बागलुङमा नमुना मतदान

Read Time = 4 mins

-डम्मर बुढा मगर
बागलुङ । स्थानीय तह निर्वाचनको झल्को दिने गरी बागलुङमा नमुना मतदान गरिएको छ । धौलागिरी बहुमुखी क्याम्पसमा भएको मतदानमा बागलुङमा क्रियाशील पत्रकार, राजनीतिक दलका प्रतिनिधि र कर्मचारीले मतदान गरेको थिए ।

कर्मचारीले मतदान केन्द्रलाई व्यवस्थित बनाउन, मतदाता र अन्य मतदान प्रक्रियालाई प्रभावकारी बनाउनका लागि नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । राजनीतिक दलले मतदातालाई सही रुपमा मतदान गर्न सिकाउने र मत बदर कम बनाउने उद्देश्यले नमुना मतदान गरिएको निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिनुभयो ।

‘निर्वाचनमा मतदानलाई थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि हामीले नमुना मतदान गरेका हौँ, नमुना मतदान गर्ने कार्यक्रममा मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरुलाई तालिम समेत दिएका छौँ,’ सूचना अधिकारी शर्माले भन्नुभयो ‘उहाँहरुलाई मत पेटिका खोल्ने, बन्द गर्ने, मुचुल्का तयार गर्ने विषयमा जानकारी गराइएको छ, योसँगै अन्य विषयवस्तुमा पनि कर्मचारीहरुलाई प्रशिक्षण दिएका छौँ ।’

मतदान केन्द्र व्यवस्थापनमा कर्मचारीहरुलाई केही समस्या पर्ने हुँदा उनीहरुलाई त्यसको व्यवस्थापनका लागि पनि नमुना मतदान गर्नु परेको बताइएको छ । नमुना मतदानमा जिल्लाका विभिन्न मतदान केन्द्रमा खटिएका ३०० जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई मत पेटिका खोल्ने, बन्द गर्ने, मुचुल्का चयार गर्ने विषयमा जानकारी गराइएको थियो ।

बागलुङमा झण्डै ३७ हजार नयाँ मतदाता थपिएका छन् । ०७४ को स्थानीय तह चुनावमा एक लाख ५६ हजार ८०२ मतदाता रहेकामा अहिले त्यो संख्या बढेर एक लाख ९३ हजार ६२५ पुगेको छ । मतदानका लागि १०३ मतदानस्थल र २३० मतदान केन्द्र तोकिएको छ ।

यस पटकको निर्वाचनमा मतदाताहरुलाई मतदाता शिक्षा दिइएको छैन । त्यसले मतबदर बढ्ने संभावना देखिन्छ । निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएका कारण मत बदर कम गराउन नमुना मतदान कार्यक्रमले सहयोग पुग्ने सूचना अधिकारी शर्माले बताउनुभयो ।

निर्वाचन कार्यालय जिल्लाका सबै राजनीतिक दललाई नमुना मतदानमा सहभागी हुन आग्रह गरे पनि उनीहरुको उपस्थिती भने कम पाइएको थियो । राजनीतिक दल तथा उम्मेदवारहरू अहिले घरदैलोमा व्यस्त छन् तर मतदान कसरी गर्ने भन्ने विषयमा मतदाताले थाहा पाएका छैनन् । मतदाता शिक्षा नहुँदा मतदाता समेत अन्योलमा छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?