बाल सञ्जालका बालबालिकामाथि कांग्रेस कार्यकर्ताद्वारा आक्रमण र दुर्व्यवहारको आरोप

Read Time = 5 mins

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ स्थित बाल सञ्जालका बालबालिकामाथि नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण प्रयास गरेको आरोप लागेको छ । वडास्तरीय बाल सञ्जालले आयोजना गरेको जन्मदर्ता तथा विद्यालय भर्ना कार्यक्रम गर्ने क्रममा सीमानगरमा कांग्रेस कार्यकर्ताहरूले आक्रमण प्रयास गरेका हुन् । त्यस क्रममा केही बालिकामाथि दुव्र्यवहार समेत भएको पीडित बालिकाहरूले बताएका छन् ।

घटनामा पीडित एक बालिकाले आफूलाई लछारपछार गर्दै दुव्यर्ववहार गरेको बताइन् । उनले कार्यक्रम बिथोलेको भन्दै प्रहरी चौकी ड्राइभरटोलमा कारवाहीको माग गर्दै निवेदन दिएकी छन् । बालसञ्जालकी सदस्य ती बालिकाले लक्ष्मण मल्ल र श्याम क्षेत्रीको नाममा किटानी जाहेरी दिँदै २५–३० जनाको समूहले आफूहरुमाथि आक्रमण प्रयास गरेको बताइन् ।
प्रहरी कार्यालयमा निवेदन लिएर गएकी उनले चेतनामुलक कार्यक्रम गर्दा आफुहरूलाई राजनीतिक रंग दिइएको भन्दै कांग्रेस समर्थकहरूबाट आक्रमणको प्रयास, हातपातको प्रयास भएकाले न्याय पाउनुपर्ने बताइन् ।

प्रहरी चौकी ड्राईभरटोलका प्रहरी सहायक निरीक्षक कमल भण्डारीले पीडितले आफूमाथि हातपात र लछारपछार गरिएको उजुरी आएको र घटनाको अनुसन्धान सुरु भइसकेको जानकारी दिनुभयो ।

तिलोत्तमा नगरपालिकाले २५ वैशाखसम्म बाल सञ्जाललाई नियमित कार्यक्रम गर्न पाइने सूचना दिएपछि सञ्जालका बालबालिका सीमानगरमा कार्यक्रम गर्न पुगेका थिए ।

तर, कार्यक्रम सकिँदै गर्दा निर्वाचन आचारसंहिता विपरित राजनीति गरेको भन्दै आफूहरूमाथि लक्ष्मण मल्लसहितको टोलीले आक्रमण प्रयास गर्नुका साथै हातपात गरेको वडा बाल सञ्जाल तिलोत्तमा ४ की अध्यक्ष आईस्मा खरेलले बताउनु भयो ।

बाल सञ्जालले यसअघि पनि तिलोत्तमा–४ को सिमानगरमा न्यानो कपडा वितरण, सचेतनामुलक कार्यक्रम गर्दै आएको थियो । नयाँ शैक्षिक सत्र सुरु हुन लागेको र त्यहाँका अधिकांश बालबालिका विद्यालय बाहिर रहेकाले भर्ना गराउन सचेतनामुलक कार्यक्रमका साथै जन्मदर्ता गर्न छुटेकालाई जन्मदर्ता गराउन भन्दै सीमानगरमा सञ्जालका सहजकर्ता लक्ष्मी ज्ञवाली, बालबालिका फोकल पर्सन मञ्जु थापासहित त्यहाँ पुगेका थिए ।

बाल सञ्जालका नगरसचिव सचेत बस्नेतले कार्यक्रममा आफूहरूलाई नबोलाएको अरु कसैको निर्देशनमा कार्यक्रम गरेको भन्दै अपशब्द प्रयोग गरी गालीगलोजका साथै हातपात प्रयास गरेको बताए । त्यस्तै, सञ्जालका सदस्य सचिन क्षेत्रीले साइकलमा निस्कदै गर्दा कुटपिट गर्ने धम्की दिएको बताए ।

बाल फोकल पर्सन मञ्जु थापाले बालबालिकाको कार्यक्रमलाई राजनीतिक विषय बनाइएको भन्दै यो कार्यक्रम राजनीतिक नभई बालबालिकाको भएको बताउनु भयो । उहाँले १८ बर्ष नपुगेका बालबालिकाको कार्यक्रममा त्यसरी कांग्रेस कार्यकर्ताले धम्काउँदा नराम्रो असर परेको बताउनु भयो ।

नेपाली कांग्रेसका कार्यकर्ताले बालबालिका र सहजकर्तालाई आक्रमण र हातपातको प्रयास गरेपछि उनीहरु भागेर वडा नंम्बर ४ को वडा कार्यालयमा शरणका लागि पुगेका थिए । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमल पाण्डेले घटना बारे आफूले प्रहरीलाई जानकारी गराइसकेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?