उम्मेदवारसँग कुसुण्डा जाति भन्छन्- ‘जसले एकीकृत बस्ती विकासमा जोड दिन्छ, उसैलाई भोट दिन्छौँ’

Read Time = 11 mins

विवेक खड्का/दाङ । स्थायी घर र बसोबास नभए पनि कुसुण्डा जातिहरू आफ्नो मौलिकताका धनी मानिन्छन् । उनीहरूको आफ्नै मौलिकता, कला, संस्कृति र संस्कार छ । आफूलाई ‘वनराजा’ भन्दै हिँड्ने कुसुण्डा जातिले वनमा आफ्नो अधिकार भएको ठान्दै आए । वनका उत्पादन नै उनीहरूको खाद्यान्न र बासस्थान थियो । इतिहासको कुनै कालखण्डमा फिरन्ते जीवन बाँचेका कुसुण्डा जातिको जीवन पहिले जंगलमै बिताए पनि अहिले उनीहरूको जीवन फेरिएको छ । अहिले कुसुण्डा समुदायको परिस्थिति र परिवेश धेरै फेरिएको छ । उनीहरूको लवाईखवाई, उठबस, रहनसहन धेरै परिवर्तित भइसकेको छ । अहिले कुसुण्डा जाति वनमा फिरन्ते जीवन बिताउँदैनन् । बरु उनीहरू गाउँ समाजमा बस्न थालिसकेका छन् । गाउँको बसाइसँगै उनीहरूको भाषा, संस्कृति, संस्कार भने हराउँदै गइरहेको छ । पहिचान नै जोखिममा पर्ने अवस्था आउन थालेपछि अहिले आफ्ना मौलिकता, भाषा, कला, संस्कृति संरक्षण गर्न कुसुण्डा समुदायले एकीकृत बस्ती विकास गरिदिएर सबैलाई एकै थलोमा बसालेर समुदायको उत्थानमा ध्यान दिन अपिल गरिरहेका छन् ।

अहिले उनीहरू देशमै लोपोन्मुख अवस्थामा रहेका वनराजाले परिचित कुसुण्डा जातिको उत्थानका लागि सरकारले थालेको काम र स्थानीय सरकारले पछिल्लो समय उनीहरूको अपेक्षाअनुसार काम नभएको गुनासो गर्छन् । घोराही उपमहानगरपालिका–१८ अम्बापुरका प्रेमबहादुर शाहीले कुसुण्डाहरूको आफ्नै संस्कृति बचाउन समस्या भएको हुँदा सरकारले ध्यान दिनुपर्ने बेला आएको बताउनुहन्छ । लोपोन्मुख जातिका रूपमा मासिक सामाजिक सुरक्षा भत्ता पाए पनि यो पर्याप्त नरहेको उहाँको भनाइ छ । ‘यसबाट दैनिक जीवन सञ्चालन गर्न पनि केही सहज भएको छ तर यतिले मात्रै पुग्दैन । भाषा, कला र संस्कारलाई संरक्षण गर्दै जीवनयापन सहज हुने उपाय खोज्नुपर्छ’ उहाँले भन्नुभयो । कुसुण्डा जातिको भाषा बोल्न सक्ने एक मात्र व्यक्ति कमला कुसुण्डा आफ्नो शेषपछि कसले भाषालाई बचाउने हो भन्नेमा चिन्तित हुनुहुन्छ । विश्वमै आफू मात्रै कुसुण्डा भाषा बोल्ने व्यक्ति रहेको बताउँदै यसको संरक्षण र उत्थानमा सरकारले चासो लिनुपर्ने आवाज उठाउनुहुन्छ ।

कुनै बेला फिरन्ते जीवन बाँचेका कुसुण्डा जाति निकै थोरै भए पनि देशमा विभिन्न भूभागमा रहेका छन् । ‘एकीकृत बस्ती भएमा भाषा संरक्षण हुन्छ । संस्कृति र परम्पराको अभ्यास हुन्छ,’ उहाँले भन्नुभयो, ‘जातिको पहिचान पनि कायम रहन्छ ।’ घोराही-१८ सुपैलाखुटीकी सर्मिला कुसुण्डा आफ्नो समुदायको उत्थानमा स्थानीय सरकारले गम्भीर रूपमा ध्यान दिनुपर्ने बताउनुहुन्छ । छरिएर बसेका कुसुण्डाहरूलाई एकीकृत रूपमा राख्न सकिए भाषा, कला, संस्कृति बच्ने उहाँको भनाइ छ । ‘मेरो आफ्नो समुदायको भाषा, कला, संस्कृति संरक्षणका लागि राज्यले अनिवार्य रूपमा एकीकृत बस्ती निर्माण गर्न जरुरी छ,’ उहाँले भन्नुभयो । सोही ठाउँकी अर्की कमला कुसुण्डाले घरमा आफू आफूबीच कहिले कसो कुसुण्डा भाषामा कुराकानी गरे पनि अरू ठाउँमा जाँदा नेपाली भाषामै बोल्नुपर्ने अवस्था रहेकाले कसुण्डा जातिलाई एकै ठाउँमा बस्ने व्यवस्था मिलाउन आग्रह गर्नुहुन्छ । यो पटकको स्थानीय निर्वाचनमा भोट माग्न आउने हरेक उम्मेदवारलाई आफूहरूको उत्थानका लागि गम्भीर बनिदिन आग्रह गर्ने उनीहरूले निधो गरेका छन् । ‘हामीलाई थोरै जनसंख्या भनेर अटेर गरेको पनि हुन सक्छ, तर, हामी त लोप हुने अवस्थामा पुगेका छौँ, हाम्रो अस्तित्व बचाउने गरी योजना हामी दिन्छौँ, त्यो योजना कार्यान्वयन गर्ने उम्मेदवारलाई हामी भोट दिने हो,’ कमलाले भन्नुभयो ।

कुसुण्डा समाजका अध्यक्ष धनबहादुर कुसुण्डाका अनुसार देशभर कुसुण्डा जातिको संख्या १५४ जना मात्रै छ । अत्यन्तै लोप हुने अवस्थामा पुगेको यो समुदायको उत्थानका लागि स्थानीय सरकारले अहिलेसम्म ठोस योजनासहित काम नगरेको उहाँको दुखेसो छ । भाषा संरक्षणका लागि केही प्रयास भए पनि अरू संस्थागत विकासमा योगदान नभएको उहाँको धारणा छ । अब भोट माग्न आउने उम्मेदवारसँग आफूहरूले बारम्बार उठाउँदै आएको साझा मागलाई सम्बोधन गराउनतर्फ केन्द्रित हुने उहाँको भनाइ छ । ‘योपटक त हामी निकै गम्भीर रूपमा हाम्रो सिंगो समुदायको उत्थानका लागि योजनाबद्ध रूपमा माग राखेर सम्बोधन हुनुपर्छ भन्ने अडानमा छौँ, जसले काम गर्छ, उसैलाई हाम्रो भोट,’ उहाँले भन्नुभयो ।

कुसुण्डा जातिको बसोबास दाङको घोराही, तुलसीपुर, कपिलवस्तु, मकवानपुर, रोल्पा, रुकुम, प्युठान र सुर्खेतमा छ । एकै ठाउँमा यो समुदायको बसोबास नरहेकाले पनि उनीहरूको बसाई व्यवस्थापनमा समस्या भएको स्थानीय पालिकाको भनाइ छ । आगामी दिनमा उनीहरूको सिंगो समुदायको उत्थान कसरी गर्न सकिन्छ भनेर नीतिगत रूपमा काम गर्न सकिने अवस्थामा भने स्थानीय सरकार अघि बढेको छ । भाषा आयोगले कुसुण्डा जातिको भाषा संरक्षणका लागि निरन्तर भाषा कक्षा सञ्चालन गर्दै आएको छ भने स्थानीय सरकारले पनि केही बजेट विनियोजन गरेर उनीहरूको नयाँ पुस्तालाई शिक्षा, दीक्षामा सहुलियत प्रदान गर्दै आएको छ । अहिले नयाँ पुस्ताले आफ्नो पुर्खाको भाषा, कला, संस्कृतिका बारेमा चासो लिँदै भाषा सिक्ने काम गर्दै आएका छन् । तर, पर्याप्त हुन सकेको छैन । त्यसैले सीमित जनसंख्या रहेको कुसुण्डा समुदायलाई एकीकृत बस्ती विकास गरी एकै थलोमा बसाल्न सकेको खण्डमा धेरै फाइदा हुने साझा आवाज उनीहरूको छ ।

उर्मिला कुसुण्डा कुसुण्डा समुदायमा पढेलेखेकी व्यक्ति हुनुहुन्छ । आफूहरूको शैक्षिक योग्यताअनुसार सरकारले रोजगारीको अवसर दिनुपर्ने उहाँको जोड छ । अहिले विभिन्न संघसंस्थाको पहलमा समुदायले आफ्ना कुरा बाहिर ल्याउन सक्ने भएको उहाँले बताउनुभयो । यस्तै, सर्मिला कुसुन्डाले कुसुण्डा समुदायको नाममा एक धुर पनि लालपुर्जावाला जग्गा नभएको भन्दै राज्यले दिने सेवा सुविधामा पनि धेरै असर गरेको बताउनुहुन्छ । आदिमकालदेखि जंगलमै जीवन बिताएको कुसुण्डा समुदायको उत्थानका लागि यो वा त्यो बहानामा विभेद गर्न नहुने कुसुण्डा समाजका अध्यक्ष अध्यक्ष धनबहादुर कुसुण्डाको भनाइ छ । घोराही उपमहानगरपालिकाको कार्यपालिका सदस्य पनि रहनुभएका उहाँ आफ्नो जातिको उत्थानका लागि हरदम लागि पर्नुभएको छ । ‘शिक्षा, स्वरोजगार केही छैन, सरकारले हामीहरूलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याएर हाम्रो अस्तित्व जोगाउनुपर्ने बेला आएको छ । जसका लागि एकीकृत बस्तीबाट मात्रै सम्भव छ, यो अनिवार्य माग हो’ उहाँले भन्नुभयो ।

आत्मर्निभर बन्ने खालका कार्यक्रममा जोड्न, बचत गर्ने बानीको विकास गर्न, भाषा, कला संस्कृति, रीतिरिवाजका असल अभ्यासलाई निरन्तरता दिन नयाँ पुस्तामा सीप हस्तान्तरण अपरिहार्य रहेकाले यसतर्फ पनि सिंगो समुदायले सोच्नुपर्ने बेला आएको सरोकारवालाको भनाइ छ । ज्ञानीमैयाँ कुसुण्डाको निधनपछि अहिले भाषा संरक्षणमा कमला कुसुण्डालाई जिम्मेवारी थपिएको छ । भाषा प्रशिक्षणमा उहाँ निकै खटिनुभएको छ । केही भाषा अहिलेका युवा पुस्ताले बुझिसकेका छन् । यसका लागि थप प्रोत्साहनको खाँचो रहेको उहाँ बताउनुहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?