समस्या समाधानका लागि एमाले नेतृत्वको अघिल्लो सरकारले धेरै काम गरेको दावी समेत गर्नु भयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?