बर्खा र जोखिम व्यवस्थापन

हिमालय टाइम्स
Read Time = 7 mins

अहिले मध्य बर्खा चलिरहेको छ । पानी परिरहेको छ, किसानहरू खेतीपाती गरिरहेका छन्, समय आधाआधी गइसकेको छ । खेतीका लागि पानी चाहिन्छ, कतिपय ठाउँमा सिँचाइको व्यवस्था छैन र आकाशे पानीको भर पर्नुपर्छ । त्यसका लागि वर्षा जरुरी छ । यस वर्ष खडेरीको प्रकोप भएको सुनिएको छैन तर धेरै ठूलो वर्षाद् भएको पनि छैन । सामान्यतया आवश्यकताको परिपूर्ति हुनेगरी पानी परिरहेको छ । तर, बर्खा हो ऋतुकालीन विशेषताहरू प्रकट भई नै रहन्छन् र भइरहेका पनि छन् । मनसुन बिस्तारै सक्रिय भइरहेको छ । देशका विभिन्न भागमा मनसुन वा वर्षात्का कारण उत्पन्न हुने समस्या एकपछि अर्को गर्दै देखा परिरहेका छन् ।

केही हप्तापहिले देशको पूर्वीभाग बाढीपहिरोबाट प्रभावित भयो, धेरै मानिसले ज्यान गुमाउनु पर्‍यो । प्रकृतिले आफ्नो विशेषता समयानुसार प्रकट गर्दै जान्छ । त्यसबाट जोगिने र उचित लाभ लिने काम भने मानिसले मौका हेरेर गर्नुपर्ने हुन्छ । विशेषगरी भिराला-ओराला बस्तीका बासिन्दाले यसबेलामा सतर्कता अपनाउनुपर्ने हुन्छ । नदी किनारका बासिन्दा पनि सतर्क रहनुपर्छ । हाम्रो देश पहाडी मुलुक हो । यहाँका अधिकांश सडक, नदीका किनारैकिनारबाट र पहाड कपेर बनाइएका छन् । त्यसकारण बर्खामा नदीको पानी बढेर पहाडमा पहिरो झरेर सडक अवरुद्ध हुने समस्या दिनहुँजस्तो देखापरिरहेको छ । यो प्राकृतिक प्रकोप हो र नियन्त्रण बाहिरको विषय हो तर केही हदसम्म मानिसले सावधानी अपनाएर यस्ता समस्याबाट जोगिन सकिन्छ ।

अहिले देशका विभिन्न ठाउँमै वर्षात्जन्य विपद् देखापरिरहेकै छन् । त्यसमध्ये नारायणगढ मुग्लिन सडकखण्डमा भने बढी समस्या देखापरिरहेको छ । बाटो अवरुद्ध हुने र यातायातका साधन रोकिने क्रम दिनदिनैजसो भइरहेको छ । बनेपा-बर्दिवासको बाटो खुलेदेखि पूर्वबाट आउनेजानेका लागि यही बाटो प्रयोग भइरहेको छ । सो मार्गमा जसले गर्दा त्यति ठूलो समस्याको सामना गर्नुपरेको छैन । तर, पश्चिम नेपालबाट आउनका लागि वैकल्पिक सडक नभएकाले सोही सडकको प्रयोग नगरी विकल्पै छैन । सोही सडकमा पहिरोको अवरोध भएपछि उपत्यका आउजाउ गर्नेलाई समस्या भएको छ । विदेश जाने टिकट लिएकाहरू, बिरामी लिएर उपत्यकामा उपचार गर्न आएका पनि रोकिनुपरेको छ । बर्खायाममा हिँड्ने भनेकै जरुरी काम परेरै हो ।

यात्रा गर्दा बाटोमा रोकिनुपर्दा यात्रुका सबै प्रकारका काममा बाधा पर्न जान्छ । उक्त सडकखण्ड स्तरोन्नति गरिएको र फराकिलो बनाइएको पनि छ तर बाटो बनाउँदा भीर-पहरोहरू खल्बलिएकाले बढीपहिरो गइरहने समस्या देखिएको हो । जापानले बनाइदिएको सिन्धुलीको बाटो प्रकृति नखल्बल्याई बनाइएको हुँदा तुलनात्मक रूपमा जोखिममा त्यति पर्दैन । सामान्यतया जरुरी कामबाहेक घुमफिर र मनोरञ्जनका लागि गरिने यात्रा यो समयमा नगर्नु नै उचित हुन्छ । जरुरी काममा कतै जानुपर्दा सकेसम्म बढी सुरक्षित रहने गरी वैकल्पिक मार्गको छनौट गर्नु उपयुक्त हुन्छ । जोखिमी बाटोबाट यात्रा गर्दा सतर्कताका साथ अवस्था र परिस्थितिको अन्दाज गर्दै अगाडि बढ्नु उचित हुन्छ । खानेकुरा र औषधिहरू बोक्नुपर्छ ।

सरकारले आवश्यकता अनुसार सूचना संप्रेषण गरिरहनुपर्छ । परिस्थिति प्रतिकूल बनेको अवस्थामा सवारीसाधनमा रोक लगाउनुपर्छ । दुर्घटना नहोस् भनेर सावधान रहनुपर्छ र यदि दुर्घटना भइहालेका खण्डमा उद्धार तथा उपचारका लागि पर्याप्त संशाधन र जनशक्ति परिचालन गर्नुपर्ने हुन्छ । कसैका लागि यो दुरुह यात्रा गर्नै छ र यो बाध्यात्मक छ । समस्या पैदा भएर सडक अवरुद्ध भएका ठाउँमा पाँच गुणा महँगोमा सामान बेचेर आर्जन गर्नेहरूका लागि यो अवस्था कमाउको माध्यम बन्न पुगेको छ भने रोकिएकाले जतिपरे पनि खाएर ज्यान बचाउनु परेको छ ।

त्यतिमात्र होइन मानिसलाई बाहना चाहिने हो । ठूला व्यापारीले बाटो बन्द भएर सामान आएन भन्ने बाहना बनाएर कालोबजारी गर्न पाउँछन् । मानवीय भावना त्यागेर स्वार्थप्रेरित बनी आफ्ना भण्डार भर्ने मौकाका रूपमा तिनले यस्ता अप्ठ्यारालाई प्रयोग गर्ने गरेका छन् । सरकारमा बस्नेहरूले समेत त्यस्ता व्यापारीसँग मिलेर बद्नियतपूर्वक काम गर्न सक्छन् तर यी सबै गैरजिम्मेवारीपना हटाएर यसरी अलपत्र पर्नेहरूलाई अरू कुनै उपाय अपनाएर भए पनि गन्तव्यसम्म पु¥याउने व्यवस्था गर्ने र तिनलाई सुरक्षित गर्ने काम अन्ततः सरकारकै हो । सरकारका कदममा साथ दिने काम मात्र सर्वसाधारणको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?