गाली गलौजमा पार्टी र नेताहरू

Read Time = 6 mins

स्थानीय निर्वाचन संघारमै आइसकेको छ । जति-जति निर्वाचन नजिकमा आइरहेको छ त्यति-त्यति नै पार्टीहरूको सक्रियता बढिरहेको छ । यो स्वाभाविक हो । पार्टीहरू आ–आफ्ना उम्मेदवार लिएर मतदाताका घरआँगनमा पुगिरहेका छन् । स्थानीय निकायको निर्वाचन भएका कारण उम्मेदवारले आफ्ना क्षेत्रका प्रायः मतदातालाई चिनेका हुन्छन् । उनीहरू घरघर पुग्न पनि भ्याउँछन् र गइरहेका पनि छन् । पार्टीको एजेण्डा जे हुन् तिनै एजेण्डा लिएर जाने गरेका छन् । स्थानीय निर्वाचन भएकाले आ-आफ्ना क्षेत्रका के कस्ता समस्या छन् ती हामी पूरा गर्छौं भनेर मतदातालाई विश्वास दिलाउन खोजिरहेको छन् । यसो गर्दा राजनीतिक दलका पार्टीको ¥यालीको जम्काभेट हुँदा तिनले सम्यमता अपनाएको देखिएको छ ।

पहिले जस्तो भीडन्तका बाक्लै समाचार आउने गरेको पाइएको छैन, तैपनि केही स्थानमा छिटपुट घटना नभएका होइनन् । यसैगरी केही ठाउँका उम्मेदवारले एकअर्कालाई गाली गरेको भन्ने जस्ता समाचारले ठाउँ पाइरहेका छन् । कानुनी रूपमा र सामाजिक व्यवहारका आधारमा समेत आफू राम्रो छु भन्न पाइन्छ तर अर्कालाई नराम्रो छस् भन्न पाइँदैन । दालका नेताहरू भने आफू राम्रो छु मेरा एजेण्डाहरू यस्ता छन् भन्नेभन्दा पनि अर्कालाई नराम्रो छ भनेर आफू अघि बढ्न खोजिरहेका छन् । यसका लागि उनीहरू हरतरहका प्रोपोगण्डा सिर्जना गरेर विरोधीलाई नराम्रो सावित गर्न खोजिरहेका छन् । आफू विजयी भएँ भने यस्ता-यस्ता काम गर्छु भन्नुको सट्टा अर्कालाई गाली गर्नुभनेको राजनीतिज्ञहरूको स्वच्छ छवि होइन ।

यो त निम्नस्तरको चरित्रको प्रदर्शनमात्र हो । यस्ता गालीगलौजमा प्रायः सबै दल र उम्मेदवार उत्रिने गरेका छन् । त्यसमा पनि काठमाडौं महानगरपालिकाका नेकपा एमालेतर्फका उम्मेदवार केशव स्थापितले आफ्नो गैरराजनीतिक चरित्र देखाउँदै आउनुभएको छ । उच्छृंखल व्यवहार र गालीमा उहाँ सबैभन्दा अगाडि देखिनु हुन्छ । उहाँ महिलाहरूलाई गाली गर्ने र अपशब्द प्रयोग गर्नेमा सबैभन्दा अग्र स्थानमा हुनुहुन्छ । उहाँ आपूmलाई प्रश्न गर्ने प्रश्नकर्तालाई नै अपशब्द प्रगयोग गर्नुलाई सामान्य ठान्नुहुन्छ, यो उहाँको नैतिक आदर्श हुन सक्दैन ।

उहाँको विगत यस्तै छ र त्यसको दोष अर्कै पार्टीलाई लगाएर आफ्नो विजय सुनिश्चित गर्न खोज्नुहुन्छ । पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको मृत्यु भएपछि सेतो सारी लगाएर उहाँकी पत्नी विद्या भण्डारी चुनावी मैदानमा उत्रिनु भएको थियो ।

उहाँको सेतो सारीमा रातो रंग छर्केर कांग्रेसहरूले विधवालाई समेत यसो गरे भन्ने गतल चुनावी नारा बनाएर चुनाव जित्नु भएको रहेछ भन्ने कुरा स्थापितले बीसौं वर्षपछि व्यक्त गर्नु भएको छ । चुनावका बेला राजनीतिक पार्टीहरूले कतिसम्म लज्जास्पद बनी तल्लोस्तरको व्यवहार गर्ने रहेछन् भन्ने पुष्टि हुन आउँछ । यस्तै खालका निम्नस्तरका अभिव्यक्तिले उहाँलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । बागमती प्रदेशको मन्त्री भइरहेका बेला उहाँले मुख्यमन्त्री डोरमणि पौडेलमाथि समेत अभद्र व्यवहार र गालीगलौज गरेका कारण निष्काशनमा पर्नुभएको थियो ।

हाल उहाँलाई नेकपा एमालेले काठमाडौं महानगरपालिकाको प्रमुखका लागि उम्मेदवार छनोट गरेको छ तर अरूलाई गाली गर्नमै उहाँले आफ्नो समय बिताइरहनुभएको छ । गालीगलौजका लागि उहाँ एकजना निमित्त पात्रमात्र हुनुहुन्छ । देशभरि हेर्ने हो भने अन्यत्र पनि यस्ता पात्रहरू भेटिन्छन् । तर, तिनले आफ्नो निर्वाचनसम्बन्धी हकको प्रयोग गर्दा अर्काको हकको हनन् गर्नु हुँदैन भन्ने कुरा बिर्सिएका छन् । जबसम्म यस्ता कुरामा पार्टीहरूले सुधार गर्दैनन् तबसम्म नेपालको राजनीति मर्यादित र निष्कलंक बन्न सक्दैन । मर्यादामा रहेरभन्दा पनि जसरी हुन्छ आफ्नो पार्टीले जित्नैपर्छ भन्ने मानसिकताले राजनीति गर्ने परिपाटीको विकास हुनाले नेपालको राजनीति मयार्दित बन्न सकिरहेको छैन । यसतर्फ पार्टीहरूले र तिनका नेताहरूले सोच्नै पर्ने हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?