✍️ तिलकप्रसाद लुइटेल
भाषासाहित्यका विषयवस्तु लिएर आउने कौशिकी द्वैमासिक पत्रिकाको ९४औं अंक यसबेला मेरा हातमा छ । पत्रिकाको सुन्दर अघिल्लो आवरणमा हाम्रै छिमेकी गुरु कवि ओमप्रसाद कोइरालाको आकर्षक फोटो रहेको छ । प्रधान सम्पादक र प्रकाशक चेतनाथ धमला रहेको यस पत्रिकाको आवरण पल्टाएपछि सम्पादकीय लेख आउँछ । त्यो लेख ‘ओखलढुंगाका कवि ओमप्रसाद कोइरालालाई छन्दकविको रूपमा हेरिन्छ । यद्यपि उनले गद्य–पद्य कविता, कथा, निबन्ध, नाटक, गीत आदि विधामा कलम चलाउँदै आएका छन् । तैपनि यिनको प्रमुख विधा कविता नै भएकाले कवि व्यक्तित्वको रूपमा स्थापित भएका छन् ।’ यिनै वाक्यबाट सुरु भएको छ ।
त्यसपछि कविको परिचय, काव्ययात्रा, काव्यगत विशेषता आदि कविकै विवरण आएको छ । पत्रिकाको विषयसूचीमा प्रवेश गर्दा जम्मा एकसय बाह्र कविताका शीर्षक छन् । ती कविताहरू सबै पठनीय, उत्कृष्ट काव्यिक गुणले सम्पन्न छन् । सबै कवितालाई सबै कोणबाट विश्लेषण गर्दै लेख्ने प्रयास गरियो भने लेख टुंगिँदैन । विवेच्य विषयहरू हरेक कवितामा धेरै छन् । त्यसैलेबीच बीचबाट एक एक उद्धरण उतार्ने प्रयास गरिएको छ । पृष्ठ १८ मा रहेको भाग्य आफैं बनाऊँ शीर्षकको मन्दाक्रान्ता छन्दका कविताको अन्तिम पद्यमा दृष्टि दिँदा ‘आओ अग्ला हिमशिखरमा.....भाग्य आफैं बनाऊँ’ भन्ने देखिएको छ । कविताले भाग्य आफूले बनाउँदामात्रै बन्छ भन्दै कर्मशील जीवनको अपेक्षा गरेको देखिएको छ ।
त्यसरी नै पृष्ठ २८ मा नाम शीर्षकको कविता रहेको छ । त्यस भुजंगप्रयात छन्दका कविताको चौथो पद्य ‘अरूको भलाई गरे...... भएरै नजाती’ भन्ने लेखिएको छ । यो नीतिपरक कविता हो । मानिसले जीवनमा सुन्दर नामको अपेक्षा गर्छ । सबैलाई असल नाम कमाउने रहर लाग्छ । त्यसका लागि के गर्नु उचित हुन्छ भन्ने यस पद्यको सार हो ।
अगाडि पृष्ठ ३८ मा तर के छ र शीर्षकको कविता छ । द्रूतविलम्बित छन्दमा रचित यस कविताको तेस्रो पद्यमा ‘भय र त्रास सधैं... किन आखिर’ भन्ने उल्लेख छ । मानिसले परिवर्तनलाई देखेको छ तर पनि सहज रूपमा स्वीकार नगरी पिर लिएको र छटपटिएको छ भन्ने संकेत यस पद्यमा छ । यस कविताले संसारका हरेक वस्तु प्रतिक्षण परिवर्तनशील रहेको बताउँछ ।
पत्रिका पल्टाउँदै पृष्ठ ५० मा पुग्दा म भएँछु पर शीर्षकको कविता आउँछ । कविता वंशस्थ छन्दमा छ । यसको दोस्रो पद्यमा ‘मकिए सब हाड...गर आदर है’ भन्ने कथन रहेको छ । यस पद्यले मानव जीवन प्रतिक्षण परिवर्तनमा रहेको सन्देश दिँदै उपदेशात्मक शैलीमा परिवर्तनलाई स्वीकार गर्ने कुरा बताउँछ । कविताको विषय नै मानिसको जीवन उदय कालमा जति आकर्षक छ अस्त कालसम्म उस्तै नरहने सत्यलाई औंल्याउन आएको छ ।
कच्चा र पक्का शीर्षकको मन्दाक्रान्ता छन्दको कविता पृष्ठ ६१ मा आउँछ । यसको पहिलो पद्य ‘कच्चै कच्चा जिउ.....छैन ऊ बन्छ पक्का’ भन्ने छ । कविताले सबै वस्तु एक समान हुँदैनन् जसलाई कच्चा भनिन्छ त्यो पक्का पनि हुन सक्छ र हामीले पक्का मानेको कुरा नै कच्चा हुन्छ भन्ने प्रष्ट गरेको छ । सबैभन्दा धेरै शरीरको सन्दर्भमा यो कविता मननीय छ ।
रोडको महिमा शीर्षकको अनुष्टुप् छन्दको कविता पृष्ठ ७२ मा आउँछ । यसको दोस्रो पद्य ‘पानी आयो भने.....घरमात्र सुधार छ’ भन्ने छ । यस पद्यमा मानिसले झरी बादलका समयमा हिलो पानीबाट आफ्नो घर आँगन पनि सुरक्षित राख्न कठिन छ भन्ने भाव देखिएको छ । साथै यस कवितामा मानिसको समाजमा राम्रो बाटाघाटो भएमा जीवन सजिलो हुने र सो नभए असुविधा हुने कुराको सुन्दर चित्रण रहेको छ ।
भरिया शीर्षक भएको वसन्ततिलका छन्दको कविता पृष्ठ ९१ मा आउँछ । यसको तेस्रो पद्य ‘आलस्य छैन तनमा....कतै नि व्यर्थ’ भन्ने छ । यस पद्यले जाँगरिलो र स्वाभिमानी भरिया रमाइलो छ, समय खेर नफाल्ने स्वभावको छ भन्ने अर्थ देखिएको छ । यसैबाट उही भरियाले समय खेर फालेर आफूलाई ठूलो देखाउन खोज्नेलाई पनि शिक्षा दिएको छ । समग्र कविताले जीवन नामको भारी बोकेर गन्तव्य खोज्दै हिँडेको मानिस एउटा बटुवा हो भन्ने ठाउँ पनि दिएको छ ।
शार्दूलविक्रीडित छन्दको शैलीको परिदृश्य शीर्षक भएको कविता पृष्ठ १०१ मा आउँछ । यसको चौथो पद्य ‘गान्टे फूल झपक्क....संस्कार पाएपछि’ भन्ने छ । यस पद्यले संस्कारले नै अनुशासित बनाउँछ र सुसंस्कृत मन मस्तिष्क भएको मानिस नै साहित्य, संगीत, कलाका क्षेत्रमा अघि बढ्छ भन्ने भाव दिएको छ । समग्र कविताको भावभित्र शैलशिखरले सम्पन्न हाम्रा देशको प्राकृतिक समृद्धिलाई वयान गरेको देखिन्छ । अथवा शैली साहित्य समाजप्रति कविताबाट सम्मान प्रकट गर्न खोजेको जस्तो पनि देखिन्छ ।
भुजंगप्रयात छन्दमा किसानको परिश्रम शीर्षक भएको कविता पृष्ठ १११ मा आयो । यसको पाँचौँ पद्य ‘पूरा गर्न सक्ने...अरू देखियो र’ भन्ने छ । यस पद्यले किसानलाई श्रमको धनी भनियो अन्य प्रकारको धन देखाउनका लागि हो भने किसानको धन सबै जीवन बचाउन हो भन्ने सांगेतिक अर्थ द्योतन भएको छ । कृषिप्रधान भनिएका देशबाट बौद्धिक शक्ति र श्रमशक्ति विदेशतिर सरिसके । कवितामा प्रकृतिले दिएको विश्वको जीवन बचाउन सक्ने प्राकृतिक अवस्थाले उचित सम्मान र मूल्य नपाएको हो कि भन्ने आशय झल्किएको छ ।
पृष्ठ १२१ मा कर्तव्य शीर्षक भएको कविता शार्दूलविक्रीडित छन्दमा आयो । यसको पहिलो पद्य ‘सारा मानिसले सदैव...सद्भाव पैल्याउँदै’ भन्ने छ । यस पद्यले सबै मानिसको आआफ्ना क्षेत्रमा आआफ्नो कर्तव्य हुन्छ । त्यसैबाट उसका स्वभावको र व्यक्तित्वको परिचय प्राप्त हुन्छ भन्ने देखाउँछ । समग्र कवितालाई हेर्ने हो भने कर्तव्य नै सनातन धर्मको पर्याय हो भन्ने देखिन्छ । समग्र स्थावर जंगमले आफ्नो कर्तव्य निर्वाह गर्दा नै धर्ती गतिशील छ भन्ने कविताको आशय हो । वास्तवमा मानिसले कर्तव्य बिराएका ठाउँबाटै दुःख उत्पन्न भएको छ ।
पृष्ठ १३२ मा जन्मभूमि नेपाल शीर्षक भएको कविता द्रुतविलम्बित छन्दमा आयो । यसको दोस्रो पद्य ‘नयनमा बन हे...मृदु दिनहुँ सादर’ भन्ने छ । आफू जन्मेको वा बसोवास गरेका ठाउँको सुधार गर्ने जिम्मा आफ्नै हो भन्ने आशय यस पद्यमा छ । माछो पानीमा भ्यागुतो हिलामा जस्तै जुनसुकै प्राणी आफू जन्मिएकै ठाउँमा बस्छ र उसले आफ्नो गुँड अथवा वास बस्ने ठाउँको सुरक्षा गर्ने प्रयास गर्छ । किनभने उसको जीवन उसकै ठाउँमा मात्रै साध्य छ । त्यसैले कवितामा मानिसले आफ्नो जन्मभूमिप्रति सद्भाव राख्ने सन्देश दिएको छ । कवि ओमप्रसाद कोइराला जन्मभूमि नेपाल नामको साहित्यिक संस्थाको संरक्षक हुनाले उसै संस्थाको सम्मानमा पनि यो कविता लेखिएको हुन सक्छ ।
यसरी कवि ओमप्रसाद गुरुका कविताहरू सबै पढे पनि बीच-बीचबाट आपलटोपल गरी एउटा एउटा कविताको एक एक अंश टिपेर त्यसको भाव पक्षमात्रै आफूले जेजस्तो देखियो त्यस्तै यहाँ उल्लेख गरियो । वास्तवमा यस्तो लेखनले उहाँको प्रतिभा र व्यक्तित्वप्रति उचित न्याय त हुँदैन । सीमित ठाउँमा र छिटै पढिसकिने गरी लेख्नुपर्ने भएकाले यसरी आइसकेका विचारलाई पनि कलमी गरिएको हो ।
वरिष्ठ विद्वान् प्राध्यापक राजेन्द्र सुवेदीले यसै पत्रिकामा कवि कोइरालाको कवित्वका विषयमा ‘कवि कोइरालाको’ आफ्नू डम्फु’ र मेरो डम्फुवादन’ शीर्षकमा दस पृष्ठ लेख्नुभएको छ । उसैगरी कवि प्रयागराज वाशिष्ठले ‘ओमप्रसाद कोइरालाको जीवनी, व्यक्तित्व र कृतित्वको संसिप्त रेखांकन’ शीर्षकमा बाह्र पृष्ठ लेख्नुभएको छ । उसै पत्रिकामा शुभकामना दिँदै कवि भुवनहरि सिग्देलले ‘कवित्व र भाव पक्ष स्रष्टाकै दायित्वमा पर्छ’ शीर्षकमा दुई पृष्ठ लेख्नुभएको छ । त्यसपछि कवि विनोद दाहाल वत्सले ‘ओमप्रसाद कोइराला ः अध्यापनदेखि साहित्यसम्म’ शीर्षकमा उहाँको जीवनी दस पृष्ठमा लेख्नुभएको छ । यसरी कवि कोइरालाको जीवन र कर्मका विषयमा लेख्ने कुरा र जान्नुपर्ने कुराहरू धेरै छन् ।
त्यसपछि पत्रिकामा ‘नेपाली साहित्यले आफ्नै माटो चिन्नुपर्छ’ शीर्षकमा कवि ओमप्रसाद कोइरालाको अन्तर्वार्ता चार पृष्ठ छ । कवि घटराज भट्टराईको ‘सही भावनाका केही शब्द’ शीर्षकको मन्तव्य, कवि प्रयागराज वाशिष्ठको ‘भावनाका शृंखलाहरू ः कवितासंग्रहको संक्षिप्त विवेचना’ शीर्षकको समालोचना, कवि विजय चालिसेको ‘शालीन कविताका काव्यात्मक शालीनता’ शीर्षकको शुभेच्छा, कवि रामप्रसाद पन्तको ‘ओमप्रसाद कोइराला : एउटा अविश्रान्त यात्री’ शीर्षकको दृष्टिकोण लेख आएका छन् र कवि कोइरालाका विषयमा विविध कोणबाट चर्चा गरिएको छ ।
ओखलढुंगाका विषयमा कवि डिल्लीप्रसाद मूलतिहुनबाट रचित ‘भकारी यो यौटा’ शीर्षकको कवितापछि कवि कोइरालाको व्यक्ति परिचयको विवरणिका छ । यसरी पत्रिकाका यस अंकले र उहाँका चिरपरिचित कवि व्यक्तित्वहरूले कवि कोइरालाको परिचय बढाउने कार्यको थालनी गरेका छन् । यस्तो सुन्दर कर्म भित्री मनदेखि नै प्रशंसायोग्य छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच