निर्वाचनमा सांस्कृतिककर्मीहरूको योगदान र दलहरूको सोच

Read Time = 17 mins

✍️ गणेश सुवेदी
गीतसंगीत मन नपर्ने व्यक्ति को नै होला र ? गीतसंगीतलाई प्रकृतिको सुन्दर रचनाको रूपमा लिइन्छ । कलकल बग्ने खोला, छङछङ गर्ने छहरा, सर्रसर्र गर्ने रूखका पातहरू तथा त्यसमाथि झर्ने तपतप पानी, झमझम गर्ने वर्षा, सर्र बहने हावा, चराचुरुंगीको चिरबिर, जीवजन्तुको आवाज र हिँडाइसँगै उत्पन्न हुने ध्वनि सबै गीतसंगीतका स्रोत हुन् । स्थानीय निर्वाचन हुने पक्का भएदेखि नै नेपाली राजनीतिक माहोललाई गीतसंगीतले तताएको छ । यतिबेला जताततै राजनीतिक दलका गीतसंगीत गुञ्जिरहेका भेटिन्छन् चाहे त्यो आमसभा होस् वा घरदैलो कार्यक्रम अथवा सडकतिर होस् अथवा सामाजिक सञ्जालहरू ।

दलको नीति, सिद्धान्त, कार्यक्रम र घोषणा पत्रलाई समेटेर विभिन्न दलमा आबद्ध सांस्कृतिक कलाकर्मीले गीतसंगीत निर्माण गरेका छन् । गीतसंगीतहरू कतिपय स्वतस्फूर्त रूपमा कलाकर्मीले र केही उम्मेदवारद्वारा निर्माण गरिएका छन् भने प्रायःजसो नेपालका राजनीतिक दलहरूसँग आबद्ध भ्रातृ संस्थाले निर्माण सँगसँगै प्रवद्र्धन गर्दै आइरहेका छन् । सांस्कृतिक कलाकर्मी आबद्ध ती भ्रातृ तथा शुभेच्छुक संस्थाले निर्माण एवं प्रवद्र्धन गरेका गीतसंगीतसँगै सबैखाले श्रव्यदृश्य प्रचार सामग्रीको प्रभाव र आवश्यकता कस्तो रहेको छ र कस्तो हुनुपर्दछ भन्ने तथा त्यसप्रति दलहरूको भूमिका के हुनुपर्दछ भन्ने कुरा अहिलेको जल्दोबल्दो विषय हो ।

देशमा सञ्चालन हुने हरेक ठूलासाना कार्यक्रम जस्तै निर्वाचन, आन्दोलन, अभियान, ¥याली, आमसभा आदिमा धेरै पहिलेदेखि नै प्रमुख अस्त्रको रूपमा गीतसंगीतको प्रयोग हुँदै आएको छ । विभिन्न सभासमारोहमा मन्तव्य सुरु हुनुभन्दा अगाडि गीतसंगीत बजाउने गरिन्छ । त्यसैगरी धार्मिक अनुष्ठान, सभासमारोह तथा सम्मेलनमा, मेला-जात्रा-पर्व तथा महोत्सवमा गीतसंगीत नै सुनाउने गरिन्छ । त्यसैले वास्तविक रूपमा हेर्दा गीतसंगीत हाम्रो जीवनको एक अभिन्न तथा महत्वपूर्ण पाटो हो । गाँस, बास, कपास जस्तै मनोरञ्जन हाम्रो महत्वपूर्ण आवश्यकता हो । जसको परिपूर्तिका लागि हामी गीतसंगीत सुन्ने गर्दछौं र आनन्द लिने गर्दछौं ।

राजनीतिक दलहरूले गीतसंगीतसँगै श्रव्यदृश्य प्रचार सामग्रीलाई पनि आफ्नो पहिलो राजनीतिक अस्त्रको रूपमा प्रयोग गर्दछन् । राजनीतिक दलहरूले कलाकर्मीको कर्णप्रिय आवाज र संगीतबाट आफ्ना एजेण्डाहरू जनतासम्म पुर्‍याउँदछन् तर सन्देशको संवाहक अर्थात् उनीहरूको शब्द तथा भावनालाई दिलोज्यान दिएर एउटा माध्यमका रूपमा जनता समक्ष पुर्‍याउँने गीतसंगीत, कला तथा साहित्यकर्मीलाई ती राजनीतिक दलहरू तथा राजनीतिककर्मीहरूले चाहिँ कस्तो नजरले हेर्ने गर्दछन् भन्ने विषयमा खोजी गर्नु महत्वपूर्ण विषय हो ।
पछिल्लो चरणमा नेतृत्वहरूले खोक्रा आश्वासन बाँड्ने, हुनै नसक्ने वा गर्नै नसक्ने काम गर्छु भनेर असम्भव सपना देखाउने परिपाटीको विकास भएकाले जनताहरू उनीहरूप्रति सन्तुष्ट छैनन् । अरुचिपूर्वक उनीहरूको भाषण सुन्नुपर्ने बाध्यतालाई रुचिकर बनाउन नेतृत्वहरूले विभिन्न अनुरोध-अनुनय-विनय गरेर सांस्कृतिककर्मीलाई प्रयोग गर्ने गर्दछन् । त्यसैका लागि दलहरूले नेपाल सांस्कृतिक संघ (नेपाली कांग्रेस), राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल (नेकपा एमाले)र जनसांस्कृतिक महासंघ (नेकपा माओवादी केन्द्र)लगायत विभिन्न दलका सांस्कृतिककर्मीको आवश्यकता महसुस गरेका हुन् ।

गीतसंगीत र श्रव्यदृश्य सामग्रीहरूले तताएको यो राजनीतिक माहोललाई व्यवस्थित गरी बढीभन्दा बढी मतदाता आकर्षित गर्न अहिले दैनिक रूपमा एक से एक गीतहरू बजारमा निस्किरहेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका ठूला-साना राजनीतिक दलको प्रचार सामग्रीको रूपमा निर्माण भएका यस्ता सामग्रीको राम्रो प्रभाव रहने कुरा नेपाली कांग्रेस सम्बद्ध भ्रातृसंस्था नेपाल सांस्कृतिक संघका सभापति तीर्थबहादुर थापा बताउनुहुन्छ ।

‘गीतसंगीतमार्फत आकर्षक रूपमा दलको नीति, सिद्धान्त, कार्यक्रम र घोषणापत्रलाई मध्यनजर गरी निर्माण गरिएका यस्ता गीतहरूले कार्यकर्ता र मतदातामा उत्साह प्रदान गर्दछ । गीतसंगीतले एक प्रकारको माहोल सिर्जना गर्दछ । अहिले राजनीतिक कार्यकर्ताका लागि ठूलो चाड आए जस्तै भएको छ र यस चाडलाई गीतसंगीतले अझ उल्लासमय बनाएको छ ।

नेकपा एमाले सम्बद्ध राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल पनि सांगीतिक सामग्री निर्माण तथा प्रवद्र्धनमा जुटेको छ । दलको घोषणापत्र र दलले लिएको नीति र कार्यक्रमलाई समेटी गीतसंगीतहरू तयार गरिएको कुरा केन्द्रीय अध्यक्ष प्रेमनाथ अधिकारी बताउनुहुन्छ ।

‘गीतसंगीतले सबैलाई आकर्षित गर्दछ । यसले समस्त मतदाता र कार्यकर्तामा छुट्टैखाले ऊर्जा प्रदान गर्नुका साथै नेतृत्वलाई कर्म गर्न अझ प्रेरित गर्दछ । हामीले प्रचार सामग्रीको रूपमा निर्माण गरेका गीतसंगीत र श्रव्यदृश्य सामग्रीले जनतालाई आकर्षित गरी दलहरूसँग जोड्ने सामथ्र्य राख्दछ ।’

त्यसैगरी नेकपा माओवादी केन्द्रसम्बद्ध जनसांस्कृतिक महासंघ पनि व्यापक रूपमा प्रचार सामग्री निर्माणमा जुटेको छ । गीतसंगीतलाई नै केन्द्रित गरी प्रचार सामग्री निर्माण गरिएको केन्द्रीय अध्यक्ष मातृका पोखरेल बताउनुहुन्छ । ‘गीतसंगीत नै सबैको प्रिय माध्यम हो । यही माध्यमबाटै जनताको मनमुटुमा दलप्रतिको आस्थालाई जागृत गर्न हामी जुटेका छौं । अर्काे कुरा हामीले दलीय नेतृत्वले अभिव्यक्त गर्ने विचारलाई भन्दा हुनसक्ने र गर्नसक्ने विषयलाई गीतसंगीतमा समेटेका छौं । अनावश्यक हुन नसक्ने कुरा दिएर भोट बट्ुल्नु राजनीतिक बेइमानी हो । जसमाहामी सचेत छौं ।’

माथि उल्लेखित विचार नै समग्र सांकृतिक कलाकर्मीहरूको भावना हो किनकि सांस्कृतिक कलाकर्मीहरू जनतामा भ्रम छर्न होइन, भ्रम चिर्न चाहन्छन् । सांस्कृतिक कलाकर्मीहरू दल-नेतृत्वलाई सही मार्गनिर्देश गर्ने र दललाई आगामी रणनीति बनाउन कार्यदिशा दिने सामथ्र्य राख्दछन् । जुन कुरा भविष्यमा नेपालका राजनीतिक दलहरूले विस्तारै बुझ्दै जानेछन् ।

दललाई जनमत जुटाउन र बहुमतले विजयी बनाउन कटिबद्ध सांस्कृतिक कलाकर्मीहरू दत्तचित्त भएर लागि परेका छन् । तर, दल-नेतृत्व भने उनीहरूप्रति खासै जिम्मेवार देखिँदैनन् । राजनीतिक रूपमा दलमा आबद्धता गराएरमात्रै सांस्कृतिक कलाकर्मीको सम्मान हुँदैन । उनीहरूलाई अवसर प्रदान गरी उनीहरूको सिर्जनशीलताबाट दलले मनग्य फाइदा लिन सक्नुपर्दछ । तर, नेपाली नेतृत्वहरूले यस विषयलाई भने हल्काफुल्का रूपमा लिने गरेका छन् जुन सबै राजनीतिक दलहरूको कमजोरी हो । दलले जस्तोसुकै रूपमा हेरे तापनि सांस्कृतिककर्मी भने आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक नै निर्वाह गर्दै आइरहेका छन् ।

नेपाल सांस्कृतिक संघले सांस्कृतिककर्मीको पहलमा आर्थिक स्रोत व्यवस्थापन गरी प्रचार सामग्री निर्माण गरेको छ । दलले सांस्कृतिककर्मीको भावनालाई गम्भीरतापूर्वक नलिएकोमा केन्द्रीय सभापति तीर्थबहादुर थापा दुःख व्यक्त गर्नु हुन्छ । ‘नेपाली कांग्रेस दलले सांस्कृतिककर्मीको सिर्जनशीलताबाट धेरैभन्दा धेरै फाइदा लिन सक्ने ठाउँ छ तर नेतृत्वहरूले यो विषयलाई अलिक गहन रूपले ग्रहण गरी कार्यान्वयनतर्फ अघि बढ्नुपर्दछ । दल-नेतृत्वले आज नबुझे पनि भोलिका दिनमा बुझ्नेछ भनेर मिहिनेत गरिरहेका छौं ।’

त्यसैगरी राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल पनि आन्तरिक स्रोत व्यवस्थापन गरी प्रचार सामग्री निर्माणमा जुटेको छ । ‘दलले स्रोतको व्यवस्थापनमा खासै रुचि देखाउँदैन तर पनि हामी हाम्रो भूमिका पूर्णरूपमा निर्वाह गर्दछौं भन्नुहुन्छ’, केन्द्रीय अध्यक्ष पे्रमनाथ अधिकारी भन्नु हुन्छ, ‘दलले सांस्कृतिककर्मीका लागि सोच फराकिलो बनाउनुपर्दछ । त्यसो भयो भने सांस्कृतिककर्मी सुरक्षित हुन्छन् र मुलुक समृद्ध बनाउन अझ बढी योगदान गर्न सक्छन् ।’

जनसांस्कृतिक महासंघले दलसँग समन्वय गरी प्रचार सामग्री निर्माण गर्दै आएको छ । आर्थिक स्रोत व्यवस्थापन महासंघले नै गर्दै आइरहेको र खासै ठूलो योजना नभएकाले दलसँग अनुरोध नगरेको तथा आवश्यक परेमा दलले व्यवस्थापन गर्दछ भन्नुहुन्छ केन्द्रीय अध्यक्ष मातृका पोखरेल । ‘दल सांस्कृतिककर्मीको विषयमा गम्भीर छ । हाम्रा कुराहरू सुनाउने सामथ्र्य छ हामीसँग र नेतृत्व पनि हामीप्रति जिम्मेवार छ ।’

नेपाली राजनीतिक दलहरूमध्ये केही दलमात्र सांस्कृतिककर्मीप्रति जिम्मेवार देखिए पनि अन्य दल भने सांस्कृतिककर्मीलाई प्रयोगवादी दृष्टिले हेर्ने गर्दछन् । सांस्कृतिककर्मीको सिर्जनशीलतालाई राष्ट्रिय महत्वको दस्तावेज नबनाउँदासम्म न त राजनीतिमा सभ्यता र संस्कार भित्रिन्छ न त मुलुक समृद्धिको दिशातर्फ नै जान्छ । किनकि सभ्यता र संस्कार नभएको राजनीतिले मुलुकलाई गति र जनतालाई आश्वस्त बनाउँन सक्दैन ।

नेपालका राजनीतिक दलहरू फुटबल क्लब तथा क्रिकेट क्लब पक्कै होइनन् तर पनि पछिल्लो राजनीतिले दल प्रवेशका नाममा क्लबले खेलाडी अनुबन्ध गरे झैं भोट बढाउन विचार मिल्ने होस्- नहोस्, दलीय स्वार्थ मिलोस्- नमिलोस् केही मतलब नगरिकन जो-जसलाई पनि दलमा भित्र्याउने परिपाटी सुरु गरेका छन् । यसले पनि दलहरूलाई हानी हुने देखिन्छ । स्वार्थका कारण दल प्रवेश गर्ने र गराउने खेलले दललाई पक्कै स्थायित्व दिन सक्दैन ।

राजनीतिक एउटा संस्कारित, सुशिक्षित र अनुशासित संस्था हो । यसले आफ्नो मर्यादालाई बचाउन र प्रवद्र्धन गर्न सांस्कृतिककर्मीलाई एकबद्ध गरी उनीहरूको सम्मान, सुरक्षा र पहिचानको ग्यारेन्टी गरी उनीहरूमार्फत नै जनताको घरघरमा पुग्न सके त्यसले राम्रो जनलहर सिर्जना गर्न सक्दछ । किनकि नेताले दिने मन्तव्यभन्दा कलाकारले दिने प्रस्तुतिमा जनताले बढी विश्वास गर्दछन् ।

नेपालका संस्कृतिककर्मीले आफ्ना कुरा जोडतोडका साथ दल-नेतृत्वसँग राख्न नसक्नु र नेतृत्वले अरूका कुरालाई महत्व नदिनुले मुलुक सुसंस्कृत हुनबाट पछि परेको हो । सांस्कृतिककर्मीलाई गाउने र नाच्ने पात्रका रूपमा मात्रै दल-नेतृत्वले हेर्नु भनेको उनीहरूको दृष्टिदोष हो । सांस्कृतिककर्मी जस्तोसुकै विषय र मुद्दालाई गहिरोसँग अध्ययन गर्न र त्यसलाई निकास दिने सामथ्र्य राख्दछन् । त्यसैले सांस्कृतिककर्मीलाई मौसमी हतियारका रूपमा मात्रै प्रयोग नगरी उनीहरूको विज्ञता, विशिष्टता तथा सक्षमताका आधारमा दलहरूले अवसर प्रदान गर्दै प्रोत्साहित पार्नुपर्दछ ।

सांस्कृतिककर्मी अहिले आफ्नो खल्तीको पैसा खर्च गरेर दललाई जिताउन सिर्जनशील सामग्री निर्माणमा जसरी मरेर लागेका छन् त्यो उत्साह तथा योगदानलाई दलहरूले मूल्यांकन नगरे उनीहरूप्रति साँच्चै नै अन्याय हुन जानेछ । सांस्कृतिककर्मीहरू गफ दिनेभन्दा काममा विश्वास राख्दछन् । उनीहरू आफ्नो कुरा जोडतोडले राख्न सक्दैनन् भन्दैमा विवेकशून्य हुन्छन् भन्ने सम्झनु चाहिँ एकदमै गलत कुरा हो ।

समग्रमा बुझौं कि सांस्कृतिककर्मी आफ्नो कलाको माध्यमबाट कुनै व्यक्तिलाई पद र प्रतिष्ठामा पुर्‍याउने सामथ्र्य राख्दछन् र सोही व्यक्तिको आचरण र व्यवहार गलत भएमा उसलाई पुनः त्यहाँबाट गलहत्याएर निकाल्ने हिम्मत पनि राख्दछन् भन्ने कुरा विश्व इतिहासले देखाउँदछ । त्यसैले अत्यन्तै संवेदनशील, मिहिनेती र जिम्मेवार सांस्कृतिककर्मीलाई सानो आँक्नेभन्दा दलहरूले उनीहरूको वास्तविक क्षमता पहिचान गरी राष्ट्रको समृद्धिमा लगाउन सके सबैलाई फाइदा हुने कुरामा दुई मत नहोला ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?