काठमाडौं । रेशमकुमार विश्वकर्माले नेपाली गायन क्षेत्रमा आफूलाई अग्रपंक्तिमा राख्दै आउनुभएको छ । बाल्यकालमा टिपिकल, मारूनी, सोरठी, घाँसे गीतहरू सुनेर त्यसैको नक्कल गर्ने, पञ्चे बाजा बजेको सुन्दा जहाँ सुन्यो त्यहीँ नाच्ने विश्वकर्मा त्यही प्रभावले नै आजको दिनमा एउटा सफल गायका रूपमा चिनिनुहुन्छ । धादिङ जिल्लाको गणेश हिमालको काख मार्पाकको किन्ताङ फेदीमा जन्मिनुभएका उहाँ काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना प्रस्तुतिमार्फत् सबैको मन जित्न सफल हुनुहुन्छ । गाउँमा कक्षा चारमा पढ्दै गर्दा पिङ खेल्नेक्रममा देब्रे खुट्टा भाँच्चिएर उपचारका लागि काठमाडौंमा आउनुभएका उहाँ यतै बस्न थाल्नुभयो । सानैदेखि गीत गाउन भनेपछि हुरुक्क हुने रेशम सात कक्षामा पढ्दै गर्दा औपचारिकरूपमा गीत गाउन थालेको सुनाउनुहुन्छ । ०५६ सालमा एसएलसीपछि विसं ०५७ सालमा ‘निष्ठुरी मायालु’ नामक गीत रेकर्डिङ गराएर उहाँ यो क्षेत्रमा होमिनुभएको हो । त्यसै बखतमा अर्को ‘निष्ठुरी मायालु’ बोलको गीत पनि कम्पोज र तत्कालीन चर्चित नाम जेम्स प्रधानद्वारा एरेन्ज गरेर राखेको तर कारणवश पहिलो गाँसमा ढुंगा भनेझैं प्रथम सांगीतिक प्रयासमै विवाद हुन पुग्यो र दोस्रो गीत रेकर्ड भएर पूर्ण रूप लिन नपाएको गुनासो उहाँ गर्नुहुन्छ ।
यहीक्रममा उहाँले राजधानीको अनामनगरमा अवस्थित संगीतकै अर्को पाटो डिजेसम्बन्धी बम इन्टरनेसनलमा ६ महिनाको पूर्ण तालिम लिएर डिजे डिस्को जक्कीको भूमिका निर्वाह गर्न थाल्नुभयो । आफूलाई यस क्षेत्रमा अझ निखार ल्याउनका लागि उहाँले लगत्तै भारतको मुम्बई अन्धेरी इष्टमा रहेको एउटा मिडिया कलेज एफिलियट एसएइ स्कुल अफ अडियो इन्जियरिङ (अस्ट्रेलियाको ब्रान्च दुबई इलेक्ट्रोनिक म्युजिक प्रोडक्सन) मा म्युजिकसम्बन्धी कोर्स गर्नुभयो । यही क्रममा उहाँले संगीतसँगसँगै चलचित्र क्षेत्रका विभिन्न विधामा पनि अध्ययन गर्नुभयो ।
उहाँले त्यहाँ चलचित्र निर्माण कसरी हुन्छ, अभिनय कसरी गरिन्छ, चलचित्रमा ब्याकग्राउन्ड म्युजिक कसरी बन्छ र राखिन्छ र चलचित्रमा कैद गरिएका दृश्यको भावअनुसारका म्युजिक कसरी वा कस्तो खालको बनाउने, पछि उक्त दृश्यमा स्वरांकन कसरी गर्ने सम्बन्धी अध्ययन भारतको प्रसिद्ध रेकर्डिङ स्टुडियो ‘एसराज स्टुडियो’ का वरिष्ठ साउन्ड इन्जिनियर विजय दयालसँग पाँच महिना सिक्नुभयो । अध्ययनका सिलसिलामा १० महिना मुम्बईको अन्धेरी गिलबर्ट हिलमा बिताएर पुनः नेपाल फर्किएपश्चात उहाँ ‘नौडाँडा पारि...’ बोलको गीतका साथमा पुनः गायकको भूमिकामै सांगीतिक क्षेत्रमा तल्लीन हुन थाल्नुभयो । नेपाल आएपछि रेशमले ‘कान्छी नानीले...’, ‘गोसाइँ कुण्ड ल...’, ‘दुःखीको कर्म...’, ‘कालो चिया...’ जस्ता गीतहरू रेकर्डिङ सकेर बजारीकरण गर्नुभएको थियो र संगीत पारखी धेरै श्रोताको हृदय स्पर्श गर्न सफल हुनुभयो ।
गायक रेशम स्टुडियोमा रेकर्डिङ कार्य निरन्तर भए तापनि देशका विभिन्न स्थानमा आयोजित मेला महोत्सवमा आयोजकको निमन्त्रणालाई स्वीकार गरी दर्शकश्रोतालाई सांगीतिक आनन्द प्रदान गर्न पुगिरहनुहुन्छ । बीचमा दुई वर्ष कोरोना संक्रमणका कारण केही स्थगित भए पनि पुनः उहाँ आफ्नो सांगीतिक प्रस्तुतिका लागि देशका विभिन्न ठाउँमा पुग्ने गर्नुभएको छ ।
स्टुडियोमा रेकर्ड गर्ने, मेला महोत्सव पुग्नुका साथै गीत लेखनमा पनि आफूलाई प्रस्तुत गर्दै आउनुभएका उहाँ गीत कम्पोज गर्ने कार्यका साथसाथै पछिल्लो समयमा म्युजिक एरेन्ज र रेकर्डिङ स्टुडियोमा प्रयोग गरिने सफ्टवेयर, सिकाउने कोर्स दिन काठमाडौंका विभिन्न स्टुडियो र एरेन्ज अफिसमा निमन्त्रणाअनुसार पुग्ने गरेको बताउनुहुन्छ ।
सुमधुर स्वरका धनी गायक रेशम जति आफ्नो स्वरको जादुबाट श्रोता/दर्शकलाई मन्त्रमुग्घ पार्नुहुन्छ त्यतिकै उहाँ गीतसंगीतको प्राविधिक क्षेत्रमा पनि पारंगत हुनुहुन्छ । पछिल्लो समय २०७६ सालमा डाइनामिक म्युजिक प्रालिको ब्यानरमा निर्मित चलचित्र ‘मैनाराजा मैनारानी’ मा आफैं लगानीकर्ता र मुख्य अभिनेता (नायक) रूपमा पनि प्रस्तुत हुनुभएको छ । यो चलचित्र बडादशैँको निकट अगाडि/पछाडि दर्शकमाझ पस्किने सोच बनाएको गायक रेशमले जानकारी गराउनुभयो ।
पछिल्लो समय स्टुडियोमा विभिन्न धारका गीतहरू रेकर्डिङ गर्ने क्रम निरन्तर हुुनुका साथै सहज अवस्थामा देशका विभिन्न स्थानमा आयोजित मेला महोत्सव तथा स्टेज कार्यक्रमहरूमा उहाँ पुग्ने गर्नुहुन्छ । गायनका साथै यसका विविध विधा र चलचित्र क्षेत्रमा पनि आफूलाई संलग्न गराउनुभएका रेशमकुमार बहुप्रतिभाका धनी हुनुहुन्छ । यति धेरै विधामा आफूलाई संलग्न गराउनुभएको छ तपाईं आफूलाई के भन्नुहुन्छ भन्ने हाम्रो जिज्ञासामा उहाँले आफू मूलतः गायक नै भएको बताउनुभयो । ‘म गायक नै हुँ तर गीतसंगीतका धेरै विधामा मेरो दखल रहेको छ,’ उहाँले सुनाउनुभयो । गीतसंगीतका साथसाथै अब उहाँको परिचयको क्षेत्र फराकिलो भएको छ चलचित्र निर्माताका रूपमा । विविध क्षेत्रमा उहाँको रुचि र दखलले नेपाली कला क्षेत्र अझ समृद्धिको बाटोमा जाने यस क्षेत्रमा रहेकाहरू बताउनुहुन्छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच