पुलिसका दुवै टोलीलाई सफलता

Read Time = 3 mins

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबको महिला तथा पुरुष दुवै टोलीले छैटौँ आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा सफलता हात पारेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको खेलमा महिलातर्फ पुलिसले बुटवलको एभरेस्ट भलिबल क्लबलाई २५-१८, २५-१९ र २५-१४ ले तथा पुरुषतर्फ गण्डकी प्रदेश भलिबल क्लबलाई २५-२३, २५-१६, ३२-३० ले पराजित गर्दै सफलता प्राप्त गरेका हुन् ।

यस्तै महिलातर्फको अर्को खेलमा सेनाले होङ्गान्जी न्यु डायमन्ड क्लबलाई २५-१६, २५-१२ र २५-१२ ले पराजित गरेको छ । नेपाल पुलिसको यो जितसँगै दुई खेलबाट ६ अंक पुगेको छ । सेनाको तीन खेलबाट ६ अंक नै रहेको छ । यस्तै नेपाल एपिएफको तीन, एभरेस्टको दुई र न्यु डायमन्डको एक अंक रहेको छ । न्यु डायमन्डकी स्टार खेलाडी प्रतिभा माली घुँडामा चोट बोकेका कारण यस प्रतियोगितामा अनुपस्थित हुनुहुन्छ ।

राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनमा भएको प्रतियोगिताको पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले एपिएफ माथि ३-१ को जित निकालेको छ । टिपटपले एपिएफलाई २५-२२, २५-१९ र २८-३० र २५-२३ ले पराजित गर्‍यो । पुलिसले यो जितसँगै नौ अंक बनाएको छ । यस्तै हेल्प नेपालको आठ अंक, सेनाको नौ अंक, एपिएफको तीन अंक र गण्डकीले चार अंक बनायो । गल्कोटले भने कुनै अंक बनाउन सकेन ।

लिगमा पुरुषतर्फ सात टिम र महिलातर्फ पाँच टिमको सहभागिता रहेको छ । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेका छन् । महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, न्यु डायमन्ड र एभरेस्ट मावि रहेका छन् । विजेताले ६ लाख, उपविजेताले तीन लाख, तेस्रोले एक लाख ५० हजार र चौथोले ७५ हजार प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५/३५ हजार पाउँदा व्यक्तिगत विधातर्फ उत्कृष्ट सेटर, ब्लकर सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले जनही १५/१५ हजार प्राप्त गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?