चुनावको मुखैमा कालापहाड !

Read Time = 4 mins

-शुभाकर विश्वकर्मा

नेपालगञ्ज । स्थानीय तह निर्वाचन आउन एकदिन मात्रै बाँकी छ । चुनाव नजिकिँदै जाँदा कामको सिलसिलामा निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका मतदाता घर फर्किन थालेका छन् । अहिले दिनहुँ आफ्नो थातथलो फर्किने क्रम बढिरहेको छ । कतिपय आफ्नै खर्चमा मतदानका लागि घर फर्किंदैछन् भने कोही उम्मेदवारहरूले तयार गरिदिएको सवारीमा मतदानको लागि घर गइरहेका छन् । तर, देशमा निर्वाचनको महाकुम्भ चलिरहेको समयमा केही नेपालीहरू भने रोजगारीको खोजीमा भारत कालापहाड गइरहेका छन् । पार्टी र उम्मेदवारको आश्वासन तथा एक भोटले भोको पेट नभरिने भन्दै उनीहरू कालापहाड हानिएका हुन् ।

अहिले बाँकेस्थित नेपाल-भारत सीमा नाकामा दैनिक निर्वाचनको लागि भारतबाट आउने र रोजगारीको लागि भारत जाने नेपालीहरूको लर्को नै लाग्ने गरेको छ । नाकास्थित नेपाल प्रहरी भने चुनावको माहोल सुरु भएसँगै कालापहाड जानेभन्दा आउनेको संख्या बढिरहेको बताउँछ । प्रहरीका अनुसार अहिले रोजगारीको लागि कालापहाड जानेको संख्या दुई सातायता घटिरहेको छ । पहिले नेपाल-भारत नाका हुँदै दैनिक सयौँजना कालापहाड जाने गर्थे । अहिले भने दैनिक २०-२५ जनाको हाराहारीमा भारत जाने गरेको प्रहरी हवल्दार हरिश चुनाराले बताउनुभयो । उहाँका अनुसार नाकामा दैनिक आवतजावत गर्नेहरूको घुइँचो नै लाग्ने गरेको छ ।

बर्दियाको ठाकुरबाबा नगरपालिका भुरीगाउँका मानबहादुर टमाटा निर्वाचनको मुखैमा रोजगारीका लागि कालापहाड जानुभएको छ । उहाँले गाउँमा रोजगारीको कुनै स्रोत नभएपछि आफू भारत हानिएको बताउनुभयो । टमाटा विगत २० वर्षदेखि भारतको राजस्थानमा मजदुरी गर्दै आउनुभएको छ । दुई महिनाअघि निर्वाचनकै लागि घर फर्किनुभएका उहाँ परिवार पाल्न समस्या भएपछि चुनावको मुखैमा कालापहाड गएको उहाँले बताउनुहुन्छ । ‘साहुले बोलाए । घरमा रोजगारी छैन । छोराछोरी र श्रीमती छोडेर हिड्यौं । के गर्ने भोटले भोको पेट भरिँदैन ।’ भारत जाने क्रममा रुपैडिहामा भेटिनुभएका टमाटाले भन्नुभयो ।

मतदान कार्डसमेत भएका कालीकोटका शिव सुनार पनि यतै भेटिनुभयो । उहाँले पनि भोको पेट पाल्न र घरको गरिबी टार्न कालापहाड जानुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चुनाव आएर के गर्नु । हामी त हर्ष न विस्मात जस्तै हो । हुने खाने र पहुँचवालाकै हालीमुहाली छ । हामीलाई के चुनाव आउनु ।’ मानबहादुर र शिव प्रतिनिधि उदाहरण मात्रै हुनुहुन्छ । नेपालका कर्णाली तथा अन्य क्षेत्रबाट बर्सेनि रोजगारीको लागि भारत जानेको संख्या ठूलो रहेको छ । जनताको लागि राजनीति गर्छौं भन्ने दलहरूले रोजगारीको अवस्था सिर्जना नगरिदिँदा यस्तो अवस्था आएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?