‘कृषि, पर्यटन, स्वास्थ्य, पूर्वाधारसँगै नमुना देवदह मेरो परिकल्पना’

Read Time = 16 mins

हिराबहादुर खत्री, गठबन्धनबाट मेयरका उम्मेदवार

बुटवल । मुलुक संघीय संरचनामा प्रवेश गरेको पनि आधादशक बढी भयो । संघीयता स्थापनासँगै स्थानीय तहको संरचना पनि बन्यो । स्थानीय तहको संरचना निर्माण भएसँगै स्थानीय तहमा आफैँले चुनेका जनप्रतिनिधीहरूले नेतृत्व गर्ने अवसर पाए । गाउँ विकास समितिका रूपमा रहेका स्थानीय तहहरू पालिकामा रूपान्तरण भए । गाविसबाट नगरपालिका बनेको देवदह नगरपालिकामा संघीयता स्थापनासँगै पहिलो नेतृत्व २०७४ यता हिराबहादुर खत्रीले गर्दै आउनुभएको छ । आफू नगरप्रमुखका निर्वाचित भएसँगै खत्रीले धेरै विकास निर्माणका कामहरू गर्नुभएको छ । कृषि, पर्यटनको प्रचुर सम्भावना बोकेको देवदहको नेतृत्व लिइसकेपछि खत्रीले शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार र कृषि लगायतका क्षेत्रमा धेरै कामहरू गर्नुभयो । खत्री कार्यकालमा रहँदा धेरै नमुनायोग्य कामहरू, नगरको सडक सञ्जाल, एक उद्यान एक पहिचान, नगरको पर्यटन गुरुयोजना निर्माण, कृषि उत्पादनमा आधारित अनुदान कार्यक्रम, अव्यवस्थित बसोबास क्षेत्रमा लगत संकलन लगायतका कामहरूलाई विशेष जोड दिइएको र सुरुवात गरेको नगरपालिकामा पुनः मेयरका लागि खत्री चुनावी मैदानमा हुनुहुन्छ । गठबन्धनबाट मेयरका लागि उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका क्षेत्रीय सभापति हिराबहादुर खत्रीसँग बुटवल संवाददाता चन्द्रकान्त खनालले कुराकानीको संक्षित अंश–

तपाईंको उम्मेदवारी किन ?
देवदह आफैँमा कृषि र पर्यटकीय सम्भावना बोकेको नगर हो । यसको विकासका लागि दिर्घकालीन योजनाहरू आवश्यक पर्दछन् । हिजो मेरो कार्यकालमा थालिएका योजनालाई मूर्तरूप दिन र देवदहलाई भिजन अनुसारको नमुना नगर बनाउनका लागि मैले उम्मेदवारी दिएको हुँ । यो मेरो मात्र होईन, देवदहबासीले मलाई पुनः नगरको नेतृत्व लिन भन्नुभयो, अनि मैले मेयर पदमा उम्मेदवारी दिएको हुँ । हामी माओवादी केन्द्र लगायतका साथीहरूसँग मिलेर चुनावी मैदानमा छौँ ।

तपाईंले दोस्रोपटक उम्मेदवारी दिनुभएको छ, नागरिकको घर-घरमा पुग्दा प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
प्रतिक्रिया मिश्रित छन् । केहीको बहालमा रहँदा उहाँहरूको चाहना अनुसारको कार्य सम्पादन गर्न सकिन भन्ने टिप्पणी छ भने केहीको पुनः देवदहलाई तपाईं नेतृत्वको खाँचो छ भन्ने प्रतिक्रिया आएको छ । उहाँहरू दुवैका सुझावलाई मैले ग्रहण गरेको छु । हिजो म अल्पमतमा थिए, चाहेर पनि धेरै योजना र कामहरू कुशलतापूर्वक सम्पन्न गर्न सकिन । त्यो स्वीकार्नै पर्छ । कतिपय योजनाहरू ल्याउँदै गर्दा ती योजनाहरू कार्यपालिकामा पेश हुन सकेनन् । जसकारण केही नागरिकले निराशाका कुरा गर्नुभएको छ, त्यो जायज हो । आउने नेतृत्व बहुमतका साथमा विजयी हुन्छ र हामीले धेरैका अपेक्षा आउने कार्यकालमा पूरा गर्ने गरी प्रतिबद्धताहरू ल्याएका छौैँ । ती प्रतिबद्धताहरू संकल्पका साथ पूरा गर्ने विश्वास म मतदाताहरूलाई दिन्छु ।

हिजो र आजको परिवेश फरक छ, फेरि पनि तपाईंको जित्ने रणनीतिक आधारहरू के-के छन् त ?
पहिलो कुरा हामी गठबन्धनबाट चुनावमा होमिएका छौँ । यो नै चुनाव चित्ने बलियो आधार भएको म स्मरण गराउन चाहन्छु । हामी देवदहका सबै वडाका नागरिकका घरघरमा पुगेकै छौँ, हिजो मैले गरेका र गर्न बाँकी रहेका कामका विषयमा प्रतिक्रिया पनि लिएका छौँ । नागरिकको विश्वास म र हाम्रो पार्टीमाथि छ । नगरको विकासका लागि यहाँहरूले जुन विश्वास गरेर मलाई मत दिन्छु भन्नुभएको छ, त्यही नै मेरो जित्ने रणनीतिक आधार हो । हिजो र आजको परिवेश केही पनि फरक छैन । बस योजनाहरू धेरै छन् । नागरिकसँग हिजो गरेका र यो निर्वाचनमा गरेका प्रतिबद्धताहरू पूरा गर्नु छ ।

त्यसो भए, तपाईंको कार्यकालमा कस्ता योजनाहरू आए र सम्पन्न हुन बाँकी छन् ?
२०७४ सालको स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित भई सकेपछि स्थानीय सरकार सञ्चालन ऐनअनुसार हामीले नगरलाई सञ्चालन गर्नका लागि ६४ वटा ऐन नियम, कानुन, कार्यविधि, नियमावलीहरू निर्माण गरिसकेका छौँ । तत्कालको अवस्थामा केही कामहरू पनि हामीले अगाडि बढाएका छौँ । वडाका प्रशासनिक भवनहरू, प्रत्यक वडामा आधारभूत स्वास्थ्य चौकीहरू, शैक्षिक संस्थाको गुणस्तर र पूर्वाधार निर्माणहरू, पर्यटन र कृषिसँग जोडिएका महŒवपूर्ण कामहरू र यहाँका पूर्वाधार विकासका केही कामहरू हामीले अगाडि बढाएका छौँ । केही योजना बनाएका छौँ । यो अवधिमा नगरको प्रोफाइल पनि निर्माण गर्याैं । देवदहको आवधिक योजनाका माध्यमबाट तत्काल गर्नुपर्ने कामहरू, दीर्घकालीन कामहरूलाई प्राथमिकता दिने कामहरू भएका छन् । नगरको पर्यटन गुरुयोजना निर्माणको काम अन्तिम चरणमा छ । नगरको सडक सञ्जाल (एमटिएम) को काम अगाडि बढेको छ । गौतमबुद्धको मावली स्थलका रूपमा परिचित देवदहको पर्यटकीय र ऐतिहासिक महŒवलाई झल्काउने गरी र पर्यटकीय क्षेत्रको विकास गर्ने गरी बौद्धकालीन क्षेत्रको संरक्षणको काम र देवदहलाई पर्यटकीय नगरी बनाउनका लागि पार्क, बिहार र उद्यान निर्माणका कामहरू पनि अगाडि बढाइएको छ । एक उद्यान एक पहिचानको अवधारणालाई हामीले सुरुवात गरेका छौँ । बुद्ध अन्तर्राष्ट्रिय शान्ति उद्यान तथा संग्रहालयको परिकल्पनालाई पूरा गर्ने योजना पनि हाम्रो कार्यकालमा बनाएका छौँ ।

भनेपछि यत्ति मात्र योजनाहरूको थालनी गरियो । शिक्षा, स्वास्थ्य क्षेत्रमा खासै उपलब्धि नभएको हो त ?
होइन होइन, हामीले यही कार्यकालमा माध्यमिक तहको शिक्षालाई निःशुल्क बनाउने भनेका थियौं । तर, संघीय सरकारले शिक्षक दरबन्दीको कामलाई सही समयमा टुंग्गाउन नसकेका कारणले हामीले हाम्रो कार्यकालमा त्यो कुरालाई भने जति सम्बोधन गर्न सकेनौँ । आउने कार्यकालमा हामीले शिक्षालाई पूर्ण रूपमा निःशुल्क र गुणस्तरीय बनाउने योजना छ । सामुदायिक विद्यालयमा जुन गरिब, विपन्न र आर्थिक अवस्था कमजोर भएकाले मात्र पढ्ने शिक्षालय भन्ने मान्यता छ नि त्यसलाई भत्काएर सबैका लागि सम्मान गर्ने खालको सामुदायिक विद्यालय बनाउने हाम्रो प्रतिबद्धता छ । स्वास्थ्यमा आधारभूत स्वास्थ्यलाई निःशुल्क र प्रभावकारी बनाउने, विश्वसनीय र गुणस्तरीय बनाउने योजनाहरू प्रसस्त छन् । यस्तै, नगर अस्पतालको अवधारणालाई हामीले अगाडि बढाएर छौँ, आउने कार्यकालमा त्यसलाई पूर्णता दिएर नगगरबाटै स्वास्थ्य सेवा दिने हाम्रो प्रतिबद्धता छ । हामीले स्वास्थ्य बिमाबाट धेरै नागरिकलाई लाभ बनाउने योजनालाई रणनीतिक कार्ययोजना बनाएका छौँ ।

अनि शिक्षा, स्वास्थ्य जस्तै कृषिमा निर्भर देवदहका किसानका लागि आशा लाग्दो काम के गर्नुभयो ?
‘सरकारले किसान भेटेको छैन र किसानले सरकार भेटेको छैन, खाली बिचौलियाले मात्र फाइदा लिएको छ’ भन्ने कुरालाई अन्त्य गर्न कृषिमा हामीले उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई अत्यन्त प्रभावकारी रूपमा नगरपालिकाले कामहरू अगाडि बढाइसकेको छ । हामीले वडा नम्बर ११ र १२ मा कृषि उपज संकलन केन्द्र स्थापना गरेर कामलाई अगाडि बढाएका छौँ । यो कार्यकालमै उत्पादित तरकारीमा प्रतिकेजी ५ रुपैयाँ अनुदान कार्यक्रम सञ्चालन गरिसकेका छौँ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने र त्यसमा रोजगारी सृजना गर्ने र कृषि पेशालाई सम्मानित पेशाका रूपमा स्थापित गराउने गरी काम थालेका छाँै । हिजोको दिनमा गोवर फाल्नेलाई गोठालो र हलो जोत्नेलाई हली भन्ने जुन मान्यता थियो । तिनलाई गर्व गर्ने खालको पेशाका रूपमा स्थापित गर्ने वातावरण हामीले सुरुवात गरेका छौँ । अघिल्लो कार्यकालमा थालिएका कृषि, पर्यटन र पूर्वाधार लगायतका योजनाहरूलाई पूरा गर्ने गरी प्रतिबद्धताहरू हाम्रा छन् ।

देवदहमा अव्यवस्थित सुकुम्बासी बस्तीहरू छन्, तिनलाई त खासै सम्बोधन गरेको कुरा सुनाउनुभएन त ?
हो तपाईंले महत्वपूर्ण कुरा उठाउनुभयो । अघिल्लो कार्यकालमा हामीले रुपन्देहीमै पहिलो पटक देवदहमा सुकुम्बासी तथा अब्यबस्थित बसोबास क्षेत्रमा लगत संकलन सम्पन्न गरी जग्गा नापजाँच र कित्ताकाट समेतको सुरुवात गरिसकेका छौं । मुलुकमै नगरको क्रियाशिलतामा सुरुवात गरिएको यो कार्य पहिलो हो । आगामी दुई वर्षभित्र लालपुर्जा वितरण गर्ने प्रतिबद्धतालाई हामी पूरा गरेरै छाड्छौँ । त्यसलाई पूरा गर्नका लागि हामीले जित सुनिश्चित गर्नु छ । हाम्रै सक्रियतामा भूमिहीन तथा सुकुम्बासी आयोगसँग सम्झौता भई देवदहमा नापजाँच र कित्ताकाट सुरु गरिएको हो । त्यसलाई अबको दुई वर्षमा पूरा गर्ने गरी योजना थालिएको र त्यसलाई पूरा गर्ने जिम्मेवारी पनि उत्तिकै छ । अहिले माओवादी केन्द्र लगायतका साथीहरूसँग गरेको गठबन्धनले त्यो विजयी सुनिश्चित गर्ने पूर्ण विश्वासमा हामी छौँ ।

तपाईंले चुनाव जितेमा खासमा कस्ता योजनाहरूलाई विशेष प्राथमिकतामा राखेर काम गर्नुहुन्छ ?
देवदहका प्राथमिकता योजना भनेकै, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार र कृषि हुन् । मुख्यतः यस नगरमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्नु छ भने प्रत्येक वडामा २४ सै घण्टे स्वास्थ्य सेवा र ल्याब अनिवार्य गर्नुपरेको छ । त्योसँगै आधारभूत र अनिवार्य निःशुल्क शिक्षा, अधिकतम प्रविधियुक्त प्रशासनिक सेवा प्रदान गर्ने, देवदहलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने, नीतिगत भ्रष्टाचारको अन्त्य गर्दै सरल, सहज पारदर्शी र जवाफदेहिता सहितको प्रशासनिक सेवा दिने, कृषि उपज संकलन केन्द्र सञ्चालन र शीत भण्डारको निर्माण गर्ने, धुलो र हिलो सहित गुणस्तरीय सडक निर्माणलाई पहिलो प्राथमिकता दिने, पर्यटकीय चक्रपथ निर्माण र यातायातका साधनको नियमित सञ्चालन गरी सबै पर्यटकीय क्षेत्रमा विद्युत्, खानेपानी, शौचालयको उचित व्यवस्थापन गर्ने, ज्येष्ठ नागरिकलाई निःशुल्क घरदैलोमा स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने, एकवडाएक खेल मैदान निर्माण गर्ने, नगरभित्रका पार्क तथा उद्यानहरू स्थापना गरी पर्यटकीय गन्तव्य बनाउने, स्थानीय मिडिया, संस्था, लक्षित समूहलाई विशेष अनुदानसहित कार्यक्रम सञ्चालन गर्ने लगायतका योजनाहरूलाई हामीले गठबन्धनमै माध्यमबाट प्राथमिकतामा राखेका छौ, हामी निर्वाचित भई सकेपछि यि कामलाई हामीले प्राथमिकताका साथमा अगाडि बढाउने म गठबन्धनकै तर्फबाट विश्वास दिन्छु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?