चुनावी माहोलले नछोइएका सप्तरीका दुई बस्ती

Read Time = 7 mins

अनिल पोख्रेल/हिटा
वैशाख । मुलुक यतिबेला स्थानीय तहको निर्वाचनको संघारमा छ । तर, नेपालीकै सप्तरी जिल्लाको राजगढ गाउँपालिकाको एक मुसहर बस्तीमा भने चुनावको कुनै रौनकता देखिँदैन । मुसहर बस्तीमा चुनावको माहोल छाउन नसकेको कारण हो उनीहरूको गरिबी । हिलाम्मे र साँघुरो बाटो, निर्वस्त्र बालबालिका, त्रिपालमुनिको बास । यस्तो अवस्थाले गाँजेको छ ती मुसहर बस्तीलाई । राजगढ गाउँपालिका–१ झुटकिको सदा टोलको कथा हो यो । २० घरपरिवार बसोबास रहेको उक्त बस्तीमा स्थानीय सरकारले गरिब विपन्नका लागि कुनै पनि तवरबाट लगानी नगरिदिएका कारण उनीहरू निर्वाचनदेखि बेखबर बनेका हुन् । दैनिक ज्यालादारीले जीवन निर्वाह गरिरहेका उक्त बस्तीमा साँझ बिहानको एकछाक खानाको लागि उनीहरू संघर्षरत छन् ।

बस्तीको बीचमा बतिसलाल मनोज, प्रकाश, सुरेन्द्र, सन्तोष पाँच दाजुभाइको घर छ । घरको वरिपरि फोहोरको थुप्रो छ भने चुहिने छानामुनि उनीहरूको बसोबास रहेको छ । स्थानीय बतिसलाल सदा भन्नुहुन्छ, ‘हजुर मेरो घरको हालत हेर्नुहोस् घरमा छाना छैन, हामीले एकछाक खानका लागि ज्यालादारी गर्न जानुपर्छ । नेताको पछिपछि कुदेर हाम्रा बाल बच्चाले के खान्छन् ? चुनाव हुन्छ तर केका लागि चुनाव हुँदैछ त्यसबारे जानकारी छैन ।’ सरकारले गाउँ गाउँमा सिंहदरबार ल्याए पनि गरिब दलितका लागि होइन रहेछ स्थानीय मनोज सदाले हिमालय टाइम्सलाई भन्नुभयो । सरकारले खरको छाना उन्मूलन गरिने परिपत्र गरी बजेट ल्याए पनि उनीहरूको अवस्था भने च्यातिएको त्रिपालभन्दा माथि उठ्न सकेको छैन ।

राजगढ गाउँपालिकाको सूचना अधिकृत चन्द्रकिशोर यादवका अनुसार संघीय सरकारबाट आएको जस्तापाता दिन नसकेकै कारण लाभग्राहीको संख्या बढीले छुट्नु हो । उक्त बस्तीमा कसैको पनि नम्बरी जग्गा नरहेकाले जस्तापाता नदिएको उहाँको कथन छ । समान्य वर्षामा ओत लाग्ने ठाउँ छैन, झन् चिसोयाममा के हालत होला । बतिसलाल सदाको पारिवारिक अवस्था निकै कमजोर छ । स्थानीय सरकारले गरिव विपन्नका लागि ल्याएको जनता आवास कार्यक्रमले पनि यस्ता बस्तीका स्थानीयलाई छुन सकेको छैन । जुन, विडम्बनापूर्ण छ ।

जनमत पार्टीबाट मेयरका उम्मेदवार अशोक साहले जनताको सुखदुखमा सहयोग नहुनु स्थानीय सरकारको निकम्मापन भएको बताउनुभयो । यस्तै, सप्तरीकै डाक्नेश्वरी नगरपालिकामा चुनावी माहोल रहे पनि वडा नम्बर ५ स्थित मुसहर बस्तीका विपन्न समुदायलाई भने चुनावी सरगर्मीले अझै छुन सकेको छैन । १५० जति घरधुरी रहेको सो मुसहर बस्तीका स्थानीय चुनावप्रति उदासीन झैँ छन् । कारण हो उनीहरूका समस्याप्रति जनप्रतिनिधिहरूको उदासीनता । वर्षामा डुबान, बाटोघाटोको कठिनाइ, गरिबी, बेरोजगारी लगायतका समस्याले पीडित रहेका उनीहरू जसले जिते पनि आफूहरूका लागि केही गरिदेलान् भन्ने आशा मरिसकेको बताउन थालेका छन् । ‘पहिले पनि यसैगरी अनेक सपना देखाउँदै भोट मागेका हुन्’ स्थानीय जलेश्वरी देवी सदाले भन्नुभयो- ‘सपना सपनामै सीमित भयो, काम केही पनि भएन ।’ बस्ती छेउकै पोखरीमा वर्षायाममा पानी जमेर घर डुबानमा पर्ने गरेको बताउँदै उहाँले पानी निकासीका लागि जनप्रतिनिधिलाई भन्दासमेत कुनै सुनुवाइ नभएको पीडा पोख्नुभयो । ‘हामी जस्ता असहायलाई डुबानमा परेको बेला पनि हेर्दैन भने जनप्रतिनिधिको के काम ?’ उहाँले थप्नुभयो, ‘काम हुनेछ भने विश्वास जसले दिलाउन सक्छ हामी उसैलाई भोट दिन्छौँ ।’

सोही बस्तीकी ७५ वर्षीया बुलो सदाले गाउँमा उपचारको व्यवस्था नरहेको बताउँदै बिरामी परेको बेला आफूहरूलाई पैसा तिरेर उपचार गर्न पनि समस्या रहेको पीडा पोख्नुभयो । वडामा रहेको स्वास्थ्य संस्थामा निःशुल्क औषधी दिने भनिए पनि लिन गएको बेलामा रित्तो हात फर्किएर आउनुपरेको उहाँको गुनासो छ । चुनावका बेला जुलुसमा जानलाई बोलाएर दिनभरि घुमाउँदै भोकभोकै फर्काइदिएको कारण मुसहर बस्तीकी बुल्नतीदेवी सदाले निराशा व्यक्त गर्नुभयो । दलित बस्तीमा कतिपयले जनता आवास कार्यक्रमबाट निःशुल्क पक्की घर पाएको तर आफूहरूका लागि कुनै जनप्रतिनिधिले पहल नगरिदिएकोमा उहाँ असन्तुष्टि व्यक्त गर्नुहुन्छ ।

१५० घरधुरीमा एउटा मात्रै ट्युवेल रहेका कारण पिउने पानीको समेत अभाव खेप्नु परिरहेको उनीहरूको गुनासो छ । पानीसम्म पिउन नपाएको बारेमा जनप्रतिनिधिलाई पटक-पटक भन्दा पनि कुनै सुनुवाइ नभएको जलेश्वरी देवी सदाले बताउनुभयो । ‘रोजगारीको व्यवस्था गर्ने भनी पहिले पनि आश्वासन नदिएका होइनन्’ उहाँले भन्नुभयो, ‘हाम्रा यावत समस्याको बारेमा समाधान जसले गर्छु भनी विश्वास दिलाउँछ उसलाई मतदान गर्नेछौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?