आरोप पुष्टि गर्न वर्तमान एन्फा अध्यक्षलाई गणेश थापाको चुनौती

Read Time = 6 mins

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले आफूविरुद्ध वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले विभिन्न सार्वजनिक कार्यक्रमका दौरानमा लगाएका आरोप सार्वजनिक गर्दै प्रमाणित गर्न चुनौती दिनुभएको छ । ललितपुरस्थित एक होटलमा बुधबार पत्रकार सम्मेलन गर्दै थापाले धेरै आरोपमध्ये मुख्य १४ मात्रै सार्वजनिक गरेको र त्यो प्रमाण पुष्टि गर्न चुनौती दिनुभएको हो ।

थापाले पत्रकार सम्मेलनको मुख्य उद्देश्य आरोप प्रमाणित गर्नुहोस् भन्ने रहेको र संघारमा आउँदै गरेको एन्फाको निर्वाचनसँग कुनै पनि सम्बन्ध नरहेको जिकिर गर्नुभयो । पत्रकार सम्मेलनमा शेर्पाले विभिन्न अनलाइन तथा टिभीमा थापाविरुद्ध दिएको अन्तर्वार्ता भिडियोमार्फत् प्रस्तुत गर्नुभएको थियो । सोही विषयमा थापाले कपोलकल्पित लगाइएका तीन आरोप प्रमाणित गर्न चुनौती दिनुभएको हो ।

पूर्वअध्यक्ष थापाले आरोप प्रमाणित गर्न नसके वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा एन्फा र फिफाको नियमअनुसार कारबाहीको भागिदारी बन्नुपर्ने बताउनुभयो । लामो समय फुटबलमा बिताएको र व्यवस्थापनमा पनि आपूmले राम्रो काम गरेको भन्दै वर्तमान अध्यक्षबाट निराधार आरोपले पीडा भएको उहाँले सुनाउनुभयो । एफसीका तत्कालीन अध्यक्ष तथा फिफाका अध्यक्षका उम्मेदवार मोहम्मद बिन हमामबाट व्यक्तिगत सहयोग लिएको थापाले स्वीकार गर्नुभयो ।

जसका कारण आफूले फिफाको प्रतिबन्ध भोगेको बताउनुभयो । थापाका छोरा गौरव थापाको खातामा एक लाख डलर जम्मा भएको देखिएपछि फिफाले उहाँमाथि अनुसन्धान थालेको थियो । पैसा लिएको पुष्टि भएपछि २०७२ सालको कात्तिकमा फिफाको नैतिक समितिले थापालाई सबै खाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धसहित उहाँमाथि करिब २१ लाख रुपैयाँ जरिवाना गरेको थियो । फिफाले सन् २०११ मा भएको फिफाको निर्वाचन र २००९ मा एएफसी कंग्रेसमा थापाले घुस लिएको आरोप लगाएको थियो ।

थापाका अनुसार यी हुन् कर्माछिरिङ शेर्पाले विभिन्न समयमा लगाएका आरोप
१. गोल्ड प्रोजेक्टअन्तर्गत आएको १९ लाख डलर एन्फाको अडिटमा नदेखाएको तथा नगरपालिकाहरूले दिएको रकमहरू पनि अडिटमा नदेखाएको र ठूलो आर्थिक अनियमितता भएको ।

२. एन्फामा फिक्स डिपोजिटमा जम्मा गरिएको आठ करोड रुपैयाँ गैरकानुनी तरिकाले जम्मा गरेको र गैरकानुनी तरिकाले एन्फाको रकम व्याजमा लगाएको ।

३. एन्फालाई आएको रकम आफ्नी श्रीमती र छोराहरूको नाममा राखी अनियमितता गरेको ।

४. खेलाडी कल्याण कोषमा जम्मा गरेको ५० लाख रुपैयाँको स्रोत नखुलेको ।

५. साथी भन्ने संस्थालाई एक लाख ५० हजार डलर दिएको ।

६. एन्फाको रकम ३२ प्रतिशत व्याजमा लगाएको ।

७. रंगशालामा दर्शकबाट उठेको २८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा नगरेको र अडिटमा नदेखाएको ।

८. सार्वजनिक लेखा समितिले ५८ करोड रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको ।

९. कतार फुटबल संघले आठ लाख डलर दिएकोमा एन्फाको खातामा दुई लाख डलरमात्र जम्मा गरेर अन्य रकम हिनामिना गरेको ।

१०. एएफसीबाट प्रशिक्षकलाई आएको रकम अडिटमा नदेखाएको ।

११. साफ च्याम्पियनसिपको दौरानमा दुई करोड ५० लाख रुपैयाँ आम्दानी भएकोमा जम्मा ८५ लाखमात्र एन्फाको अडिटमा देखाएको र आर्थिक हिनामिना गरेको ।

१२. भ्रष्टाचार गरेको ६० करोड रुपैयाँ खेलाडी कल्याण कोषमा जम्मा गर्ने र थापालाई जेलमा हाल्ने ।

१३. अरेन्ज प्रोजेक्ट र सुनामी प्रोजेक्टमा समेत संलग्नता रहेको ।

१४. एन्फा कम्प्लेक्स आफ्नै साधन स्रोतबाट बनाउँदा नेपालमा दुई करोड १८ लाखको हिसाब देखाएको तर फिफामा करिब तीन करोडको हिसाब पेस गरेको र त्यसमध्येबाट ४० लाख रुपैयाँ खेलाडी कोषमा राखेर ६० लाख रुपैयाँ हिनामिना गरेको ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?