गोरखा नगरपालिकामा गठबन्धन दुई तीर, एमाले एक्लै : कसले मार्ला बाजी ?

Read Time = 8 mins

गोरखा । २०७४ सालको निर्वाचनको मत परिणाम नियाल्दा गोरखा नगरपालिकामा नेपाली कांग्रेस पहिलो, नेकपा माओवादी केन्द्र दोस्रो, नेकपा एमाले तेस्रो र तत्कालिन नयाँ शक्ति (हालको जसपा) चौंथो शक्तिको रुपमा देखिन्छन् ।

तत्कालिन निर्वाचनमा गोनपामा कांग्रेसबाट राजनराज पन्त, माओवादी केन्द्रबाट कृष्ण राना मगर, नेकपा एमालेबाट विशेश्वर कट्टेल र नयाँ शक्ति पार्टीबाट ज्ञानेन्द्र कुमाल चुनावी मैदानमा हुनुहुन्थ्यो ।

पन्त ६ हजार पाँच ६० मत प्राप्त गर्दै निर्वाचित हुनुभएको थियो भने उहाँका निटकम प्रतिद्वन्द्वी रानाले पाँच हजार २६ मत, कट्टेलले चार हजार दुई सय ८३ र कुमालले दुई हजार ८३ प्राप्त गर्नुभएको थियो ।

उममेयरमा कांग्रेसकी बिनुकुमारी श्रेष्ठ ६ हजार दुई सय ६० मतका साथ विजयी हुनु भएको थियो । यस्तै, उहाँका निकटतम प्रतिद्वन्द्वी सम्झना देवकोटाले चार हजार ६ सय पाँच मत, माओवादीकी कञ्चन कुमालले चार हजार दुई सय ५० र नयाँ शक्तिकी पूर्णमाया वन्तले दुई हजार ७५ मत ल्याउनुभएको थियो ।

सत्तारुण गठबन्धन दुई तीर, एमाले एक्लै
२०७४ सालको निर्वाचनको मत परिणामभन्दा यसपपटक गोनपामा फरक खालको परिणाम आउने निश्चित छ । किनकी, तत्कालिन समयमा सबै राजनीतिक दल एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा थिए ।

तर, आसन्न निर्वाचनमा गोनपामा कांग्रेस र नेकपा एसबीच चुनावी तालमेल भएको छ । नेकपा एसले आफ्नो उम्मेदवारी स्थगन गरेर कांग्रेसको मेयर उपमेयर दुबैलाई समर्थन गर्ने निर्णय गरेको छ ।

माओवादीले मेयर र जसपाले उपमेयर लिने गरी दुई दलबीच गठबन्धन भएको छ । एमाले एक्लै चुनाव लड्ने तयारीमा छ ।

जिल्लामा सत्तारुण दल कांग्रेस, माओवादी, जसपा, नेकपा एस चार दलीय गठबन्धनका लागि मनोनयन दर्ताको अघिल्लो दिनसम्म कसरत गरिरहेका थिए । तर, अन्तिम समयसम्म भागबण्डामा कुरा नमिलेपछि चारदलीय गठबन्धन फुटेर गोनपामा सत्तारुण चार दल दुई तीर भएका छन् ।

यसपटक गोरखा नगरपालिकामा कांग्रेस र नेकपा एसको तर्फबाट राजनराज पन्त नगरप्रमुख, उपप्रमुखमा मसलीमाया थोकर उम्मेदवार बन्नुभएको छ ।

माओवादी र जसपाको तर्फबाट कृष्णबहादुर राना नगरप्रमुख, उपप्रमुखमा नारायण खत्री हुनुहुन्छ। नेकपा एमालेको तर्फबाट नगरप्रमुखमा सम्झना देवकोटा, उपप्रमुुखमा देवीबहादुर बस्नेत उम्मेदवार हुनुहुन्छ ।

यस्तै, राप्रपाको तर्फबाट नगरप्रमुखमा रुद्रराज पाण्डे, मंगोल नेशनल अर्गनाईजेसनको तर्फबाट कृष्णबहादुर तामाङ, नेकपा माक्र्सवादी, लेनिनवादीको तर्फबाट नारायणबाबु आचार्य, स्वतन्त्र योगेन्द्र कुमालको उम्मेदवारी छ ।

नगर उपप्रमुखमा भने राप्रपाको तर्फबाट सम्झना लामिछाने, मंगोल नेशनल अर्गनाईजेसनको तर्फबाट मन्सु गुरुङको उम्मेदवारी छ ।उम्मेदवारी परेका मध्ये कांग्रेस, नेकपा एस, माओवादी केन्द्र, जसपाको गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

मेयरमा कसले मार्ला बाजी ?

कांग्रेस र नेकपा एसका साझा उमेम्दारका राजनराज पन्त गोनपाका पुर्वमेयर हुनु हो । उहाँ राजीनामा दिएर पुन उम्मेदवार बन्नुभएको हो । संगठन बलियो भएको कांग्रेसको उहाँ बलिया उम्मेदवार हुनु हो ।

नेकपा एसको समर्थन पाएपछि पन्त थप बलियो बन्नुभएको छ । नेकपा एसको समर्थन पाउनु भनेको नेकपा एमालेको भोट काटिनु हो ।

बलियो उम्मेदारको रुपमा चिनिए पनि टिकट पाउने विषयमा पन्त विवादित बन्नुभयो। आफुले टिकट नपाउने भएपछि आफ्नै कार्यकर्ता लगाएर पार्टीले पठाएको अर्का उम्मेदवार विश्वदेव श्रेष्ठमाथि हातपात गर्न लगाएको उहाामाथि आरोप छ । श्रेष्ठले पाएको टिकट हातपात गर्नेदेखि पार्टी कार्यालयमा ताला लगाउनेसम्मको काम गरेर खोसेको भन्दै कांग्रेसका केही नेता कार्यकर्ता पन्तसँग रुष्ट छन् । त्यसैले नेकपा एसको समर्थन पाए पनि उनले कांग्रेसकै केही असन्तुष्ट समुहको भोट पाउँदैनन् की भन्ने आशंका छ ।

माओवादी र जसपाको तर्फबाट उम्मेदवार बनेका राना २०७४ सालको निर्वाचनमा पन्तसँगै पराजित भएका थिए । तत्कालिन निर्वाचनमा जोसँग निकटतम प्रतिद्धन्द्धी भएर हार ब्यहोरे उनैसँग फेरी रानाले टक्कर लिदैछन् ।

२०७४ सालको मत परिणाम नियाल्दा माओवादी र जसपाको गठबन्धनले जित्ने सम्भावना पनि कम आक्न सकिदैन । तर, माओवादी र जसपाभित्रको आन्तरिक गुटका कारण रानाको भोट काटिने संकेत छ । पार्टी संगठन भित्रको गुटको असर मतदातासम्म देखिए त्यसको फाइदा अन्य उम्मेदवारले लिने छन् ।

नेकपा एमालेकी नगरप्रमुखको उम्मेदवार सम्झना देवकोटा पनि त्यत्तिकै बलियो उम्मेदवारका रुपमा चिनिनु हुन्छ । उहाँ २०७४ सालको निर्वाचनमा कांग्रेसको उम्मेदवारसँग उपप्रमुख पदमा पराजित हुनु भएको थियो ।

व्यक्तिगत छबी र भूगोलमा भिजेकै कारण उहाँले अघिल्लो निर्वाचनमा पार्टीको मेयर उम्मेलपारलेभन्दा बढी मत प्राप्त गर्नुभएको थियो । देवकोटालाई अहिले एमालेबाहेक अन्य कुनै दलको समर्थन छैन । पार्टी फुटको कारण पनि यसपालि उहाँलाई एमालेकै केही मत काटिने पक्का छ ।

राप्रपाका उम्मेदवार पाण्डे पनि गोरखा नगरपालिका (तत्कालिन पृथ्वीनारायण नगरपालिका) का पूर्व प्रधानपन्च हुनु हो । पार्टीको सांगठनिक अवस्था कमजोर भए पनि व्यक्तिगत उहाँको मत बलियो छ ।

गोनपामा हाल ३५ हजार ३१ मतदाता छन् । आसन्न निर्वाचनबाट गोनपामा भने नसोचेको परिणाम आउने विश्लेषकहरू बताउँछन् ।

अश्विन दानी/न्युज कारखाना

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?