‘सम्पूर्ण वडावासीहरूको हितमा कार्य गर्नका लागि मेरो उम्मेदवारी’

कृष्ण भुसाल
Read Time = 12 mins

ज्ञानीबाबु महर्जन, वडाध्यक्षका प्रत्यासी, ललितपुर-२०

काठमाडौं । यही वैशाख ३० गते सम्पन्न हुन गइरहेको दोस्रो स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिका-२० को वडाध्यक्षमा ज्ञानीबाबु महर्जन चुनावी मैदानमा हुनुहुन्छ । ललितपुर-२० नं. वडामा नेपाली कांग्रेसबाट लगातार चुनाव जित्नुभएका चन्द्रलाल महर्जन, नेकपा एमालेबाट इन्द्रमुनि शाक्य र नेकपा माओवादी केन्द्रबाट धनबहादुर महर्जन चुनावी मैदानमा हुनुहुन्छ । यस्तै यहाँ विवेकशील पार्टीबाट पनि वडाध्यक्षको उम्मेदवारी रहेको छ । पार्टीगत चुनावी प्रतिस्पर्धामा रहेकालाई टक्कर दिँदै वडाको मुहार परिवर्तन गर्न युवा नेतृत्वको आवश्यकता छ भन्दै स्वतन्त्र उम्मेदवारका रूपमा आफ्नो सशक्त प्रस्तुति प्रस्तुत गर्नुभएको छ ज्ञानीबाबु महर्जनले । परम्परागत पार्टीका रूपमा भन्दा वडाको समग्र विकासका लागि आफूसँग ‘भिजन र मिसन’ भएको बताउनुहुने उहाँ वडावासीकै आग्रहमा आफूले स्वतन्त्ररूपमा उम्मेदवारी दिएको दाबी गर्नुहुन्छ । ‘हिजो दललाई चुन्यौँ, आज स्वतन्त्र युवा रोजौँ’ भन्ने नारा लिएर यतिबेला वडावासीको घर–घरमा गइरहनुभएका उहाँ आफ्नो जित सुनिश्चित भएको बताउनुहुन्छ । लामो समयदेखि दलहरूका उम्मेदवारले राज गरिरहेका भए पनि उनीहरूले वडावासीको चाहनाअनुसार काम गर्न नसकिरहेको र आफूले तत्कालीन तथा दीर्घकालीन योजना लिएर समग्र वडाको विकासको खाका कोरेको हुनाले आफूलाई वडावासीले अध्यक्षका लागि छान्नेमा उहाँ विश्वास गर्नुहुन्छ । दल र पार्टीगत स्वार्थभन्दा माथि सम्पूर्ण वडावासीहरूको हितमा कार्य गर्नका लागि आफ्नो उम्मेदवारी भएको बताउनुहुने ज्ञानीबाबु महर्जनसँग हिमालय टाइम्सका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंश

तपाईंको उम्मेदवारी केका लागि ?

हाम्रो यो वडामा नेतृत्वले गरिरहेका काम जनचाहनाअनुसार नभएका हुनाले जनचाहनाअनुसार काम गर्नका लागि मेरो उम्मेदवारी हो । वडाको समग्र विकासका लागि निश्चित लक्ष्य लिएर मैले वडाध्यक्षमा आफ्नो उम्मेदवारी दिएको हुँ । वडाको भौतिक विकासका साथसाथै मानवीय विकास र हाम्रा मूर्त अमूर्त सम्पदाहरूको संरक्षण र प्रवद्र्धनका लागि मेरो उम्मेदवारी हो । सशक्त र सक्रिय युवाको नेतृत्वले नै हामीले हाम्रो वडालाई सम्पूर्ण दृष्टिकोणबाट नेपालकै नमुना वडा बनाउन सकिन्छ भन्ने सोचका साथ मेरो उम्मेदवारी हो ।

कुनै पार्टीबाट नलडीकन स्वतन्त्ररूपमा चुनावी मैदानमा उत्रनुको उद्देश्य रु कुनै पार्टीले नपत्याएर हो कि ?
म नवयुवा सहकारीको व्यवस्थापक भएर कार्यसम्पादन पनि गरिरहेको छु । म कुनै पार्टीमा पहिला लागेको पनि थिइनँ र अहिले पनि छैन । मेरो स्वतन्त्र उम्मेदवारीको मुख्य कारण मैले सहकारीलाई जसरी कुशल व्यवस्थापन गरेको छु त्यसरी नै वडालाई पनि व्यवस्थापन गरिदिए हुने थियो भन्ने मेरा केही शुभचिन्तकको सल्लाहमा पनि मेरो उम्मेदवारी परेको हो । वडावासीको चाहनाअनुसार नै मैले मेरो आफ्नो उम्मेदवारी दिएको हुँ ।

यतिबेला तपाईं वडावासीको घर-घरमा आफूलाई मतदान गर्न आग्रह गर्दै पुग्नुभएको छ, वडावासीको भनाइ के रहेको छ ?
सबैले एकदम राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । वडावासीलाई दलहरूले केही गर्न सकेनन् अब तपाईं सशक्त युवा आउनुभएको छ हाम्रो साथ-सहयोग तपाईंलाई रहन्छ भनेर आश्वासन दिनुभएको छ । उहाँहरूले यसपाली हाम्रो मत तपाईंलाई भन्नुभएको छ ।

यो वडामा के-कस्ता समस्या देख्नुभएको छ ?
धेरै समस्या देखेर नै म यसलाई समाधान गर्न सक्छु भनेर आएको हुँ । वडावासीका समस्यालाई समाधान गर्ने मेरो मुख्य लक्ष्य रहनेछ । धेरै ठूलो पनि होइन, साना–साना समस्या रहेका छन् तर तिनले प्राथमिकता पाएका छैनन्, म तिनलाई समाधान गर्नेतर्फ लाग्नेछु । विद्यार्थीलाई परामर्श कक्षा सञ्चालन, बौद्धिक कार्य गर्ने, शिक्षा, स्वास्थ्य, रोजगार, प्रविधिमा आधारित सेवा, सम्पदा तथा संस्कृति संवद्र्धन, सुशासनजस्ता विषय मेरो प्राथमिकतामा रहनेछन् ।

यहाँले वडावासीमा के-कस्ता प्रतिबद्धता व्यक्त गर्नुभएको छ ?
मैले वडाको समग्र विकासका लागि निश्चित खाका बनाएर अघि बढेको छु । यसमा तत्कालीन र दीर्घकालीन रहेका छन् । मैले विद्यार्थी लक्षित शैक्षिक परामर्श एवं शैक्षिक गतिविधि सञ्चालन, सामाजिक, सांस्कृतिक जनचेतना अभिवृद्धि कार्यक्रम, बौद्धिक, मानसिक तथा शारीरिक क्षमता विकास कार्यक्रम अघि सारेको छु । यस्तै हरेक टोलमा न्यूनतम स्वास्थ्य सुविधासहितको स्वास्थ्य केन्द्र, ज्येष्ठ नागरिक लक्षित नियमित स्वास्थ्य परीक्षण सेवा प्रदान गर्ने, स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि एवं शिविर सञ्चालन गर्ने र २० वडा स्वास्थ्य केन्द्रलाई सुविधासम्पन्न गर्ने प्रतिबद्धता अघि सारेको छु । त्यस्तै मैले युवालक्षित रोजगारको सिर्जना, महिला एवं गृहिणीहरूका लागि सीपमूलक तालिममार्फत् आत्मनिर्भरताको अवसर प्रदान गर्ने, वडाका उद्यमी, पेशाकर्मी, हस्तकला शिल्पी, कलाकार एवं व्यवसायीहरू लक्षित प्रवद्र्धनात्मक कार्यक्रम तथा महोत्सव सञ्चालन गर्ने, वडाबाट कौसीखेतीको तालिममार्फत् कृषि कार्यलाई प्रवद्र्धन गर्ने जस्ता कार्यक्रम अघि सारेको छु ।
त्यसैगरी प्रविधिमा आधारित प्रशासनिक सेवा कार्यमा जोड दिने, वडावासीहरूको सेवा प्राप्त गर्ने हक अधिकारलाई सरल एवं सहज प्रक्रियामार्फत् सम्बोधन गर्ने, हरेक टोलका बहाल, चोक, स्तुप, चैत्य, मठमन्दिर, पोखरी, हिती, इनारलगायत धार्मिक, सांस्कृतिक पुरातात्विक एवं परम्परागत क्षेत्रको नियमित सरसफाइ तथा संरक्षणका कार्य गर्ने । वडामा रहेका धार्मिक, सामाजिक, सांस्कृतिक, पुरातात्विक तथा परम्परागत सम्पदाहरूलाई पर्यटकीय क्षेत्रको पहिचानसहित विकास गर्ने मेरो प्रतिबद्धता रहेको छ । यसैगरी दल तथा पार्टीगत स्वार्थभन्दा माथि उठेर सम्पूर्ण वडावासीहरूको हितमा कार्य गर्ने । वडाका पूर्वाधार विकास निर्माणका कार्यमा आर्थिक पारदर्शिताको प्रत्याभूति दिने । वडाबाट वितरण हुने वृद्ध, अपांग तथा एकल महिला भत्तालाई घरदैलो सेवामार्फत् प्रदान गर्ने । वडामार्फत् वितरण हुने बजेटलाई समानुपातिकरूपमा सम्पूर्ण टोल एवं क्षेत्रमा विभेदरहित तरिकाले विनियोजन गर्ने । हरेक टोलमा सामुदायिक कार्यका लागि क्रियाशील समूह निर्माण गर्ने र मुख्य चोक/नाका एवं संवेदनशील क्षेत्रमा सिसी क्यामेरा जडानबाट सुरक्षा संयन्त्रलाई सबल बनाउने मेरो प्रतिबद्धता रहेको छ ।

तपाईंले भने जस्तै अन्य दलका प्रतिबद्धता पनि यस्तै छन्, तपाईंलाई वडावासीले किन आफ्नो अमूल्य मत दिने ?
अन्य दलका उम्मेदवारभन्दा मेरो एकदमै फरक छ । दलका प्रतिबद्धता पत्रलाई मात्र होइन, दलका कार्यलाई नै वडाबासीले हेरिसकेका छन् । उहाँहरूका प्रतिबद्धता कागजमा मात्र सीमित भएका छन् । तर, मेरो प्रतिबद्धता प्रतिबद्धताका लागि मात्र नभएर कार्यान्वयनका लागि हो भन्ने आमवडावासीमा विश्वास दिलाउन चाहन्छु । यसका लागि मलाई मतदान गर्न आग्रह गर्दछु ।

तपाईंको स्वतन्त्र उम्मेदवारी दलहरूको भोट काट्नमात्र हो भन्ने आरोप पनि छ नि ?
यो एकदमै होइन । मैले कसैको भोट काट्नका लागि आफ्नो उम्मेदवारी दिएको होइन । म आफैं वडाको नेतृत्व लिनका लागि मेरो उम्मेदवारी हो । मलाई वडाका सम्पूर्ण युवाहरूका साथसाथै बुबाआमाको साथ छ ।

निर्वाचित हुनेमा कत्तिको आशावादी हुनुहुन्छ ?
म यस २० नं. वडाको वडाध्यक्षका रूपमा निर्वाचित हुनेमा आशावादी छु । सबैको माया, साथ सहयोग मिलिरहेको छ ।

अन्त्यमा ?
समग्र वडाको विकासका लागि यसपाली मलाई वडावासीले छान्नुहुनेछ । जे गरे पनि हुन्छ भन्ने दलहरूको गलत सोच अन्त्यका लागि मलाई निर्वाचित गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । म वडावासीलाई यो त्यो नभनीकन समग्र वडा र वडावासीको हितमा आफूलाई समर्पण गर्नेछु ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?