बाँकी काम पूरा गर्न र पालिकावासीको समृद्धिका लागि मेरो उम्मेदवारी : थापा मगर

हिमालय टाइम्स
Read Time = 7 mins

रामचन्द्र रायमाझी/हिटा
पाल्पा । जनताको सेवक बन्नुभएका सन्तोष थापा मगर पाल्पाको माथागढी गाउँपालिकाका मतदाताका निम्ति कुनै नौलो नाम होइन । स्थानीय सरकारको संस्थापक प्रमुख भएर माथागढी गाउँपालिकामा भिज्नुभएका थापा विकासका प्रेमी नेता हुनुहन्छ । २०५४ सालदेखि नेपाल विद्यार्थी संघको सदस्यबाट राजनीतिक यात्रा सुरु गर्नुभएका थापाले २०५६ मा नेपाली कांग्रेसको क्रियाशील सदस्य लिनुभएको थियो । उहाँ नेपाली कांग्रेसको भ्रातृ संगठन राष्ट्रिय मगर संघ पाल्पाको सचिव हुँदै १२औँ महाधिवेशनबाट नेपाली कांग्रेस क्षेत्र नं. १ पाल्पाको सभापति हुनुभयो । पार्टीमा क्रियाशील भएकै कारण थापा १३आँै महाधिवेशनबाट पुनः क्षेत्रीय सभापति बन्नुभयो ।

सबैका प्रिय र प्रभावकारी युवा नेताका रूपमा छवि बनाउनुभएका थापा १४औँ महाधिवेशनमा नेपाली कांग्रेस पाल्पाको सचिवमा भारी मतले विजयी हुनुभयो । सबैलाई मिलाउन र मिल्न सक्ने क्षमता भएका थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा माथागढी गाउँपालिकाको अध्यक्षमा अत्यधिक मतका साथ निर्वाचित हुनुभएको थियो । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट समाजशास्त्र, मानवशास्त्र र इपिएममा डबल डिग्री हासिल गर्नुभएको भए पनि उहाँ समाज सेवामै होमिनुभयो । उहाँका समकक्षीहरू जागिर खाई पेन्सन पकाएर राजनीतिमा होमिएको अवस्थामा थापा भने जागिरप्रति कुनै मोह नराखी निरन्तर राजनीति र सामाजिक सेवामा तल्लीन हुनुहुन्छ ।

शैक्षिक, बौद्धिक, राजनीतिक र सामाजिक क्षेत्रमा अब्बल थापाले ३४ वर्षको उमेरमा माथागढी गाउँ सरकारको प्रमुखको जिम्मेवारी लिनुभएको थियो । उहाँले आफ्नो पाँच वर्षे कार्यकालमा माथागढीको मुहार फेर्नुभएको छ । मगर समुदायको बाहुल्यता रहेको माथागढी विकासको क्षेत्रमा अत्यन्त पछाडि रहेको अवस्थामा थापाले विकासमार्फत यहाँको मुहार फेर्नुभएको हो । उहाँले अध्यारोमा रहेका यहाँका नागरिकहरुलाई उज्यालो बनाउनेदेखि यातायातको अभावमा घण्टौँ लगाएर सदरमुकाम जानुपर्ने बाध्यताको अन्त्य गर्न सफल हुनुभएको छ । थापाको नेतृत्वमा यहाँ विद्युत्, सडक र पुलको विस्तार, स्वच्छ खानेपानी, स्वास्थ्य र शिक्षामा जनताको सहज पहुँच र सर्वसुलभ बनाइएको छ । उहाँले कोरोना महामारीका बेला जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुभयो । आफूले प्रयोग गर्दै आएको सवारी साधनसमेत संक्रमितहरूलाई अस्पताल पु¥याउने काम गर्नुभएका थापालाई जिल्लामै उदाहरणीय जनप्रतिनिधिका रूपमा लिइएको छ ।

जिल्लामै पहिलोपटक स्थानीय पाठ्यक्रम निर्माण गरेर लागू गर्नुभएका उहाँले शिक्षाको गुरुयोजनासमेत निर्माण गर्नुभएको छ । थापाकै नेतृत्वमा चार हजार विपन्न घरपरिवारका लागि ४० करोडको स्वास्थ्य बिमासमेत गरिएको छ । उहाँले पालिकाका कृषकलाई व्यावसायिक कृषिमा जोड्ने काम गर्नुभयो । थापाले ४० वटा ऐन तथा कानुनहरूसमेत निर्माण गरेर कार्यान्वयनमा ल्याउन सफल हुनुभएको छ ।
भाषणभन्दा काममा बढी विश्वास गर्ने थापाले आफ्नो पाँच वर्षे कार्यकालमा विकास, जनसरोकार र जनचासोका विषयलाई केन्द्रविन्दुमा राखेर काम गरेकै कारण जनताको विश्वासका पात्र बन्न सफल हुनुभएको हो । निर्वाचनका बेला जनतासमक्ष गरेका अधिकांश वाचाहरू पूरा गर्न सफल हुनुभएका थापालाई पुनः माथागढीवासीले गाउँपालिकाको प्रमुखमा उभ्याएका छन् । जनताको सेवक बनेका थापाले जनताकै चाहानाअनुरूप पुनः पालिकाको अध्यक्षमा उम्मेदवारी दिनुभएको हो । ‘जनताले पुनः जनप्रतिनिधि बन्न आग्रह गरेको र पाँच वर्ष पालिका अध्यक्ष हुँदा अधुरो रहेका कामलाई पूरा गर्न फेरि पालिका अध्यक्षमा उम्मेदवार बनेको हुँ’ हिटासँगको कुराकानीमा थापाले भन्नुभयो ।

उहाँले पाँच वर्षका महत्वपूर्ण काम गरेको र केही कामको सुरुवात गरेको बताउनुभयो । गर्न बाँकी रहेका काम पूरा गर्न र पालिकावासीको समृद्धिका लागि अध्यक्षमा पुनः उम्मेदवारी दिएको थापाको भनाइ छ । उहाँले विजयी भएमा निर्माण प्रक्रियामा रहेको प्रशासनिक भवनको निर्माण गर्ने, पालिका केन्द्र र दुई प्रदेश जोड्ने बाटो पिच गर्ने, समग्र पालिका एक विद्यालयको अवधारणाअनुरूप सबै विद्यालयमा समान गुणस्तर कायम गर्ने, कृषि र पशुपालनलाई जीविकोपार्जन तथा प्रमुख आयआर्जनको रूपमा रूपान्तरण गर्ने, सहज सेवा प्रवाह, सुशासन र नागरिक हितको रक्षा गर्ने, सर्वसुलभ स्वास्थ्य सेवा, घरदैलोमा स्वास्थ्यकर्मी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?