भोट हाल्न तीन दिन पैदल हिड्न बाध्य म्याग्दी सिमकोस र बगरका बासिन्दा

Read Time = 4 mins

-ध्रुबसागर शर्मा
म्याग्दी । अहिलेको जमानामा पनि एउटा भोट हाल्न तीन दिन पैदल हिड्नु पर्छ भन्ने समाचार पढ्दा तपाइूलाई विश्वास नलाग्नसक्ला ।
तर, पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने दुईवटा गाउँका १ सय बढी मतदाता भोली शुक्रवार हुने स्थानीय तहको दोस्रो निर्वाचनमा पनि तीन दिन पैदल हिडेर मतदान गर्दैछन् ।

धवलागिरि गाउँपालिका ४ को सिमकोस र बगरगाउँका बासिन्दा मुदीको बुद्धिविकास मावि मतदान केन्द्रमा पुगेर मतदान गर्दैछन् । गाउँबाट मतदान केन्द्रमा पुग्न डेढ दिन र फर्किन डेढ दिन लाग्छ ।

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा यातायात सुविधा नपुगेको सिमकोस बगरका बासिन्दालाई मतदान केन्द्रमा पुग्न र घर फर्कन तीन दिन समय लाग्ने भएको हो ।
बगरका स्थानीयवासी धनबहादुर तिलिजाले मतदान हुनुभन्दा एक दिनअघि घरबाट हिँडेर भोलिपल्ट मतदान गरेर मात्र फर्कने गरिएको बताउनु भयो । उहाँले तीन दिनका लागि घरको सबै काम छोडेर मतदानका लागि आज विहान घरबाट हिडेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘आज गाउँबाट हिँडेर नाउरामा पुगेपछि बास बस्छौं, भोलि ११ बजेतिर मतदान केन्द्रमा पुग्छौ, मतदान गरी फर्केपछि एकरात बीच बाटोमा नै वास बसेर पर्सि दिउँसो बल्ल घरमा आइपुग्छौं ।’

धवलागिरि हिमालको आधार शिविर जाने अन्तिम मानव बस्ती बगर र सिमकोस गाउँमा ५० घरधुरी छ ।

साविक मुदी गाविसको वडा नं ९ मा पर्ने सिमकोस बगरका बासिन्दाको मतदान केन्द्र मुदीको बुद्धीविकास मावि हो। त्यहाँ १०० भन्दा बढी मतदाता छन् । वि.सं २०७४ को स्थानीय तहको चुनावमा ५७ जनाले मतदान गरेका थिए । २०५४ को स्थानीय तहको चुनावमा बगर वडाका सबै निर्विरोध भएका थिए । घर कुर्नुपर्ने भएकाले सबै स्थानीयवासी मतदान केन्द्रमा आउन सक्दैनन् ।

ज्येष्ठ नागरिक, अपाङ्गता र अशक्त नागरिकलाई मतदान केन्द्रमा पुग्न सास्ती हुने गरेको छ । पशु गोठमा बस्ने गोठाला पनि मतदानबाट बञ्चित हुने गरेका छन्। नाउराको अक्करे भिरको पैदलमार्ग छिचोलेर बगर पुग्नुपर्छ। मुदी गाउँसम्म मात्र सडक पुगेको छ । नाउराको भिरको पदमार्ग जिल्लाकै जोखिमयुक्त हो ।

वि.सं २०६४ अघि बगरगाउँ पुग्ने घोडेटो बाटो पनि थिएन । धवलागिरि आधारभूत विद्यालयमा कक्षा ५ पढेपछि यहाँका बालबालिका माथिल्लो तहको अध्ययनका लागि घर छाडेर जानुपर्छ ।

वि.सं २०७५ मा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको थियो । उक्त एकाइ नुहँदा बगरवासीलाई उपचारका लागि मुदी पुगेर फर्कन तीन दिन लाग्ने गरेको थियो । बगरमा छुट्टै मतदानस्थल बनाउनुपर्ने स्थानीयवासीको मागमा मतदाता सङ्ख्या थोरै भएकाले पूरा हुनसकेको छैन । एक मतदान केन्द्रमा न्यूनतम एक हजार मतदाता हुनुपर्ने निर्वाचन आयोगको मापदण्ड छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?