आफैंलाई पोख्न र समाजलाई समेट्न गीत लेख्छु : राधिका अधिकारी

Read Time = 7 mins

मकवानपुरको ग्रामीण क्षेत्र हटियामा आफ्नो बाल्यकाल बिताउनुभएकी राधिका अधिकारी काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना सिर्जना श्रोता/दर्शकमाझ पस्किरहनुभएको छ । सञ्चार क्षेत्रमा सक्रियरूपमा आफूलाई प्रस्तुत गर्दै आउनुभएकी उहाँ गीतकारका रूपमा पनि त्यत्तिकै सशक्तरूपमा हुनुहुन्छ । उहाँको घरपरिवारमा साहित्यिक वातावरण थियो । बुबा कविता लेख्नुहुन्थ्यो । त्यसैले पनि राधिकामा सानैदेखि साहित्यतर्फ लगाव भयो । उहाँका एक दर्जनजति गीत श्रोता/दर्शकमाझ आएका छन् भने एल्बमका रूपमा ‘किनारा’ आएको छ । ‘लेखनका हिसाबले जीवन, समाजका सबै कुरा लेखिएकै छ,’ भन्नुहुने राधिका सार्वजनिक भएका र रेकर्ड भएका सिर्जनाचाहिँ अलि बढी माया र बिछोडका हुन् भन्नुहुन्छ । जीवनप्रति गम्भीरता बोध गरेका, समाज रूपान्तरणका लागि लेखिएका गीत अब बजारमा आउने तयारीमा रहेको उहाँ सुनाउनुहुन्छ । आफैंलाई पोख्न र समाजलाई समेट्न गीत लेख्छु भन्नुहुने गीतकार राधिका अधिकारीसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः-

यहाँको बाल्यकाल कहाँ र कसरी बित्यो ?
बाल्यकाल आमनेपाली बालबच्चाहरूकै जस्तो थियो । आर्थिकरूपमा मध्यमवर्गीय परिवारमा हुर्किएर पनि शिक्षा नै सबैभन्दा ठूलो कुरा हो भन्ने मान्यता थियो बुबाको । मेरो बाल्यकाल मकवानपुरको ग्रामीण क्षेत्र हटियामा बितेको हो । सानैबाट हामीले पूरा गर्नुपर्ने दायित्व हुन्थ्यो । पढ्ने, खेल्ने, काम गर्ने सबै कुराको आफ्नै लय हुन्थ्यो । त्यतिबेला काम, पढाइ सबै कुराको बोझले थिचिएको जस्तो लाग्थ्यो । अहिले फर्किएर हेर्दा त्यो बाल्यकाल निकै सुन्दर र काव्यिक रहेछ ।

हुर्कंदै गर्दा लेखनका हिसाबले कस्तो वातावरण थियो ?
मेरो बुबा कविता लेख्नुहुन्थ्यो । तर, उहाँले आफ्ना कविता कतै छपाउनुभएन । त्यो समय पत्रपत्रिकाको सहज पहुँच थिएन । साहित्यिक पत्रिकाहरूका लागि चाहिँ म हुर्किएको समय निकै उर्वर थियो । उहाँले चाहनुभएको भए छपाउन सक्नुहुन्थ्यो पनि होला, बुबाले रहर पनि गर्नुभएन कि अथवा परिवारप्रतिको जिम्मेवारीका कारण उहाँको लेखन छायाँमा पर्‍यो । मेरा लागि भने लेखनको पहिलो प्रेरणाको जग नै बुबाको कविताको डायरी हो । स्कुलमा पनि हरेक साताजसो अतिरिक्त क्रियाकलाप भइरहन्थ्यो । कविता, गजल, गीत भन्ने र पुरस्कृत हुने क्रमले घरबाट पाएको जगलाई झन् बलियो बनायो । त्यो समय हाम्रो गाउँमा रेडियो नेपालमात्रै बज्थ्यो । टेलिभिजन त आएको थियो तर हाम्रो घरमा थिएन । मेरो लेखनलाई अझ परिष्कृत बनाउने काम रेडियो नेपालबाट प्रसारण हुने साहित्यिक कार्यक्रमले गर्‍यो । त्यो समय मनमा जे आउँछ त्यो भाव लेखिन्थ्यो, त्यो साहित्यको कुन विधामा पर्छ भन्ने खासै थाहा हुँदैन थियो । लेखनका हिसाबले सबैतिरबाट मेरो बाल्यकाल निकै प्रेरणादायी रहृयो ।

गीतलाई नै आफ्नो लेखनको मुख्य विधाचाहिँ कसरी बनाउनुभयो?
सायद गीतमा आफूलाई पोख्न अलि सहज लाग्यो । गीत रेकर्ड भएका कारण, एल्बम बजारमा आएका कारण गीत मेरो मुख्य विधाका रूपमा देखिएको पनि होला ।

किन लेख्नुहुन्छ ?
लेख्नु पोखिनु हो, लेख्नु उठाउनु पनि हो । मनमा भएका कुरालाई गीति लयमा पोखेपछि आफूमाथि प्रश्नचिहृन पनि खडा नहुने, आफैंलाई मेडिटेसनको काम पनि गर्ने । कहिलेकाहीँ समाजका कति कुरालाई गीतमा आकार दिएर उठाउन खोजिन्छ । यस अर्थमा कहिले आफैंलाई पोख्न, कहिले समाजलाई उठाउन लेख्दोरहेछु ।

के कुराले छुन्छ र लेख्नुहुन्छ ?
यही कुराले मात्रै छुन्छ भन्ने हुँदैन । आममान्छेलाई सामान्य लाग्ने कुरा हामी लेख्ने मान्छेका लागि भने बहुत संवेदनशील भइदिने रहेछन् । मेरो स्वभाव अरूको जिन्दगीमा भएका घटनाक्रमलाई आफ्नै जीवनसँग दाँजेर हेर्ने छ । त्यसैले पनि धेरै त दुखाइहरूले नै छुने रहेछ । समाज पनि त त्यस्तै छ, यहाँ खुसी पोख्ने प्रशस्तै ठाउँ भेटिन्छन्, दुःख पोख्न सक्नेले अक्षरमा रहेछ, नसक्नेले आँसुमा ।

गीतमा आफ्ना भावनामात्रै पोख्नुहुन्छ कि अरू केहीका लागि लेख्ने गर्नुभएको छ ?
मैले मेरो दुखाइलाई अभिव्यक्त गरेको गीतले उस्तै दुखाइ बोकेर हिँडिरहेको अर्को मान्छेलाई पनि मेडिटेसनको काम गर्दोरहेछ । हामी मानिसहरूका भावना साझा भएकाले पनि मेरो लेखाइ आममान्छेका लागि हो । हामी सामाजिक प्राणी हौँ त्यसैले मेरा गीत मेरो समाजका लागि हो ।

तपाईंको गीतमा माया पिरती, त्यो पनि बिछोडका कथा धेरै भेटिन्छन् । जीवनका अन्य पाटोका गीत लेख्न सहज छैन ?
लेखनका हिसाबले जीवन, समाजका सबै कुरा लेखिएकै छ । सार्वजनिक भएका र रेकर्ड भएका सिर्जनाचाहिँ अलि बढी माया र बिछोडका हुन् । जीवनप्रति गम्भीरता बोध गरेका, समाज रूपान्तरणका लागि लेखिएका गीत अब बजारमा आउने तयारीमा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?