पाल्पामा निर्वाचन सामग्री बोकेर मतदान केन्द्रतिर लागे कर्मचारी

Read Time = 4 mins

-रामचन्द्र रायमाझी
पाल्पा । स्थानीय तहको निर्वाचनमा मतदान केन्द्रका लागि खटिएका कर्मचारी सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन् । सदरमुकामदेखि टाढा रहेका केन्द्रमा जाने कर्मचारी सोमबार नै निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका हुन् । रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, निस्दी गाउँपालिका, तिनाउ गाउँपालिका र माथागढी गाउँपालिकाका मतदान केन्द्रमा निर्वाचन सम्पन्न गर्न खटिएका मतदान अधिकृतसहितको टोली मतदान केन्द्रतर्फ लागेका छन् ।

निर्वाचनका लागि आवश्यक ७० प्रकारका सामग्री बुझेर कर्मचारी मतदान केन्द्र हिडेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । टोलीमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी, प्रहरी र म्यादी प्रहरी छन् । उनीहरुले जिल्ला निर्वाचनको कार्यालयबाट मतदानका लागि चाहिने आवश्यक सामग्री र मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनबाट मतपत्र बोकेर मतदान केन्द्रतर्फ हिडेका हुन् । वैशाख ३० गते विहान ७ बजेदेखि हुने मतदानका लागि मतदान अधिकृतहरु सरसमान सहित बस, जिप चढेर सदरमुकाम छोडी गाउँ–गाउँका मतदानस्थलमा पुगेका छन् । गाउँ–गाउँमा पुगेका मतदान अधिकृत सहितको कर्मचारीहरुले बैशाख २७ गतेदेखि मतदानस्थमा घेराबार गर्ने, सर्वदलिय बैठक बसाल्ने, विभिन्न किसिमका निर्वाचन सूचना टाँस गर्ने, मतदाता परिचयपत्र वितरण गर्ने, मतदानस्थलमा मतदात शिक्षा दिने जस्ता कार्यक्रम गर्ने जिल्ला निर्वाचन कार्यालय पाल्पाका प्रमुख रुक्मागत अर्यालले बताउनुभयो । जिल्लाका १० वटा पालिकामा १ लाख ९९ हजार ६ सय ९० मतदाता रहेका छन् ।

स्थानीयतह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित बनाउन ४ वटै सुरक्षा निकायको व्यवस्थापन तथा खटन पटनलाई चुस्तदुस्त पारिएको छ । मतदानका लागि चाहिने मतपत्र रुजु गरेर मतदान अधिकृतहरुको जिम्मा लगाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत भेषराज खनालले बताउनुभयो । यहाँ स्थानीय निर्वाचनका लागि २ सय ४७ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित १ हजार ९ सय ७१ जना कर्मचारी, एक हजार ८० जना म्यादी प्रहरी, ७ सय ४ जना नेपाल प्रहरी, २ सय १८ जना शसस्त्र प्रहरी, ४ सय १६ जना नेपाली सेना खटिएका छन् । पाल्पामा १ सय १८ मतदान स्थलमध्ये ५७ वटा सामान्य, ४५ वटा संवेदनशिल र १६ वटा अति संवेदनशिल रहेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?