नवौँ राष्ट्रिय खेलकुदमा एनआरएनएले १८ खेलमा भाग लिने

Read Time = 3 mins

काठमाडौं । गैरआवासीय नेपाली संघअन्तर्गतको एनआरएन स्पोर्ट्स एकेडेमीका कार्यवाहक सदस्य-सचिव धर्मराज गिरीले एनआरएनएले नवौँ राष्ट्रिय खेलकुदमा समावेश ३६ खेलमध्ये १८ खेलमा सहभागी हुने बताउनुभएको छ ।

उहाँले एनआरएनको तयारी तीव्र भइरहेको र खेलाडी विवरण संकलन भइरहेको जानकारी दिनुभयो । राखेपले तोकेको मितिसम्म खेलाडी दर्ता गरिसक्ने गिरीले जनाउनुभएको छ । आठौँ राष्ट्रिय खेलकुदमा व्यक्तिगत इभेन्ट्समा मात्रै सहभागिता जनाएको एनआरएनएले यसपटक सामूहिक खेलमा पनि सहभागिता जनाउने भएको छ । फुटबल, भलिबल र क्रिकेटका साथै बास्केटबलको पनि टिम आउने जनाइएको छ ।

क्रिकेटको टिम इंग्ल्यान्ड (युके) बाट आउनेछ । यसैगरी भलिबलको टिम अस्ट्रेलिया र युकेबाट ल्याउने तयारी गरिएको उहाँले बताउनुभयो । बास्केटबलको टिम अस्ट्रेलियाबाट आउनेछ । यस्तै, फुटबलको टिम ल्याउने जिम्मा हिमालयन फुटबल क्लब मलेसियाका अध्यक्ष सन्तोष कार्कीलाई दिइएको र उहाँले अस्ट्रेलिया र मलेसियाबाट खेलाडी छनोट गराएर टिम बनाउने गिरीले जनाउनुभयो ।

एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले पनि नवौँ राष्ट्रिय खेलकुदका लागि आफू निकै उत्साहित रहेको बताउनुभयो । विदेशमा बसेका नेपालीहरूलाई नेपालसँग खेलकुदको माध्यमबाट जोड्न पाउँदा आफू उत्साहित रहेको र प्रतियोगितामा एनआरएनएको सक्रिय सहभागिता हुने भन्दै तयारीका लागि कुनै कसर बाँकी नराख्न निर्देशन पनि दिनुभएको हो ।

खेलकुदका लागि एनआरएनएका तीनजना युवा उपाध्यक्षहरू हिमाल गुरुङ, राज रेग्मी र रोशन थापासहित संयोजकहरू अब्दुल बसिद र रविन्द्र खड्काले विभिन्न देशमा रहेका एनसिसीहरूसँग समन्वय गरिरहेको कार्यबाहक सदस्य-सचिव गिरीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?