जेभियर र नाथमलाई उपाधि

Read Time = 3 mins

काठमाडौं । जेभियर इन्टरनेसनल कलेज र नाथमले पाँचौँ नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । जेभियर ब्वाइज तथा नाथम गल्र्समा च्याम्पियन भए । ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा जेभियरले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ७९-५५ ले पराजित गर्दै उपाधि रक्षा गर्‍यो । जेभियरका रवि पौडेलले १७ अंकको योगदान गर्नुभयो । जेभियर लगातार पाँचौँपटक च्याम्पियन बनेको हो ।

दोस्रो क्वाटरको समाप्तिसम्म गोल्डेनगेट समग्रमा पाँच अंकले अगाडि थियो । पहिलो क्वाटरमा १८-१२ को अग्रता लिएको जेभियर दोस्रोमा ८-१९ ले पछि पार्‍यो । तेस्रोमा २६-१० र चौथोमा २७-१४ को महत्वपूर्ण अग्रता बनाउँदै जेभियरले उपाधि सुनिश्चित गरेको थियोे । उपाधिसँगै जेभियरले ५० हजार नगद पुरस्कार हात पार्‍यो भने गोल्डेनगेटले ३० हजार नगद पुरस्कार प्राप्त गर्‍यो ।

गल्र्सको उपाधि भिडन्तमा झरना बज्राचार्यको १३ अंक मद्दतमा नाथमले शुभश्रीलाई ३२-७ ले सहजै हराउँदै नयाँ च्याम्पियन बन्यो । विगतका चार संस्करणको उपाधि जेभियरले जितेको थियो । जेभियर पाँचौँ संस्करणमा सहभागी भएन भने नाथम पहिलोपटक प्रतियोगितामा सहभागी भएको हो ।

नाथमले पहिलोमा १३-०, दोस्रोमा ११-१, तेस्रोमा ६-२ र चौथोमा २-४ को प्रदर्शन गर्‍यो । विजेताले ३० हजार तथा उपविजेताले २० हजार नगद पुरस्कार हात पारे ।

ब्वाइजमा जेभियरका तेन्जिङ सोनाम भुजेल र गल्र्समा नाथमकी कृषा डान्डेख्या ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । दुवैले समान पाँच हजार नगद पुरस्कार पाउनुभयो । वैशाख २१ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा आठ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । गल्र्सको राउन्ड रोविन लिगमा चार टिम सहभागी थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?