स्थानीय निर्वाचनमा सर्वसाधारण जनता

Read Time = 15 mins

✍️ मेघनाथ दाहाल
हाम्रो उमेरका पुस्ताले आवधिक निर्वाचनको रन्को प्रजातन्त्रको पुनःस्थापनापछिको समयमा मात्र बुझ्न थालेको हो । प्रजातन्त्रको पुनःस्थापनापछिको विसं २०४८को पहिलो संसदीय निर्वाचनको समयमा म भर्खर १४/१५ वर्षीय अल्लारे समयका सदस्यका रूपमा थिएँ । दल चिन्थ्यौं तर तिनका भन्ने कुरा धेरै बुझेका थिएनौं । जानी-नजानी छरछिमेकीका कुरा सुनेर एवं सानोतिनो भीडभाड मन पर्ने उमेर भएकाले हुनसक्छ, दलहरूको र्‍याली तथा भाषण सुन्ने काममा समय दिएको आज पनि याद छ ।

फेरि के पनि भन्ने गरिन्थ्यो भने अब आउने दिनमा अभाव, बेरोजगारी तथा अफ्ठ्यारा दिन सकिने छन् र समाजमा सुनौला दिनको सुरुवात हुनेछ । यस्ता कुरामा मलजल गर्ने काम आफ्नो गाउँटोल वरिपरि र नातागोताबीचको वातावरण तथा संगत हुनेगरेको थियो । म पूर्वी नेपालको भित्री मधेसको जुन भूगोलमा हुर्कें बढेँ, त्यसलाई आजको दिनमा कम्युनिष्टहरूको संगठानिक हिसाबमा सबैभन्दा उज्ज्वल र मलिलो स्थान भनेर चिनिने गरिन्छ ।

तर, समयको खेल, यस्तो लालभूमिमा हामीले विगत १५ वर्षदेखि आजसम्म संसदीय र स्थानीय निर्वाचनमा समेत कांग्रेसी नेता तथा कार्यकर्तालाई विजयी गराउन सफल छौं । माओवादीहरू भर्खरैमात्र खुला राजनीतिमा आए, जुनबेला उनीहरू राजनीतिक राप, ताप र प्रकाश सबै किसिमले सुसज्जित हुँदा नेपाली कांग्रेसको निरन्तरको जितको पछाडि सर्वसाधारण जनताको माया ममता तथा लगाव हो ।

पञ्चायती कालमा लामो समय निर्माण, यातायात तथा सञ्चारमन्त्री पाएको मेरो जिल्लालाई तत्कालीन मन्त्रीले आफ्नो नसम्झिँदा चहराएको घाउमा महम लगाउने काम डा.नारायण खड्काले गर्नु भएकाले कांग्रेसप्रतिको मोह एकाएका बढेर आयको हो । सर्वसाधारणको कांग्रेसप्रतिको मायाको प्रमुख कारण पूर्वाधारको विकास तथा व्यवस्थापनसँग जोडिएर आउने अन्य विषयवस्तु हुन् ।

आजको केही दिनपछि एकैसाथ मुलुकभर हुने स्थानीय निकायको चुनावी माहोलबीचमा यी कुराले धेरै महत्व राख्ने गर्दछ । हालका दिनमा हामीले अंगीकार गरेको हालको शासन प्रणालीमा स्थानीय निकाय प्रान्तीय तथा संघीयभन्दा सशक्त भूमिकामा छन् । स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिको सोच, व्यवहार, दूरदर्शिता र पारदर्शिता जस्ता पक्षले विकासको आधारशीला तय गर्ने भएकाले दलभन्दा व्यक्ति र उनीहरूको सोच तथा व्यवहारलाई सर्वसाधारण मतदाताले सूक्ष्म रूपमा नियालिरहेका हुन्छन् । धेरै व्यक्तिको शाहदत तथा पसिनाद्वारा केन्द्रीकृत सरकारी कामकाज तथा सेवासुविधा जनताकोमा लैजान गरिएको संघीयतासहितको गणतन्त्रको फल्ने तथा फुल्ने काममा स्थानीय निकायको सफलताले सबैभन्दा उच्चस्तरको मापकको काम गर्दछ ।

बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिमा आवधिक निर्वाचन निरन्तर चलिरहने प्रक्रिया भएकाले अस्वाभाविक हुने कुरै भएन । तर, मतदाता र यिनको मन मष्तिष्कले चाहिँ के कस्ता कुराको आशा भरोसा जनप्रतिनिधिबाट माग्दो रहेछ । कस्ता जनप्रतिनिधिले आममानिसका सुखमा मात्र नभएर दुःखमा समेत साथ दिँदा रहेछन् र सबैभन्दा मुख्य कुरा निर्वाचित भइसकेपछि कसले आफूलाई दलको भन्दा बढी जनताको बनाउन सक्छ भन्ने कुराले स्थानीय निर्वाचनमा भूमिका खेलेको पाइएको छ । तीन दशकभन्दा लामो प्रजातान्त्रिक अभ्यासमा धेरै कुरा सुनियो । धेरै गतिविधि नजिकैबाट देख्न तथा भोग्न पाइयो । सञ्चार तथा सूचनाको विकासबाट टाढा र दुर्गम एवं सुगम स्थानका सूचना मनन् गर्न पाइयो ।

समाज, मुलुक र विकासलाई एशियाबाट अझमाथि युरोप, अमेरिका पु¥याउने चीन, सोभियत बनाउने जस्ता कुराले के कति सार्थकता पाए भन्ने कुरा त हामीले दिनानुदिन भोगिरहेको आजभोलिको समयले नै बताइरहेको छ । कम्युनिष्ट विचारधारा र गतिविधिबाट प्रभावित दल, तिनका क्रियाकलापले मुलुकमा चाँडै नै असमानता घट्ने र सामाजिक न्यायका लागि कोही कसैसँग रोइकराई गर्नु नपर्ने कुरा गरिरहेका हुन्थे ।

आफूलाई उच्च स्तरको प्रजातान्त्रिक भन्न रुचाउने दलहरूले स्रोतसाधनको उत्पादनमुखी प्रयोगको माध्यमबाट बेरोजगारीको अन्त्य तथा समाजिक-आर्थिक विकास तथा उन्नतिको उभार ल्याउने कुरा बेलाबखतमा गरिरहेका पाइन्थ्यो । मुलुक नसोचेको समयमै सिंगापुर वा अमेरिका जस्तो बन्ने कुरा गरिरहँदा लाटा-सोझा नेपाली होमा हो मिलाएर निरन्तर सहयोग गरिरहेका थिए । तत्कालीन समयमा विद्यमान शासन प्रणालीले मुलुकका यावत समस्यालाई नसुल्झाउने उद्घोषका साथ माओवादीले हतियारसहितको मोर्चमा साथ सहयोग गर्नपछि नपरेका नेपालीले आजभोलि आफ्नो दैनिकीमा मुलुकको यथार्थता र वास्तविकता भोगिरहेका छन् ।

त्यसैगरी स्थानीय, क्षेत्रीय, जातीय, सांस्कृतिक, भौगोलिक विशेषताको उचित कदर नभएको महसुस गर्दै राज्यको सबै अंगमा, तराईलगायत जातजाति तथा सम्प्रदायको उचित तथा न्यायिक भूमिकाको माग गर्दै गरिएको तराई केन्द्रित कतिपय दलको राजनीति तथा व्यवहारबाट सर्वसाधारण अछुत छैनन् । यसको साथै क्षेत्रीयताको नारासहित त्रिसठ्ठी सालपछि सुरु गरेको राजनीतिक मुद्दाहरूले कत्तिको सफलता पाउन सके भन्नेजस्ता कुरा सर्वसाधारणले नजिकबाटै नयालिरहेका छन् ।

यसैबीच आफ्नो ऐतिहासिक अस्तित्वदेखि नै स्वतन्त्र हिन्दुत्व र सनातनी हाम्रो धर्म तथा संस्कृतिको मुलुक भएको नाताले सो विशेषता अक्षुणताको माग गर्दै राजासहितको प्रजातान्त्रिक व्यस्थाको माग गरिरहेको एक पूर्वपञ्चको दल समक्ष छ । विगत पच्चीस वर्षदेखि एकछत्र राज गरिरहेका कमल थापालाई पूर्णतः प्रजातान्त्रिक विधिद्वारा पाखा लगाएर राजेन्द्र लिङ्देनको आगमनले अबको राजनीतिमा केही अर्थ राख्ने देखिन्छ । अघल्लो स्थानीय निर्वाचनमा काठमाडौंमै भए पनि नयाँ दल तथा सम्भावनाको थालनी भएको सानो संकेत साझाको उम्मेदवारले दिएकोमा यसपालि उनीहरूले राजनीतिक मैदानमा उपस्थिति जनाए पनि लगभग गुमनाम स्थितिमै छन् ।

निर्वाचनको क्रममा ल्याइएका विविध बाचाबन्धन तथा प्रतिज्ञा र जनतामाझ सेतुको काम निर्वाचित जनप्रतिनिधिद्वारा हुनुपर्ने हो । यसैका लागि प्रजातान्त्रिक विधि र प्रक्रिया भएको मुलुकमा आवधिक निर्वाचनको प्रक्रिया स्थापित गरिएको हो । तर, के यथार्थमा यो सर्वसाधारणले यस कुराको महसुस गर्न पाएका छन् त ? यदि गुलिया र मिठा वचनहरूको सट्टा साँचो अर्थमा काम गर्ने तत्परता देखाउने हो भने मात्र पनि जनताहरूमा राजनीति निर्वाचन नेता तथा दलहरूप्रति उत्साह एवं सद्भाब पलाउन सक्ने वातावरणको सिर्जना विस्तारै विस्तारै हुँदै जाने थियो । तर, विडम्बना समयले हामीलाई यो कुराको अनुभूति गर्नै दिएको छैन ।

स्थानीय निर्वाचनको मुखैमा यी र यस्ता किसिमका प्रसंगको औचित्य भनेको नै हाम्रो अमूल्य मताधिकारको प्रयोग सही र उचित तरिकाले हुन सकोस् भन्ने शुभेच्छा नै हो । मुलुकभरिका एक करोड त्रिहत्तर लाखभन्दा माथिको संख्यामा भएका मतदाताले गरेको निर्णयले अबको पाँच वर्षसम्म स्थानीयस्तरको सरकारको छनौटमात्र नभएर यसले भोलिको नेपाली राजनीति, समाज विकास र मानवीय मूल्य मान्यताको साथमा मुलुकको दिशा निर्धारण गर्दछ । व्यक्तिको एक मत निर्णायक हुनसक्ने भएकाले कसैले आफ्नो अमूल्य मताधिकारको प्रयोग अवाञ्छित तत्वको बहकाउमा नलागी गर्न सकेमा माम्रो आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकारको पहिलो खुट्किलोमा प्रवेश गर्न सक्ने थियौं ।

यदि समय, आफ्नो अमूल्य मत तथा मताधिकारको प्रयोगमा विवेक प्रयोग गर्न नसकेमा वा सही राजनीति तथा नेतृत्वको छनौट हुन नसकेको स्थितिमा समय, स्रोतसाधन, सम्भावना तथा विधिको शासनजस्ता धेरै कुरालाई हामीले पाखा लगाएर हठी, अप्रजातान्त्रिक र धेरै हदमा निरंकुशताको नजिक भएकासँग मिलेर बस्नुपर्ने बाध्यता आइपर्न सक्ने हुन्छ ।

अन्त्यमा, निर्वाचानमा हामीले खेल्ने भूमिका भनेको धेरैवटा नागरिक दायित्वमध्येको एक हो । सर्वसाधारण जनता स्वयं रैती बन्ने कि नागरिक बन्ने कुराको निक्र्यौल यो प्रक्रियाले गर्ने भएकाले सचेत हुनुपर्ने हाम्रो धर्म हो । बितेको पाँच वर्षमा कतिपय स्थानमा धेरै सम्भावना भएको स्थानमा कत्ति पनि काम नभएको र कत्तिपय असाध्यै कम सम्भावना भएको स्थानमा हामीले सोचेभन्दा धेरै जनताका काम भएका उदारहण भएकाले मतअधिकारको प्रयोगमा सर्वसाधारणले उत्तिकै ख्याल राख्नुपर्ने हुन्छ ।

साथमा निर्वाचन एक नितान्त प्राविधिक कार्य भएकाले यसका कतिपय आचारसंहिताका कुरा तथा मूलधारका दल तथा सिनियर कार्यकर्ता र नेताहरूले खेल्ने भूमिकाले धेरै कुराको निर्धारण यो समग्र प्रक्रियामा भूमिका खेल्ने भएकाले राजनीतिक दल शंवेदनशील हुनुपर्ने देखिन्छ । मुलुकको सुरक्षा प्रणाली र यसमा संलग्न तल्लो तहदेखि माथिल्लो तहसम्मका उच्च पदस्थ अधिकारीको भूमिकाले अहम् हुन्छ । कुनै मुलुकको प्रजातान्त्रिक विधि, प्रक्रिया र शासन व्यवस्थाको मूल्यांकन उक्त मुलुकको निर्वाचन प्रणालीको स्वच्छता तथा निष्पक्षताको आधारमा मापन विश्वव्यापी चलने भएकाले समग्र प्रक्रियामा अन्तर्राष्ट्रिय निकायको प्रत्यक्ष संलग्न हुन्छ ।

सरकारको उपस्थिति नजिकै भएको महसुस सर्वसाधारणले त्यतिबेलामात्र गर्ने छन् जतिबेला उनीहरूले आधारभूत सेवा सजिलै प्राप्त गर्न सुरु गर्नेछन् । गाउँपालिका, नगरपालिका तथा माहानगरपालिकामा विद्यामान सयौं संख्याका समस्या तथा व्यवधाना चटकीको जस्तो समाधान हुने कुराको कसैले आशा गरेको छैन तर क्षमता, ल्याकत र सम्भावनाको आधारमा सकेको काम पारदर्शी किसिमले गर्न सकेमा स्थानीय निकायप्रति जनताको विश्वास तथा भरोसामा वृद्धि हुँदै जाने देखिन्छ ।

शान्ति सुरक्षा, अमनचयन, रोजगार, खाद्य सुरक्षा एवं पोषण, सुरक्षित मातृशिशु सेवा, असक्त, केटाकेटी तथा सम्पूर्ण ज्येष्ठ नागरिकप्रति समाज र परिवारको सकारात्मक सोचको विकास गर्नू-गराउनू स्थानीय निकायको दायित्वभित्र पर्ने विषयवस्तु हुन् । स्थान विशेषको समाजिक–सांस्कृतिक पहिचान, जातजातिबीचको समाजिक सद्भाव र सहकार्य जस्ता कुराले मुलुकको विकासमा निर्णायक भूमिका खेल्ने भएकाले यी र यस्ता पक्षमा समर्पित व्यक्ति तथा दलप्रति मतदाता नरम हुनुपर्ने हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?