सरकारमा जाने/नजाने विषयमा नेकपा एस अनिर्णित

वामपन्थी दलसँग एकता गर्ने जिम्मेवारी सचिवालयलाई

नारायण भण्डारी
Read Time = 9 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा जाने/नजानेबारे निर्णय लिने जिम्मेवारी पार्टीको केन्द्रीय सचिवालयलाई दिएको छ । मंगलबार सम्पन्न पार्टी पोलिटब्युरो बैठकले थप अध्ययन, छलफल, विचार विमर्श गर्नुपर्ने भएकाले सरकारमा पार्टीको सहभागिताबारे निर्णय गर्ने अधिकार केन्द्रीय सचिवालय समितिलाई दिने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो । बैठकमा धेरैजसो नेताले सरकारले देश र जनताको हितमा ल्याउने कार्यक्रमलाई हेरेर मात्रै सरकारमा जानेबारे आवश्यक निर्णय लिन पनि पार्टी नेतृत्वलाई सुझाव दिएका थिए । बैठकले दुईवटा मुख्य निर्णय गरेको प्रवक्ता खतिवडाले बताउनुभयो ।

‘पहिलो निर्णय, हाम्रो पार्टी सदैव वामपन्थीको बीचमा एकता गर्ने, सहकार्य गर्ने, मोर्चा बनाउने र वामपन्थी जनमतहरूलाई एक ठाउँमा ल्याउने कुरामा केन्द्र भागमा रहेर काम गर्ने कुरामा सधैँभरि प्रतिबद्ध छ । विगतमा पनि थियो, आज पनि छ र भोलि पनि यो जिम्मेवारीलाई हाम्रो पार्टीले पूरा गर्नेछ । त्यसकारण यसका लागि हाम्रो केन्द्रीय पोलिटब्युरो बैठकले हाम्रो केन्द्रीय सचिवालयलाई यससम्बन्धी गृहकार्य गर्नका निम्ति अनुमति प्रदान गरेको छ । अब यो काम केन्द्रीय सचिवालयले संयोजन गर्दै अगाडि बढाउनेछ’, पार्टीको निर्णयबारे उहाँले बताउनुभयो ।

पोलिटब्युरो बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई समर्थन गर्ने नगर्ने बारेमा थप अध्ययन गर्न पनि सचिवालयलाई अधिकार दिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो, ‘सरकारको बारेमा अहिले भइरहेको नयाँ गठबन्धन सरकारको बारेमा हामीले व्यापक छलफल गरेका छौँ । र, अन्त्यमा निर्णय गरिएको छ- यसबारेमा थप आवश्यक अध्ययन गर्नुपर्ने, छलफल गर्नुपर्ने, विचार विमर्श गर्नुपर्ने र यसले देश र जनताको हितमा के–कस्ता कार्यक्रमहरू ल्याउन सक्छ ? र, हाम्रो दलसँग उसको राजनीतिक सम्बन्ध के–कस्तो रहनेछ ? भनेर अझ धेरै कुरा बुझ्नुपर्ने भएकाले यसको अन्तिम निर्णय गर्नका लागि पनि केन्द्रीय सचिवालयलाई पोलिटव्युरोले अधिकार प्रदान गरेको छ,’ उहाँले दोस्रो निर्णयबारे भन्नुभयो ।

त्यसैगरी, बैठकले वामपन्थी पार्टीबीचको एकता र सहकार्यका लागि आवश्यक गृहकार्य गर्ने अनुमति पनि पार्टी केन्द्रीय सचिवालयलाई नै प्रदान गरेको छ । केन्द्रीय सचिवालयको संयोजनमा यो कामलाई अघि बढाउन पनि बैठकले अनुमति दिने काम गरेको पार्टीका प्रवक्ता खतिवडाले बताउनुभयो । पार्टीभित्र संगठन सुदृढीकरण र शुद्धीकरण अभियान सञ्चालन गर्ने, पार्टीको सदस्यता विस्तार गर्ने, पार्टीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने अभियानलाई पनि अघि बढाउने काममा अघि बढ्ने निर्णय पनि पोलिटब्युरो बैठकले गरेको नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ ।

नेतृत्वको आलोचना गर्ने काम बन्द गर्न अध्यक्ष नेपालको निर्देशन
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिनुभएको छ । मंगलबार सम्पन्न पार्टीको पोलिटब्युरो बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टी कमिटी भन्दा बाहिर गएर पार्टी नेतृत्वको बदख्वाइँ गर्ने, अरूको प्रशंसा गर्ने, फेसबुकमा लेख्ने, मिडियामा बोल्नेजस्ता पार्टी अनुशासनविपरीत काम नगर्न पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराउनुभयो । उहाँले आफूलाई लागेका कुरा पार्टी कमिटीमा राख्नुको साटो बाहिर बोल्दै हिँड्ने हो भने त्यो पार्टी क्रान्तिकारी र अनुशासित पार्टी हुनै नसक्ने पनि स्मरण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘के कुरामा हामी प्रतिबद्ध हुनु पर्दछ भने कमिटी प्रणालीलाई बलियो गरी अगाडि बढाऔँ । जे-जे लागेको छ कमिटीमा राखौँ । फेसबुकमा लेख्ने, आफूलाई लागेका कुराहरू बाहिर प्रचारित गर्ने, मिडियामा गएर बोल्ने । यस्तो तरिका अपनाएर न त्यो क्रान्तिकारी पार्टी बन्छ न त्यो अनुशासित पार्टी बन्छ । अनि, हामी अनुशासन तोड्ने, फेरि हाम्रै स्वर ठूलो हुने, हामी पार्टीको बदख्वाइँ बाहिर गर्ने, अनि हाम्रै स्वर ठूलो हुने, आफ्नै नेताको बदख्वाइँ गर्ने, अरूको प्रशंसा गर्ने, अनि त्यसपछि पनि हाम्रो आफ्नो स्वर आफैँ ठूलो हुुने तरिका बन्द गरौँ ।’ अध्यक्ष नेपालले आफूले पार्टी अनुशासित र संस्थागत रूपमा चलोस् भन्ने चाहेको पटकपटक दोहोर्‍याउनुभयो । उहाँले पार्टी कमिटीभित्र बसेर व्यापक छलफल गर्ने, विचार मन्थन गर्ने परिपार्टी पार्टीमा आफूले बसाउन चाहेको समेत बताउनुभयो ।

शक्ति बाँडफाँड सम्मानजनक भए सरकारमा जाने जसपाको निर्णय
जनता समाजवादी पार्टी (जसपा)ले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको छ । मंगलबार सकिएको राजनीतिक समितिको बैठकले सरकारमा जाने नजानेबारे मत बाझिएको थियो । बहुसंख्यक नेताहरू सरकारमा जानुपर्ने पक्षमा उभिएपछि सम्मानजनक शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डाहरू समावेश भए सरकारमा सहभागी हुने निर्णय गरेको छ । नभए पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई बाहिरबाट समर्थन गर्ने उसको निर्णय छ । बैठकले विभिन्न दल तथा संगठनसँग एकता तथा गठबन्धनसम्बन्धी वार्ताका लागि राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेको वार्ता समिति बनाएको छ । चुनावमा अन्तर्घात गर्ने संघीय परिषद् र केन्द्रीय सदस्यहरूबारे छानबिन गर्न शिवलाल थापाको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको छ । चुनावमा पार्टीका उम्मेदवारहरूविरुद्ध उम्मेदवारी दिनेहरूलाई भने सम्बन्धित समितिले विधानअनुसार कारबाही गर्ने निर्णय गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?