काठमाडौं । विश्वमा हरेक वर्ष मे ८ का दिन मनाइने गधा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालमा एनिमल नेपाल नामक पशु अधिकारवादी संस्थाले ‘गधालाई पनि मानव मजदुरसरह व्यवहार गरौँ, आवाजविहीनहरूप्रति न्याय गरौँ’ भन्ने नाराका साथ यस वर्षदेखि यो दिवस मनाउन सुरु गरेको हो ।
एनिमल नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा श्रममा प्रयोग गरिने गधालाई मानव मजदुरसरह सुविधा उपलब्ध गराउनु पर्नेमा जोड दिएको छ । गधालाई हिमाली तथा पहाडी क्षेत्रमा विभिन्न प्रकारका सामान ओसार-पसारका लागि कडा परिश्रम गराइने भए पनि उनीहरूलाई उचित आराम, आहार तथा बासस्थानको राम्रो व्यवस्था नभएको पाइएको संस्थाले जनाएको छ । गधालाई नेपालका अधिकांश इँटाभट्टामा इँटा ओसार्ने काममा समेत प्रयोग गर्ने गरिएको छ ।
एनिमल नेपालमा कार्यरत डा. अतिश यादवले गधाका लागि कम्तीमा पाँच स्वतन्त्रता आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले गधाका लागि भोक-प्यासबाट मुक्ति, डर-त्रासबाट मुक्ति, चोटपटकबाट मुक्ति तथा उपचारको व्यवस्था, उचित आवासको व्यवस्थाका साथै एक ठाउँबाट अर्को ठाउँमा सवारीसाधनमा राखेर लैजाँदा ओसारपसारको मापदण्ड अनुसारको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।
गधा, खच्चडले यातायात क्षेत्रमा पु¥याएको योगदानलाई कदर गर्नुपर्नेमा जोड दिँदै उहाँले यसको अवमूल्यन गर्न नहुने बताउनुभयो । अन्य पशुसरह गधाको संरक्षणका लागि सरकारले उचित नीति तर्जुमा गर्नुपर्ने उहाँको भनाइ थियो ।
सामान्यतया विश्वका सबै राष्ट्रहरूमा गधालाई सामान ढुवानी गर्न तथा कृषि प्रयोजनका लागि पाल्ने गरिन्छ । तर, केही राष्ट्रहरूमा भने दुग्ध तथा मासु उत्पादनका लागि पाल्ने गरेको पाइन्छ । छिमेकी मुलुक भारतमा गधाको दूध सबैभन्दा महँगो मूल्यमा बिक्ने गरेको छ । अत्यधिक पौष्टिक तत्वका कारण नवजात शिशुलाई गधाको दूध पिलाउँदा रोग प्रतिरोधी क्षमता बढ्ने भएकाले यसको दूधप्रति आकर्षण बढ्दै गएको छ ।
भारतमा एक लिटर गधाको दूधका लागि भारु दुई हजार रुपैयाँ पर्ने गर्दछ । एउटा गधाले २४ घण्टामा २५० मिलिलिटर दूध दिने गर्दछ । यस्तै, विश्वका धेरै मुलुकमा हरेक वर्ष सुन्दरी प्रतियोगिता हुने जस्तै कोलम्बियामा भने गधा सुन्दरी प्रतियोगिता आयोजना हुने गर्दछ ।
कार्यक्रममा घोडा प्रजातिका गधा तथा खच्चडका बारेमा तयार पारिएको डकुमेन्ट्रीसमेत प्रस्तुत गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच