तोरी-कोदो मिसी न तेल न पिठो

Read Time = 14 mins
A A- A+

✍️ प्रा.डा. कुलप्रसाद कोइराला
अचेल नेपालमा राजनीतिक असार लागेको छ । नेपाल कृषि प्रधान देश हो । असार खेती लाउने महिना हो भने मंसिर खेती उठाउने महिना हो । असारमा रोपेको खेतीलाई पनि मलजल र झारपात झिकेर गोडमेल गरेको छैन भने मंसिर रमाइलो हुँदैन । जेठमा राख्ने बिउ पनि बिजयुक्त अब्बल अन्न छ रे मात्रै बिउ उम्रन्छ । त्यस्तो अन्नको मात्रै दाना घोगा जे लाग्नुपर्ने हो त्यो राम्रो गरी लाग्छ पनि । बिउमा नुन परो, सडेका गलेका दाना परे राम्रो बीज हुँदैन । बीज नराम्रो भए बिरुवा उम्रँदैन ।

यति ज्ञान नेपाली सबै किसानका छोराछोरी बुढाबुढीलाई छ पनि र हुन्छ पनि । अहिले मैले किसानीका निहुँले राजनीतिलाई पेशाका रूपमा अथ्र्याउने र अपनाउने छद्मभेषी छेपाराका सम्बन्धमा कुरा गर्नु पर्दा कृषिलाई अभिव्यक्ति माध्यम बनाएको हुँ । तोरी र तिल मिसाएर कोलमा हाले तेल आउँछ । तिलमात्रै या तोरीमात्रै पेल्दा पनि तेलै आउँछ । त्यसरी नै धान र कोदो मिसाएर पेल्दा तेल त आउँदैन तर पिठो पनि हुँदैन । पिठो बनाउन पिँध्नुपर्छ पेलेर हुँदैन । म सानो छँदा मेरा घरमा हली बसेको एकजना मगर दाइका घरमा गएको थिएँ । भाउजूले कोदाको र मकैको पिठो मिसाएर ढिँडो ओडाल्दै रहिछन् ।

सेतो र कालो रङ मिसिएको देखेर मैले सोधें-माइली भाउजू ! के पकाको ? कथुरे पकाको बाबु, खानुस् भनौं भने वर्तन गरिसक्नु भयो भनिन् । घरमा आएर आमासँग रोड्याइँ गरेँ आमाले माइली भाउजूसँगै दुवै खाले पिठो मागेर मलाई खान भनेर ढिँडो ओडल्दिनुभयो । मैले एक गाँस पनि निल्न सकिन । आमाले गाईका खोलेमा हालेर गाईलाई दिनुभयो । पछि वसन्त काजी र म सोलु जाँदा लाम्जुराका लेकमा कोदाको ढिँडो खाने भनेर वसन्तले भनेपछि ३६५ रूपैयाँमा एक डल्लो ढिँडो र अचार तरकारी बन्दोबस्त गरेका थियौं । हाम्रो झोला बोक्ने दाइ र वसन्तले मिठो मानेर खाए ।

मैले फेरि पनि खान सकिन र दुई माना चौंरीको दूध पिएर लाम्जुराको उकालो उक्लेथेँ । हाम्रा देशमा अचेल राजनीति छैन । लाजनीति पनि छैन किनभने कोही पनि लाजै मान्दैनन् । माले, काले, तिल्के, पुत्ले, पांग्रे सबैको एउटै गठजोड कि ठगजोड छ । देशैभरि कथुरे उद्योग चलेको छ । तँ बाहुन् म बाहुन घरका पैसा अन्त नजाऊन् । सैद्धान्तिक दृष्टिले हङ पार्लियामेन्ट भयो । देशले बाक्लो चुनाव खर्च धान्न सक्दैन भनेर देश चलाउन निश्चित अवधिका निमित्त साझा या मिलीजुली सरकार चलाउन सकिन्छ तर मतदानमा आफ्नो लागिबाहेक अरूका लागि भोट माग्नु भनेको सर्प, बिच्छि, भ्यागुतो र गँगटाको जमघट हो भन्नै पर्छ । मूल्यमान्यताको स्खलन हो नै ।

कति राम्रो कुरो कुकुरको पुच्छर काटिदियो अनि भनो यसको पुच्छर गुँडुल्की परेको छैन, अतः यो गधा हो । सबैले हो हो पाडरी पाडरी गरिहाल्छन् । मान्छे किनेर, धम्क्याएर, बाँडचुँड गरेर जसरी पनि कुनै दलको लिँडे नेता चाहिँ बन्नुपर्ने रहेछ । जैसी बाजेले त्यति नजान्दा यता न उता लपर जुता भयो । अब त सिके होला भनेको चरण दास बन्न पो पुगेछन् । यति गर्न जानेपछि काम चाहिँ सधैं त्रिखुट्टी गरे हुन्छ । आफ्ना र आफन्तको भलो सोचेर गधा, घोडा, घोडगधा र खच्चडलाई एकै ठाउँमा जोल्ठ्यायो अनि भनो राष्ट्रिय आवश्यकताले यसो गरेको । गधालाई जाँता बोकायो, घोडामाथि चढो, खच्चड र घोडगधालाई बेस्सरी भारी बोकायो क्या गज्जब ।

यो पो हो त राजनीति । द इम्परसर्् न्यू क्लोथको बदशाह बनेर ठगबन्धनका कुरा नमान्ने सिद्धान्तनिष्ठ भनाउँदालाई कारबाही गरिदियो । न बाँस रहन्छ न त बाँसुरी नै बज्छ । दाल, चामल मिसाएर खिचडी बनाउ घ्यूसँग खाऊ । दाल, भात र अचार, तरकारी बनाउने झ्यौला किन ? कताको दही दूध कताको मोई, नुन न खोर्सानी ? आहा क्या मजाको मदौरे खाना । खाना मदौरे भदौरे हुन्छ भने राजनीति मदौरे भदौरे किन नहुने ? कोदो र तोरीको मेल पिठो न तेल । हाम्रा देशका अति बुद्धिमान् नेताले आविष्कार गरेको यो राजनीति भनेको कसैले विरोध गर्नु नहुने/नपर्ने जसले जे चाहृयो त्यही हुने राजनीति हो ।

जसका स्वास्नी बिक्छन् उसले स्वास्नीको पनि सुक्रीबिक्री गर्न पाउने । जसका छोरी बिकाउ छन् उसले छोरी बेच्न नपाए देशमा अप्ठ्यारो पर्ने भनिदिए हुने । करनी र कथनीमा तालमेल कसले खोज्ने भेडा जनता भएपछि । उचित वनका वर्तमान कांग्रेस सभापतिले कति मजाले काँचुली र बोली फेरे । भोलि कसैकी छोरी र कसैकी स्वास्नी हारे आन्दोलन, बमबारिङका कार्यक्रम घोषित गरिदियो, लाटाबुंगा निक्लेर गाडी जलाउने मान्छे तर्साउने गरिहाल्छन् अनि छोरीका ठाउँमा बुहारी अघि सारो, स्वास्नीका ठाउँमा छोरो, आहा ! अहिलेको काइदा जसो गरो उसै फाइदा ।

आगाले पोलेकालाई आगैमा सेकाउनु । ओलीले अन्तिम प्रधानमन्त्री भनेका मान्छे त ओलीकै अंशियारले काँधमा बोकेर कुर्सीमा राखे हेर त ज्योतिषको कमाल । शेखर नागेशमा बेहाल, राचपौ सपनाका राष्ट्रपति शशाङ हातको छाला उक्काउँदै निहाल, माधव, प्रचण्ड र देउवाका भाग्यमा सातपत्रे कमाल । बेलामा बुद्धि आएको भए विमल किन पुग्थे विराटनगर । कसैकसैको त जातै जम्दार । जिरामरिचको पोको पार्दापार्दै वार्गेनिङमा परो चिट्ठा । ओलीको बोली चर्को बुद्धिमा लागेको बिर्को उघ्रे पो हुन्छ मान्छेको लर्को ।

मान्छे चरित्रहीन भयो भने उसले जीवनमा दुःख पाउँछ । सामाजिक सम्मान पाउँदैन । नेता बिग्रँदा धनी बन्छ । सात पुस्तालाई पुग्ने धन कमाउँछ भनेर केटाकेटीले बुझ्ने गरी हाम्रो राजनीति हामीले बिगार्‍यौं । स्वास्नी छोराछोरीको र नातागोताको चिन्ता साधारणले गर्छन् । राष्ट्रिय दायित्व बोकेका मान्छेले राष्ट्रको या समाजको चिन्ता गर्नुपर्ने सामान्य लक्षण पनि अहिले नेपालमा भेटिँदैन । मेरै दलले जित्नुपर्छ, मैले नै पाउनुपर्छ भनेर निर्णय नहुन्जेल प्रयास गर्नु राम्रो हो तर निर्णय कर्ताले पनि स्वच्छ चरित्र भएको, नसनाता नपर्ने, सक्षम, लोकप्रियलाई अनुमति दिनुपर्ने कुरो पालन नगरी बृफकेस एक हातले लिएर अर्का हातले अनुमतिपत्र दिने काइदा भनेको देश समाज भाँडमा जाओस् मेरो हालीमुहाली चलोस् हो ।

विगत केही वर्षदेखि नेपाली कांग्रेस जो यस देशको सबैभन्दा पुरानो र प्रजातान्त्रिक मूल्यमान्यताप्रति प्रतिबद्ध दल हो त्यो कुराउनी कुहेर गनाए जस्तो भएको छ । यस दलमा सुशीला कोइराला, रोसा कोइराला, नोना कोइराला, मंगलादेवी सिंहजस्ता नारीले कहिल्यै केही खोजेनन् । यिनीहरू नेपाली कांग्रेसका कुनै पनि नेता पुरुषभन्दा कमजोर थिएनन् । गणेशमानजीले सक्रिय राजनीति छाडेपछि मात्रै मंगलादेवी जस्तो स्वर्र्णीम चरित्र भएकी नारी चुनावको मैदानमा आएकी थिइन् र पनि नेपाली जनताले आमा छोरा दुवैलाई अस्वीकार गरेका थिए ।

आज त्यही परिवारको चरित्र र चिन्तन सबैले देखेकै छन् । तिनले देश र जनता अनि प्रजातन्त्रका निमित्त ज्यान हत्केलामा राखेर घरभित्र र बाहिरको काम गरेथे । समाजमा आमा भनिन्थे, भाउजू मानिन्थे । कहिल्यै आफ्ना पति, देवर या यस्तै कसैलाई पनि कुनै कुरामा दबाब दिएको सुनिएन । सरोज कोइराला रहुन्जेल लीला कोइराला पनि राजनीतिमा आइनन् । सरोजको हत्यापछि पार्टी, देश र जनताका तमाम काम गरेर उनी कांग्रेसकी नेतृ बनेको उदाहरण सबै सामु छर्लंगै छ । शैलजा आचार्य आफ्नै बलमा राजनीति गरिन् ।

मीना पाण्डे जो आफ्नै बलमा राजनीति गरेर मन्त्रीसम्म बनेकी थिइन् । तर आज यसै दलमा पति, ससुरा आदि लगायत नाताले राजनीतिका मैदानमा ओर्लने प्रक्रिया बढेको छ । विदेशमा पुगेका पनि फर्केर आएर बाबुका कारण राजनीतिमा आएर आफ्नै पितालाई बद्नाम गर्नेसम्मका चरित्र देखिए । छोरी ज्वाइँका निमित्त मरिहत्ते गर्नेका गन्गन पनि सुनिँदै छन् । काम्लामा सातु मुछ्ने उद्योग यत्रतत्र सर्वत्र चलाइएको छ ।

ऐतिहासिक कालखण्डदेखि नै मध्यवर्ती बनेर दक्षिणपन्थी र वामपन्थीलाई दायाँ र बायाँपाश्र्वमा राखेर अघि बढ्दै आएको नेपाली कांग्रेस वाम बैसाखीमा निर्भर बनेको रमिते बनेर जनता टुलुटुलु हेरेर बस्न विवश पारिएका छन् । कसैले गलत भयो भनेर विरोध गर्‍यो भने ऊ निष्काशनमा पर्दछ । खाए खा नखाए घिच भनेर पार्टी नै राणातन्त्र या तानाशाही चरित्र प्रदर्शनमा ओर्लेको छ । प्रजातन्त्र के गधा, गाई, कुकुर जुन जनावरका टाउकामा लाए पनि सजिने सुहाउने फ्री साइजको परिधान हो ?

होइन भने वर्तमान नेपाली कांग्रेसले अख्तियार गरेका कुराको राम्रो समीक्षा गरेर दण्डित हुनुपर्नेलाई दण्डित नगरी अब यो पार्टी अघि बढ्न नसक्ने बन्दै गएको देखिन लागेको छ । चेतना भएका मान्छेले यी सबै कुराको भोलि मूल्यांकन गर्ने नै छन् । आजझैँ कोदो र तोरी पेलेर तेल निकाल्ने मूर्ख काम गर्ने छैनन् । पानीमा भेटिएको भन्दैमा भ्यागुतालाई माछो ठानेर खाने काम गर्ने छैनन् । अन्त्यमा : उसले गुलियो खायो, मुख मिठ्याउँछौ किन ? उसले गु लियो खायो, बरु तिमी छिः छिः भन ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?