पहिलो एकदिवसीय खेलमा नेपाल पराजित

Read Time = 3 mins

काठमाडौं । पहिलो एकदिवसीय खेलमा नेपाल जिम्बावे ‘ए’सँग पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल जिम्बावे ‘ए’सँग ३ विकेटले पराजित भएको हो । पराजयसँगै तीन खेलको सिरिजमा जिम्बावे ए ले १-०को अग्रता लिएको छ ।

जितका लागि नेपालले दिएको १३७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको जिम्बावे ‘ए’ले २६ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । जिम्बावे ‘ए’का लागि इनोसेन्ट कैया ४८ बलमा ४ चौका र १ छक्कासहित ४८ रनको पारी खेल्नुभयो । यस्तै अर्का ओपनर चेपाश झुवायो २९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन जोड्दै जितको आधार बनाउनुभएको थियो ।

त्यसबाहेक ब्राड इभान्स १९ बलमा १ चौका र २ छक्कासहित १७ र रोय कैयाले १७ बलमा २ चौकासहित १४ रन थप्नुभयो । नेपालका सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ३२ रन खर्चेर २ विकेट लिनुभएको थियो । त्यसबाहेक करण केसीले ५ ओभरमा ३० रन खर्चेर २ तथा सोमपाल कामी र सागर ढकालले १-१ विकेट बाड्नुभयो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाएर १ सय ३६ रनमात्रै बनाउन सकेको थियो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाउनुभयो । ७० बलमा उहाँले २ चौका र १ छक्का प्रहार गर्नुभएको थियो । यस्तै करण केसीले ३६ बलमा ३ चौकासहित २५ रन जोड्नुभएको थियो ।

ओपनर कुशल भुर्तेलले १९, आसिफ शेख र आरिफ सेखले समान ५ रोहित पौडेलले ३ रनमात्रै बनाउन सक्नुभयो । दीपेन्द्रसिंह ऐरी १८ र आदिल खान २ रनमा आउट भएपछि नेपाल उक्त स्कोरमा खुम्चिएको थियो । आठौं विकेटका लागि करण केसी र सोमपाल कामीले ३७ रनको साझेदारी गर्नुभएको थियो । जिम्बावे ‘ए’का ब्राड इभान्सले ८.३ ओभरमा २७ रन खर्चेर ४ विकेट लिनुभयो । यस्तै भिक्टर न्याउचीले ६ ओभरमा ४७ रन खर्चेर २ तथा ब्रेण्डन मभुताले ७ ओभरमा १ मेडनसहित २४ रन खर्चेर २ विकेट लिनुभयो ।

अब नेपाल र जिम्बाबे ‘ए’बीचको दोस्रो एकदिवसीय अभ्यास खेल शनिबार हुनेछ । यसअघि भएको तीन टी-२० खेलको शृंखला भने १-१ को बराबरीमा सकिएको थियो । नेपाल पहिलो खेलमा ६ विकेटले पराजित हुँदा दोस्रो खेल वर्षाको कारण रद्द र तेस्रो खेलमा नेपाल ८ विकेटले विजयी भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?