पूर्वमनसुनको प्रभाव र चुनावी सरगर्मी

Read Time = 5 mins

अब केही दिनमात्र बाँकी भएको चुनावी प्रचारप्रसारको म्याद छोटिँदै गएसँगै दलहरूका प्रचारप्रसार र घरदैलो कार्यक्रम तीव्रताका साथ अगाडि बढेका छन् । जतातजै माइकिङ भइरहेको छ भने पार्टीको प्रचारका गीतहरू गुञ्जिरहेका छन् । यसैगरी मौसमी फेरबदल पनि सोहीअनुरूप भइरहेको छ । पानी पर्ने र घाम लाग्ने कार्य छिनछिनमा बदलिइरहेको छ । एकछिनमा पानी पर्छ भने तुरुन्तै घाम लागिहाल्छ ।

प्रचारप्रसारमा लागेका पार्टी कार्यकर्ताका लागि पानी र घाम दुवै प्रतिकूल सावित भइरहेका छन् । प्रकृतिको यस्तो प्रकारको फेरबदल पार्टीको चुनाव प्रचारका लागि बाधा पु¥याउन सिर्जना भएको भने होइन ।

यो प्राकृतिक कुरा हो, मानवीय होइन । यसवर्ष अहिलेदेखि नै पूर्वमनसुन सुरु भइसकेको छ । त्यसैले दैनिकजसो पानी परिरहेको हो । पानी प्रकृतिको वरदान हो तर असमयमा पानी पर्नाले पानीको आवश्यकता पर्ने बेलामा पानी नपर्ला कि भन्ने छ । पहिलेका वर्ष पनि यस्तो भएको पाइएको छ । यसवर्ष पनि यस्तो सम्भावना नहोला भन्न सकिँदैन । साथै मौसमी फेरबदलका कारण जुन समयमा जे हुनुपर्ने थियो त्यसो नभइरहेको छ । पृथ्वी तातिरहेको छ भन्ने वैज्ञानिकहरूको अनुमानलाई सामान्य मानिसले समेत महसुस गरिरहेका छन् । धमिरा नलाग्ने ठाउँमा धमिरा लाग्न थालेको, लामखुट्टे नलाग्ने ठाउँमा लामखुट्टे लाग्न थालेको र बेंसीमा मात्र फल्ने फलफूल तथा तरकारी वर्ग उच्च पहाडी क्षेत्रमा समेत हुनथालेका छन् । यसो हुनुमा मौसमी फेरबदलकै प्रभाव हो ।

यसरी मौसमी फेरबदलका कारण पृथ्वीमा अनेकौं प्रकारका परिवर्तन हुनेगरेका छन् । पृथ्वीको तापमान बढ्नाले खेती बालीहरूमा अस्वाभाविक परिवर्तन आइरहेको पाइन्छ । खेती प्रणालीको चक्रमा समेत प्रभाव परेको पाइन्छ । खेती छिटो लगाउने र छिटै भित्र्याउने कार्य भइरहेको छ । यसका मौसमी परिवर्तनकै प्रभाव छ । कतिपय कारण भने मानवीय व्यवहारबाटै सिर्जना भएका हुन् । औद्योगिकीकरण तथा यान्त्रिक कारणले वायुमण्डलमा कार्बनको मात्रा बढिरहेको छ । यसले वायुमण्डलमा अनावश्यक ऊर्जा बढ्न जान्छ र अस्वाभाविक वातावरणीय परिवर्तन हुने गर्दछन् । अम्ल वर्षा, ओजोन तह पातलिने जस्ता प्रभावका कारण मानवीय समस्या सिर्जना भएका छन् । अम्लवर्षका कारण माटामा अम्लीयपन पैदा भई खेतीप्रणालीमा ह्रास गराउँदछ ।

यसका साथै मानिसमा श्वासप्रश्वास सम्बन्धी अनेकौं रोग लाग्न सक्छन् । वर्षामा असन्तुलन पैदा हुन्छ र यसले गर्दा कतै खण्डवृष्टि, कतै अनावृष्टि, कतै अतिवृष्टि जस्ता समस्या पैदा हुन्छन् । जसले गर्दा बाढी, पहिरो, भू-क्षयलगायत अनेकौं समस्या मानिसले भोग्नुपर्ने हुन्छ । गतवर्ष वर्षायाम सुरु हुने बित्तिकैदेखि देशैभरि बाढी र पहिरोबाट ठूला-ठूला मानवीय क्षति भएका घटना देशले भोग्नु पर्‍यो । तीस वर्ष लगाएर बनाएको बहुचर्चिच खानेपानी मलम्ची खानेपानी योजनामा नराम्ररी क्षति पुग्नाले त्यसको पुनर्निर्माण गर्न पुनः एक वर्ष कुर्नुपर्‍यो । अझै परीक्षणबाहेक पानी आपूर्ति भएको छैन ।

समयानुसारका प्रकोपहरू जहिले पनि भई नै रहन्छन् । यसवर्ष पनि नहोला भन्ने छैन । सरकारका विभिन्न निकाय, मन्त्रालय तथा विभागहरू यससम्बन्धी कार्यका लागि खडा भएका छन् । तिनले बेलैदेखि सचेतता अपनाउनुपर्छ । प्रकोप हुन नदिन, क्षति भए पनि सकेसम्म कम क्षति गराउन र त्यस्ता प्रकोपबाट प्रभावितको उद्दार तथा राहतका लागि बेलैदेखि योजना बनाउनु र तयारीका साथ रहनुपर्ने हुन्छ । आगलागी भएपछि कुवा खन्ने भन्ने उखानले सार्थकता पाउनु हुँदैन । जनताले सरकारको मात्र मुख ताक्ने प्रवृत्तिलाई अँगालिरहनु हुँदैन आफ्नोतर्फबाट सकेको सतर्कता अपनाउनुपर्ने हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?