अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलको सार्क हेडक्वार्टर नेपालमा ल्याउन छलफल

Read Time = 3 mins

गुरुग्राम । कला तथा संस्कृतिको क्षेत्रमा काम गर्ने संस्था अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलको सार्कस्तरीय सचिवालय नेपालमा ल्याउन छलफल सुरु भएको छ । भारतको गुरुग्राममा भएको एक सम्मेलनमा अतिथि बनेर पुगेका नेशनल डेल्फिक काउन्सिल नेपालका पदाधिकारीले अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलका सेक्रेटरी जनरल रमेश प्रसन्नासँग छलफल सुरु गर्नुभएको हो ।

भारतको पहिलो राष्ट्रस्तरीय सम्मेलनमा अतिथिको रूपमा नेपालबाट काउन्सिलका अध्यक्ष श्रीदेब बिएल, उपाध्यक्ष जीवन पराजुली र सचिव सूर्यबहादुर राष्कोटी गुरुग्राम पुग्नुभएको थियो । सम्मेलनमा भारतको नेशनल काउन्सिल तथा २९ वटै राज्यका काउन्सिलका पदाधिकारीको उपस्थिति थियो । नेपालमा सार्कस्तरीय सचिवालय स्थापना गर्न सेक्रेटरी जनरल प्रसन्ना सकारात्मक देखिएको अध्यक्ष बिएलले बताउनुभयो ।

कला र संस्कृतिको माध्यमबाट मानव जातिबीच शान्ति र सद्भावको पहल गर्न डेल्फिक काउन्सिलले विश्वस्तरीय विभिन्न प्रतियोगिता आयोजना गर्ने गर्दछ, जसलाई डेल्फिक गेम भनिन्छ । डेल्फिक गेममा अभिनय, संगीत, चित्रकला, वास्तुकला, मूर्तिकला, साहित्य आदि पर्छन् । सन् २०२३ मा भारतमा राष्ट्रव्यापि डेल्फिक गेमको आयोजना हुँदैछ । जसका लागि गुरुग्राममा अप्रिल ३० र मे १ मा राष्ट्रस्तरीय सम्मेलनको आयोजना गरिएको थियो । उक्त सम्मेलनमा नेपालको तर्फबाट भारतका स्टेट काउन्सिलरलाई नेपाली ढाका टोपी लगाई सम्मान गरिएको थियो । भारतको तर्फबाट नेपालका प्रतिनिधिसहितको टोलीबाट उद्घाटन गरी डेल्फिकको ब्याच लोगो प्रदान गरिएको थियो । सम्मेलनको बीचमै अतिथिहरूका लागि रात्रिभोजको आयोजनासमेत गरिएको थियो ।

केही समयपश्चात नेपालमा काउन्सिलको अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना हुने तयारी भइरहेको नेपालका अध्यक्ष बिएलले बताउनुभयो । १ सय ४७ देशमा स्थापित अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलको मुख्यालय जर्मनीको बर्लिनमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?