माधव नेपालले दायर गरेको रिट बिहीबार पनि ‘हेर्न नभ्याइने’ सूचीमा

Read Time = 2 mins

काठमाडौं । सांसद पद थमौती गर्न माग गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दायर गरेको रिट फेरि पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । बिहीबार सुनुवाइका लागि रिटको पेसी न्यायाधीशद्वय अनिलकुमार सिन्हा र तिलकुमार श्रेष्ठको संयुक्त इजलासमा तोकिएको थियो । यसअघि १० चैत २०७८ मा पनि रिटको सुनुवाइ ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो ।

नेपालले एमाले वरिष्ठ नेताको हैसियतबाट ९ वैशाख २०७७ मा रिट दायर गर्नुभएको हो । अन्य रिट निवेदकहरू भने भीम रावल, सुरेन्द्रपाण्डे र घनश्याम भुसाल हुनुहुन्छ । हाल नेपालबाहेक सबै एमालेमै हुनुहुन्छ । उनीहरूले रिटमार्फत सर्वोच्च अदालतको २३ फागुनको फैसलाविपरीत पार्टीलाई एकलौटी चलाएर ओलीले राजनीतिक जीवन नै समाप्त गर्ने दूराशयपूर्ण मनोभावना राखी सांसद पदबाट हटाउन खोजेको उल्लेख गर्नुभएको छ ।

२८ फागुन २०७७ र ७ चैत २०७७ तथा ६ वैशाख २०७८ मा एमालेले गरेको निर्णय र सोही निर्णयलाई आधार मानेर ओलीले कारबाही गर्न लागेको पनि उल्लेख छ । नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई कामकाज गर्न दिन रिटमार्फत उहाँहरूले परमादेश पनि माग गर्नुभएको थियो । १३ वैशाख २०७८ मा न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । त्यसपछि रिटको पेसी १० चैत २०७८ मा तोकिएको थियो । तर, ‘हेर्न नभ्याइने’ भनियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?